कोरियाले दिएका उन्नत गाई र साँढे हस्तान्तरण

Read Time = 6 mins

काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थमा मुलुकलाई आत्मनिर्भर बनाउन सघाउ पुर्‍याउने उद्देश्यका साथ नेपाल सरकारको आग्रहमा दक्षिण कोरियाबाट वस्तुगत सहायतास्वरूप उच्च उत्पादन क्षमताका कोरली बाच्छी र साँढे हेफर नेपालले शनिबार सरकारलाई हस्तान्तरण गरेको छ । सहयोगस्वरूप प्राप्त कोरली बाच्छी र साँढेहरू हेफर इन्टरनेशनल कोरिया र हेफर इन्टरनेशनल नेपालको समन्वयमा नेपाल ल्याइएका हुन् । पहिलो लटमा छवटा साँढे र ३६ कोरली बाच्छी र दोस्रो लटमा २१ कोरली बाच्छी गरी हालसम्म छ साँढे र ५७ कोरली बाच्छी नेपाल ल्याइसकिएको छ । आइतबार र मंगलबार थप बाच्छी र साँढे नेपाल ल्याइने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभएको छ । ढुवानीकर्ता कम्पनी मेट ग्रुप प्रालिले ती बाच्छाबाच्छी फ्लाइटमार्फत् काठमाडौंसम्म ल्याएको हो । मेट ग्रुपका प्रबन्ध निर्देशक सरिन केसीले पहिलो लट चार्टर फ्लाइटमार्फत् ल्याइएको हिमालय टाइम्सलाई बताउनुभयो ।

पहिलो लटमा छवटा साँढे र ३६ कोरली बाच्छी र दोस्रो लटमा २१ कोरली बाच्छी गरी हालसम्म छवटा साँढे र ५७ कोरली बाच्छी नेपाल ल्याइसकिएको छ ।

मन्त्रालयका प्रवक्ता सञ्जेलका अनुसार वस्तुगत सहायतामा प्राप्तमध्ये ८१ कोरली बाच्छी कमलामाई नगरपालिका, सिन्धुलीलाई हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिकाले हेफर इन्टरनेशनल नेपालसमेतको सहकार्यमा मोडल डेरी भिलेज विकासको अवधारणामा कार्यक्रम सञ्चालन गर्नेछ भने सात बाच्छी राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवन, चारवटा गाई आनुवांशिक स्रोत केन्द्र, जिरी र नौवटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा राखिनेछ । साँढे भने कृत्रिम गर्भाधानका लागि सिमेन उत्पादन गर्न राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र लहानमा राखिनेछ । यसरी विभिन्न स्थानमा पालिने कोरली बाच्छी दूध उत्पादन एवं उच्च क्षमताका बाच्छाबाच्छी उत्पादन प्रयोजनका लागि बुल मदर्सका रूपमा रहने बताइएको छ ।

पहिलो लटमा प्राप्त बाच्छी र साँढे एक समारोहबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. गोविन्दप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । यसरी उच्च उत्पादन क्षमताका साँढे र कोरली बाच्छी यति ठूलो परिमाणमा नेपालमा पहिलोपटक ल्याइएको हो । उच्च उत्पादन क्षमताका पशुको सही सदुपयोगका लागि सम्बन्धित स्थानीय तह एवं प्रदेश र संघीय सरकारका सम्बन्धित निकायको समन्वय र सहकार्य आवश्यक पर्ने प्रवक्ता सञ्जेलको भनाइ छ ।

नेपालको समग्र दुग्ध क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने अभियानमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग गर्नेे दक्षिण कोरियाली जनता, दक्षिण कोरिया सरकार, हेफर इन्टरनेशनल कोरिया, हेफर इन्टरनेशनल नेपाललगायत सबैलाई मन्त्रालयले धन्यवादसमेत दिएको छ ।

प्रत्येक बाच्छी र साँढेमा चिप्स जडान गरिएका छन्, जसमार्फत् दक्षिण कोरियाबाटै गाईको स्वास्थ्यलगायतका कुरामा निगरानी हुनेछ भने रेखदेखको जिम्मा पशुसेवा विभाग र कोरिया सरकारको हुने बताइएको छ । प्राप्त गाई र साँढेबाट मिल्की वे परियोजना सञ्चालन हुने र उक्त कार्य हेफर इन्टरनेशनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरूपमा गर्ने हेफर इन्टरनेशनलका सञ्चार संयोजक प्रवीण गुरुङले जानकारी दिनुभएको छ । हेफरले उन्नत जातको पाँच हजार डोज सिमेन (वीर्य) पनि उपलब्ध गराएको छ । सरकारले गत फागुनमा अमेरिकाबाट पनि उन्नत जातका सातवटा साँढे ल्याएको थियो ।
सरकारले विगत लामो समयदेखि छिमेकी मुलुक भारतबाटै उन्नत जातका गाई, भंैसी ल्याउन पहल गर्दै आएको भए पनि सफल हुन सकेको छैन । नेपालमा उन्नत जातका दुधालु गाई भैसी नहुँदा मागअनुसार दूध उत्पादन बढ्न सकेको छैन भने दूधको उत्पादन लागत भने बढेर गएको छ । जसका कारण अभावका बेला कच्चा दूधसमेत भारतबाट आयात हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?