राज्य लगानी गर्न हौस्याउँछ, लगानीपछि निरुत्साहित गर्छ : ध्रुवराज थापा अध्यक्ष नेपाल सिमेन्ट उत्पादक संघ

हिमालय टाइम्स
Read Time = 8 mins

अहिले सिमेन्ट उद्योगको अवस्था कस्तो छ ?
नेपाली सिमेन्ट उद्योग अहिले एकदमै संकटमा छन्, सिमेन्टको खपत छैन, मूल्य घटेको छ, उत्पादन पनि घटेको छ । त्यसैले अधिकांश सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

यस्तो अवस्था आउनुको कारण के होला ?
सरकार तथा तथा नेपाल राष्ट्र बैंकका गलत नीतिका कारण नेपालको उत्पादनमूलक क्षेत्र संकटपूर्ण अवस्थामा पुगेको हो । अहिले समग्र निर्माण क्षेत्र प्रभावित भएको छ । बैंकहरूले ऋण नदिँदा निजीस्तरमा हुने निर्माण कार्य ठप्प छन् भने सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा विकास निर्माण कार्य पनि अघि बढ्न सकेका छैनन्, जसका कारण सिमेन्टमात्र नभई समग्र निर्माण उद्योग क्षेत्रका साथै निर्माणसँग सम्बन्धित अन्य क्षेत्रमा असर परेको छ । उद्योगी, श्रमिकदेखि ढुवानी व्यवसायी, बिक्रेता सबै क्षेत्र प्रभावित भएको छ । तरलता समस्या देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले ऋण नदिने, ब्याजदर बढाउने, ऋण असुलीमा मात्रै ताकेता गर्ने गरेका छन् । तर, उद्योगीहरू ऋण तिर्न सक्ने अवस्थामा छैनन् । निर्माण क्षेत्र चलायमान हुनसकेमा समग्र देशको अर्थतन्त्र चलायमान हुनसक्छ ।

निर्माण क्षेत्र चलायमान हुन त रियलस्टेट कर्जा पनि सहज हुनुपर्‍यो, सम्भव छ र ?
सहज बनाउनुपर्‍यो नि ∕ यसरी सबै क्षेत्रको कर्जामा एकैपटक कडाइ गरेर उद्योग व्यवसाय, अर्थतन्त्र कसरी चल्छ सक्छ ?

निर्माण उद्योगको अवस्था कोरोनाकालभन्दा पनि बिग्रिएको हो ?
कोरोनाकालभन्दा बढी भयो । त्यतिबेला त यस्तो धेरै समस्या आएको थिएन, अहिले सिमेन्ट उद्योग २५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको अवस्था छ । क्लिङ्कर उद्योगको अवस्था पनि त्यस्तै छ । २५ प्रतिशत क्षमतामा सञ्चालन भएर उद्योगहरू कसरी सस्टेन हुन सक्छन्, उत्पादन लागत बढेर गएको छ तर मूल्य छैन, बजार छैन ।

पछिल्लो समय सिमेन्ट निर्यात पनि सुरु भएको छ, निर्यात बढाउन सकिने अवस्था छैन ?
हाम्रै पहलमा पहिलोपटक नेपालबाट सिमेन्ट निर्यात सुरु भएको छ । त्यो पनि लामो प्रयासपछि, खासगरी भारतका सीमावर्ती बजारमा निर्यात सुरु भएको हो । त्यहाँ पनि आफ्नै किसिमका समस्याहरू छन्, कत्तिको टिकाउ हुन्छ, विभिन्न किसिमका अवरोधहरू झेल्दै काम गर्नुपर्ने हुन्छ ।

नेपाली सिमेन्टले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेकोे छ ?
हाम्रो लागत मूल्य बढी छ तर पनि सरकारले आठ प्रतिशत निर्यात अनुदान व्यवस्था गरेकाले घाटा खाएरै भए पनि निर्यात गरिरहेको अवस्था हो ।

भारतबाहेकका अन्य छिमेकी मुलुकमा निर्यातको सम्भावना छैन ?
अहिलेलाई त्यस्तो सम्भावना देखिएको छैन । भारतपछि सम्भावित बजार भनेको बंगलादेश हो तर त्यहाँ पनि निर्यात गर्न त्यति सहज छैन । बंगलादेशमा निर्यात गर्न पनि भारतको सहयोग चाहिन्छ, उसले दिएन भने ? हाम्रो प्रयासले मात्रै केही हुने अवस्था छैन । उत्तरतर्फ चीनको सीमावर्ती बजारमा निर्यातको सम्भावना भए पनि सडकलगायतका पूर्वाधार समस्याका कारण तत्काल सम्भावना छैन ।

सिमेन्टको आयु कति हुन्छ, कतिसम्म भण्डारण गरेर राख्न सकिन्छ ?
उचित व्यवस्थापन गर्न सके छ महिनासम्म भण्डारण गर्न सकिन्छ तर धेरै भण्डारण गरेर लामो समयसम्म राख्न उद्योगमा ठाउँ पनि हुँदैन । त्यो त्यति सम्भव पनि छैन ।

भनेपछि अहिलेको अवस्थामा सिमेन्ट खपत बढाउन सकिने विकल्प के हुनसक्छ ?
निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्‍यो । सरकारले विकास निर्माणका लागि विनियोजन गरेको पुँजीगत खर्चको गति बढाउनुप¥यो । हामीले सडकको पिचमा पनि सिमेन्ट नै प्रयोग गर्न सरकारलाई सुझाव दिएका छौँ । स्वदेशमै उत्पादित सिमेन्ट हुँदाहुँदै आयातित अलकत्रा किन प्रयोग गर्ने ? फेरि अलकत्रा प्रयोग गरिएको पिच दिगो पनि हुँदैन, गुणस्तरीय पनि हुँदैन । तर, सिमेन्टको पिच २०औँ वर्षसम्म पनि केही हुँदैन । जसले सडकको मर्मत खर्च घटाउँछ । सुरुमा थोरै लागत बढी पर्ने भए पनि दीर्घकालीनरूपमा सस्तो पर्न आउँछ ।

यति धेरै सिमेन्ट उद्योग नेपाली बजारकै लागि हो कि निर्यातका लागि ?
हुन त नेपाली बजारकै लागि भनेर सिमेन्ट उद्योगमा लगानी विस्तार भएको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि पनि नेपालमा सिमेन्टको माग बढेर जान्छ भनेर सिमेन्ट उद्योगमा आन्तरिक र बाहृयै दुवै लगानी बढेर गयो । सरकारले पनि सिमेन्टमा लगानीलाई प्रोत्साहित ग¥यो, भूकम्पपछिको पुनर्निर्माणमा सिमेन्टको माग नभएको पनि होइन, उत्पादन पनि थियो, खपत पनि थियो तर कोरोना महामारीदेखि खस्किएर गएको हो, कोरोनापछि सरकार र राष्ट्र बैंकको नीतिले झन् खस्किँदै गयो । सरकारले सुरुमा उद्योगमा लगानीका लागि हौस्याउने र लगानीपछि निरुत्साहित गर्ने काम गर्‍यो ।

नयाँ बन्ने सरकारप्रति कत्तिको आशावादी हुनुहुन्छ ?
नयाँ सरकारले हाम्रा समस्या समाधान गर्नेमा हामी आशावादी छौँ, त्यही भएर पर्खिएर बसेका छौँ । किनभने आशावादी हुँदै अगाडि बढ्नुको हामीसँग विकल्प पनि छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?