नजिकै विद्यालय छ तर पुल छैन, दैनिक ६ घण्टा हिँड्छन् विद्यार्थी

तस्बिर सौजन्य : सिगास गाउँपालिका-६ का स्थानीय पदम साउद

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । डोटीको आदर्श गाउँपालिका-६ बबिनाका साउने खडायत र अस्मिता बोहरा सिगास गाउँपालिका-६ को गणेश माविमा कक्षा १० पढ्नुहुन्छ । १० देखि १५ मिनेट लाग्ने लाग्ने बाटोमा बाढीले सेती नदीमाथिको पुल बगाएपछि विद्यालय पुग्न मात्रै तीन घण्टा लाग्ने गर्छ । त्यो पनि जोखिमपूर्ण यात्रा गरेर । ‘घरबाट विद्यालय पुग्न १० देखि १५ मिनेट लाग्थ्यो, पुल बगाएपछि तीन घण्टाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ’ छात्रा बोहराले भन्नुभयो । ‘गत वर्ष बाढीले झोलङ्गे पुल बगायो, घरनजिकैको विद्यालय सेती नदी तरेर जानुपर्छ तर्न सकिँदैन’ अर्का विद्यार्थी खडायतले भन्नुभयो, ‘आउन जानै दैनिक ६ घण्टा हिँड्नुपर्छ ।’
गत वर्षको कात्तिक पहिलो साताको अविरल वर्षा सँगैको बाढीले बैतडीको सिगास गाउँपालिका-६ थलाकाडा शिवलिंग र डोटीको आदर्श ६ बबिना जोड्ने झोलङ्गे पुल बगाएको थियो । गणेश माविमा बबिना टोलबाट ५० जना बढी विद्यार्थी जाने गरेको भए पनि १० जना विद्यार्थी मात्रै जाने गरेका छन् । सेती माथिको पुल बगाएपछि बबिना टोलका ५० भन्दा बढी विद्यार्थीहरू करिब ६ घण्टा ओहोरदोहोर गरेर गिरिचौका माविमा अध्ययन गर्न जाने गरेका बबिना टोलका स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो ।

घरनजिकै विद्यालय भए पनि पुल नहुँदा बबिनाका ५० भन्दा बढी विद्यार्थी दैनिक तीन/तीन घण्टा हिँडेर डोटीकै गिरीचौका माविमा जाने गरेका अर्का स्थानीय मानबहादुर बोहराले बताउनुभयो । ‘नजिकै विद्यालय छ तर पुल छैन, विद्यालय आउन जानै ६ घण्टा लाग्छ’ बोहराले भन्नुभयो ।

कक्षा ८ सम्म अध्ययनका लागि बबिना आधारभूत विद्यालयमा जाने गरेको भए पनि कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूलाई निकै असहज हुने गरेको छ । अहिले सिगास-६ र आदर्श-६ का स्थानीयहरूले काठको साँघु निर्माण गरेका छन् । गत असार २ गते साँघुबाटै लडेर डोटीको आदर्श गाउँपालिका-६ की डुल्लु अधिकारीको मृत्यु भएको थियो । डोटीको आदर्श र बैतडीको सिगास जोड्ने पुल निर्माणका सम्बन्धित निकायसँग अनुरोध गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिनुभयो । गत साउन ४ गते सस्पेन्सन वृज डिभिजन श्रीमहल पुलचोक ललितपुरलाई पुल निर्माणका लागि सिफारिससहित अनुरोध गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

स्थानीय तहको बजेटले निर्माण गर्न नसकिने भएकाले प्रदेश र केन्द्र सरकारसँग पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले जानकारी दिनुभयो । कत्तिक पहिलो साताको वर्षाले पु¥याएको क्षतिबारे अनुगमन गर्नको लागि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि प्रधानमन्त्री शेरबहादुर देउवासमेत यहाँ पुग्नुभएको थियो । छिट्टै पुल निर्माण गरिने आश्वासन दिएको भए पनि क्षति पुगेको दुई वर्ष पुग्नै लाग्दा पनि कुनै काम हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?