सामाजिक विभेदको जड कारण

Read Time = 14 mins

✍️ प्रा.डा. भूपप्रसाद धमला

सबै प्रकारका सामाजिक विभेद हटाएर समतामूलक समाज निर्माण गर्ने कुरा बारम्बार गरिन्छ । राजनीतिक पार्टीका घोषणापत्र, राज्यका नीति, सरकारी कार्ययोजना सबैमा यो कुरा उल्लेख भएकै हुन्छ तर यसको न्यूनीकरण पनि भएको हुँदैन । आजमात्र होइन प्राचीन कालदेखि नै सामाजिक विभेदको अवस्था उस्तै छ । पूर्वीय दर्शनको रामराज्य होस् वा ग्रिसेली दार्शनिक प्लेटोको आदर्श गणराज्य होस् वा बुद्ध, क्राइष्ट, र मोहम्मदको स्वर्ग होस् वा माक्र्सको साम्यवाद होस् समतामूलक समाजका ती सबै कल्पना स्वप्निल आदर्शमा सीमित रहेका छन् । युगौंदेखि हामीले खेप्दै आएको सामाजिक विभेदको जड कारण के होला ? यस्तो सामजिक विभेदको प्रणाली आखिर केले टिकाइरहेको होला ? यी प्रश्न जति सरल देखिन्छन् उत्तर त्यत्ति नै जटिल छन् ।
एउटा तर्कसंगत उत्तर के हुन सक्छ भने प्राकृतिक हिसाबले नै समाजमा कोही मानिस शक्तिशाली हुन्छन् जसले शक्तिहीनलाई शक्तिकै माध्यमबाट आफ्नो काबुमा राख्छन् । फेरि अर्को प्रश्न उठिहाल्छ किन समाजमा कोही मानिस शक्तिशाली र अरू कोही शक्तिहीन भएका होलान् ? कसरी शक्तिशालीले शक्तिहीनलाई दबाएर राख्छन् ? शक्तिहीनले किन त्यो विभेद खपिराख्न बाध्य हुन्छन् ?

शक्तिका सिद्धान्त :
शक्तिका अनेकौँ सिद्धान्तमध्ये दुई प्रमुख छन् । पहिलो सिद्धान्त धर्मशास्त्रमा अडिएको छ भने दोस्रो विज्ञानमा आधारित । सबै धर्मका धर्मगुरुहरू भन्छन्- भगवान सर्बशक्तिवान् हुन्छन् किनभने ब्रमाण्डकै सृष्टि, पालन, र संहारकर्ता उनै हुन् । पूर्वीय दर्शन होस् वा पाश्चात्य, हिन्दू धर्म होस् वा बौद्ध, इसाई धर्म होस् वा इस्लाम सबै धार्मिक समुदायका धर्मग्रन्थमा ईश्वरलाई सर्वशक्तिवान् ठानिएको छ । प्रकृतिमा जस्तै समाजमा विद्यमान विविधता पनि भगवानको इच्छानुसार भएका हुन्, त्यसैले ती स्वाभाविक छन् ।
तर, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा अर्कै चित्र देखिन्छ । यसबारे जीववैज्ञानिक चाल्र्स डार्बिन (१८५९) भन्छन्– प्रकृतिमा जीवहरू विकास हुने क्रममा बलिया बाँच्ने र निर्धा लोप हुने गर्छन् । यो सिद्धान्तलाई प्राकृतिक छनोटको सिद्धान्त भनियो । आज जति पनि जीवहरू प्रकृतिमा छन् ती बाँच्ने सामथ्र्य भएरमात्र बाँचेका हुन् । सामथ्र्य नराख्नेहरू लोप भइसके ।

शक्तिका अनेकौँ सिद्धान्तमध्ये दुई प्रमुख छन् । पहिलो सिद्धान्त धर्मशास्त्रमा अडिएको छ भने दोस्रो विज्ञानमा आधारित । सबै धर्मका धर्मगुरुहरू भन्छन्-भगवान सर्वशक्तिवान् हुन्छन् किनभने ब्रमाण्डकै सृष्टि, पालन, र संहारकर्ता उनै हुन् ।

डार्बिनकै समकालिक समाज वैज्ञानिक हर्बर्ट स्पेन्सरले प्रकृतिमा लागु हुने छनोटको सिद्धान्त समाजमा पनि लागू हुन्छ भनेर व्याख्या गरे । उनका अनुसार प्रकृतिमा जस्तै समाजमा पनि शक्तिशालीले शक्तिहीनलाई कमजोर बनाएर बाँच्नै नसक्ने पार्छन् वा बाँचे पनि अत्यन्त निरीह अवस्थामा राख्छन् । शक्तिले नै हरेक पहलुमा हरबखत शासन गरिरहेको हुन्छ । शक्ति नै सामाजिक विभेदको जड कारण हो । यसले नै युगौँदेखि विद्यमान रहेको सामाजिक विभेदलाई टिकाइराखेको छ ।

विभेदका रूप :

शक्तिलाई अस्त्रको रूपमा प्रयोग गरेर एउटा समुदायले अर्को समुदायलाई प्रभुत्वमा राख्नाले सामाजिक विभेद उत्पन्न हुन्छ । यस्तो सामाजिक विभेदका अनेकौं रूपमध्ये जातीय, वर्गीय, र लैंगिक विभेद प्रमुख छन् । संसारका कुनै पनि कुनामा जातका आधारमा सामाजिक विभेद गरिन्छ । युरोप र अमेरिकामा तीब्र रंगभेद विद्यमान छ । विशेषगरी अफ्रिकी मूलका काला जातिका मानिसलाई त्यहाँ झण्डै झण्डै जनावरसरह व्यवहार गरिन्छ । साउथ एशियामा चाहिँ रंगका आधारमा भन्दा पनि वर्णका आधारमा माथिल्लो जातका मानिसले तल्लो जातका मानिसलाई बहिष्करण गर्छन् । भारत, नेपाल, र भुटानमा क्षेत्री–बाहुनले दलित जातका मानिसलाई घृणा गर्छन् ।

कतिपयले त आफ्ना घरभित्र प्रवेश नगराउनेमात्र होइन सार्वजनिक मठ मन्दिरमा पनि प्रवेश गर्न दिँदैनन् । कतै-कतै धर्मका आधारमा पनि सामाजिक विभेद छ । बहुसंख्यक धार्मिक समुदायको प्रभुत्व भएका ठाउँमा अल्पसंख्यक धार्मिक समुदायका मानिसहरू प्रताडित हुन्छन् । अर्को विभेद धनसम्पत्तिमाथिको स्वामित्वका आधारमा सिर्जना भएको छ । गाउँका धनीमानी काम नगरी खान्छन्, गरिब खानै नपाई पसिना बगाएर मरी मरी काम गर्छन् । शहरिया धनीमानी महलमा बस्छन्, विलासी कार चढ्छन् । सुकुम्बासीको बास छैन, खाली खुट्टा हिँड्छन् तर धनसम्पत्तिकै आडमा उच्च वर्गका मानिसले आफैंलाई मद्धत गर्ने निम्न वर्गका मानिसलाई यसरी सामाजिक विभेद गर्छन् ।

सबैभन्दा पेचिलो सामाजिक विभेद पुरुष र महिलाबीचको विभेद हो । यो विभेद समुदायमा मात्र होइन घरभित्र पनि छ । जति सुकै लैंगिक समानताको कुरा गरे पनि महिला हिंसा जारी छ । सामन्ती संस्कारले ग्रस्त समुदायमा नारीको जीवन नरकतुल्य छ । पितृसत्तामक समाज व्यवस्थाले नारीलाई जहिल्यै दोस्रो दर्जामा राखेको छ । शक्तिशाली समुदायका मानिसमा चरम अहम्भाव छ भने शक्तिहीन समुदायका मानिसहरूमा तीव्र हीनताबोध छ । तर सामाजिक रूपले बहिष्करणमा परेका समुदायका मानिसहरू आफ्नो अवस्थालाई भगवानको खटन हो भन्छन् । त्यसो हुनुमा आफ्नै भाग्यलाई दोष दिन्छन् । के सामाजिक विभेदहरू भगवानको खटन वा भाग्यभरोसाको सिद्धान्तमा मात्र आधारित हुन् त ?

पुरातनपन्थी हिसाबले झट्ट हेर्दा यो सिद्धान्त सत्य हो जस्तो देखिन्छ तर आधुनिक वैज्ञानिक सिद्धान्तका आँखाले हेर्दा यसो सत्य होइन । प्राकृतिक विविधता आफैंमा सुन्दर छ । जैविक विविधताले पृथ्वीमा पर्यावरणीय सन्तुलन पनि कायम गरेको छ । प्रकृतिजन्य सामाजिक विविधता पनि स्वीकार्य छ तर शक्तिका आडमा गरिने सामाजिक विभेद निन्दनीय छ । यो विभेद सर्वत्र त्याज्य छ ।

शक्तिशाली समुदाय नै जहिले पनि शासक वर्ग रहिआएको छ । शासक वर्गले नै सामाजिक असमानता टिकाइराख्न अनेकौं हत्कण्डा प्रयोग गर्छ । त्यसका निम्ति राजनीतिक, आर्थिक, र सांस्कृतिक हतियारको प्रयोग गर्छ । शासितको सहमतिमै आफ्नो पक्षमा राज्यको नियम कानुन बनाउँछ ।

शक्तिशाली समुदाय नै जहिले पनि शासक वर्ग रहिआएको छ । शासक वर्गले नै सामाजिक असमानता टिकाइराख्न अनेकौं हत्कण्डा प्रयोग गर्छ । त्यसका निम्ति राजनीतिक, आर्थिक, र सांस्कृतिक हतियारको प्रयोग गर्छ । शासितको सहमतिमै आफ्नो पक्षमा राज्यको नियम कानुन बनाउँछ । शासितले थाहै नपाई शासकले आर्थिक शोषण गर्छ । असमानता नै ठीक हो भनेर शासितले पत्याउने गरी शिक्षा दिन्छ । यसरी उच्च जात, उच्च वर्ग, र पुरुष समुदायका परपीडकले सामाजिक विभेदकारी व्यवस्था जारी राख्न प्रत्यक्ष र परोक्ष रूपमा राजनीतिक, आर्थिक, सांस्कृतिक अस्त्र प्रयोग गरिरहेका हुन्छन् जुन निच जात, निम्न वर्ग र नारी समुदायका पीडित पक्षलाई थाहै नहुन सक्छ ।

रूपान्तरणका संकेत :
तर समय सधैं उस्तै रहँदैन । उन्नाइसौं शताब्दीदेखि नै डार्विनको विकासवादी सिद्धान्त (evolutionary theory) र स्पेन्सरको सामाजिक डार्विनवाद (Social Darwinism) को विकल्पमा हस्तक्षेपकारी सिद्धान्त (interventionist theory) को बीजारोपण भएको हो । जर्मन दार्शनिक कार्ल माक्र्सलगायत केही चिन्तकले यो सिद्धान्तका माध्यमबाट विभेदकारी प्रणालीलाई अन्त्य गर्दै समतामुलक समाजमा रूपान्तरण गर्न सकिन्छ भन्ने दाबी गरे । यसलाई पछिका केही समाजवैज्ञानिकले पर्यावरणीय सन्तुलनको सिद्धान्त (ecological theory) मा विकास गरे ।

यो सिद्धान्तका आधारमा वर्तमान विश्वमा केही सुधारका संकेतहरू पनि देखिन थालेका छन् । सामन्ती निरंकुशताले जकडिएको नेपाली समाजमा पनि सामाजिक विभेदविरोधी चेतनाको लहर फैलिँदैछ । यो खुशीकै कुरा हो । तथापि यी सुधारहरू पर्याप्त छैनन् । यदाकदा केही नेताले सामाजिक समानताको कुरा गर्छन् तर तिनै व्यक्ति सरकारमा पुगेपछि अन्यायमा परेका पक्षको कुरा नसुनेर मुन्टो बटार्छन् । सामाजिक न्याय उनीहरूको चुनावी मसलामा सीमित हुन्छ । उनीहरू मुखले एउटा कुरा गर्छन् कामले अर्कै थोक गर्छन् । खासमा समाज रूपान्तरणका लागि ठोस काम भएकै छैन ।

फाटफुट सुधार सामान्य हुन् जुन समयको प्रवाहमा आफैं हुन्छन् । तर स्वतःस्फूर्त रूपमा हुने मामुली सुधारले आज पुग्दैन । द्रुतः गतिमा हुने प्रगतिशील सुधार आजको टड्कारो अवश्यकता हो । यसका लागि ठोस सरकारी नीति र कार्ययोजना चाहिन्छ । अमुक पार्टीले बनाउने सरकारको अस्थायी नीतिले मात्र पनि हुँदैन । स्थायी समाधानका निम्ति राज्यकै दिगो नीति चाहिन्छ । जतिसुकै द्रुतः गतिले समाज सुधार भए पनि अपेक्षित सुधार भइसक्न लामो समय लाग्न सक्छ । पीडित पक्षको न्यायका लागि मात्र सामाजिक विभेद हट्नु पर्छ भनेको होइन । सामाजिक न्याय भएरमात्र पनि पुग्दैन समग्र समाज नै गतिशील हुनुपर्छ । समाजले समयानुकुल रूपान्तरण हुँदै निरन्तर उन्नत स्तरमा विकसित हुनुपर्छ । समतामूलक समाजको निर्माण गरेरमात्र संसार सुन्दर हुन सक्छ । (हिमालय टाइम्सको नियमित लेखक डा.धमला अंग्रेजी विषयको प्राध्यापक हुनुहुन्छ)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?