राज्यको निरीहताका कारण संगीत क्षेत्रमा व्याप्त निराशा

Read Time = 13 mins

✍️ सन्तोष श्रेष्ठ

नेपाली संगीतको अनौपचारिक आरम्भ कहिलेदेखि भयो भन्ने विषयमा विभिन्न भनाइ वा तर्कहरू भए तापनि औपचारिक शुभारम्भ भएको समयले सयवर्ष वा एक शताब्दी पार गरिसकेको छ । आदि गीतकार मोती रामको शब्द रचना र आदि गायक एवं संगीतकार सेतुरामको संगीत र स्वरमा वि.सं. १९६५ मा ‘यता हेर्‍यो यतै मेरा नजरमा राम प्यारा छन्’ बोलको गजल रेकर्डिङ भएको समयलाई नेपाली संगीतको औपचारिक समय शुभारम्भ भएको मानिन्छ । यसरी हेर्दा नेपाली संगीतको औपचारिक सुरुवात गजल गायनबाट भएको पाइन्छ ।

शब्द, संगीत र स्वर यी तीनवटै विधा एक अर्काका परिपूरक मानिन्छन् । यद्यपि संगीतको अभावमा गीतले पूर्णता प्राप्त गर्न सक्दैन । शब्द र संगीतमा मजबुत गायन जोडिएन भने फितलो महसुस हुन्छ । जब गीतलाई संगीतबद्ध गरेर स्वराकंन गरिन्छ वा त्रिपक्षीय तालमेल मिलाउन सकिन्छ त्यसपछि मात्रै श्रोतामाझ बलियो र मिठासयुक्त गीत पुग्दछ ।

गीत रेकर्डिङको एउटा जटिल समय नेपाली संगीतले बेहोर्नु पर्‍यो । प्राविधिक हिसाबले आफ्नै देशमा रेकर्डिङको व्यवस्था नभएको अवस्थामा भारतको कलकत्ता र मुम्बईमा पुगेर मात्रै गीत रेकर्डिङ गर्न सकिने परिस्थितिमा केही समय व्यतीत भएको पाइन्छ । रेडियो नेपालको स्थापनापश्चात् संगीतको विकास र विस्तार हुँदै आएको छ । रेडियो नेपालको पहिलो काम आम नागरिकलाई समाचार सम्प्रेषण गर्नु हो । सामाचार सम्प्रेषण सँगसँगै गीत संगीतलाई उच्च प्राथमिकता दिएको कारण नेपाली संगीतले आफ्नो सुनौलो यात्रा अगाडि बढाउने वातावरण तयार भयो ।

आजको समय संगीत सुन्ने मात्रै नभएर हेर्ने समयमा रूपान्तरण भइसकेको अवस्थामा आफ्नो प्राविधिक स्तर वृद्धि गरेर नेपाली संगीतलाई दृश्यांकनको माध्यमबाट अगाडि बढाउ अति आवश्यक छ । राज्यकै तर्फबाट सुरुवात गरिएको रत्न रेकर्डिङ संस्था पनि बन्द भएर इतिहासको पानामा सीमित रहेको छ ।

जब रेडियो नेपालमा गीत रेकर्डिङको सुरुवात भयो त्यसपछि देश बाहिर गएर रेकर्डिङ गर्नुपर्ने अवस्था रहेन । चलचित्रमा व्यावसायिक उपलब्धिका लागि भारतमै पुगेर केही गीत रेकर्डिङ गर्ने परिपार्टी भने आजसम्म पनि कायमै छ । जानैपर्ने बाध्यात्मक अवस्था भने छैन । रेडियो नेपालमा संगीतको विकास र विस्तारको लागि संगीत महाशाखाको स्थापना गरी केही संगीतकर्मीहरूलाई रोजगारीका साथसाथै थुप्रै संगीतकर्मीहरूले आफ्ना गीत संगीतलाई रेकर्डिङ गराई प्रशारण गर्ने सुनौलो अवसर प्राप्त गरे । सिर्जना र स्रष्टाको सम्मानमा राज्यले पारिश्रमिक पनि उपलब्ध गराउँदै आयो ।

गुणस्तरीय संगीतको अवधारणाअनुरूप अग्रिम शब्द छनोट पद्धतिले निरन्तरता पायो । कुसल संगीतकारद्वारा गीत संगीतबद्ध गरिने र स्वर परीक्षा पास भएका गायक, गायिकाले मात्रै स्वरांकन गर्ने परिपाटीको सुरुवात गरियो । अग्रिम छनोट प्रक्रियालाई ध्यान दिएको कारण गुणस्तरीय संगीत मूलरूपमा अगाडि बढ्ने अवसर प्राप्त भयो । तीनवटै विधामा छनोट पद्धतिका बारेमा कतिपय विरोधाभाष आवाज पनि सुनिन्छन् ।

उक्त समयमा नेपाली संगीतले गुणस्तरीय सिर्जना प्राप्त गरेको हो भन्ने कुरा सायद विवाद छैन । रेडियो नेपालले गीत रेकर्डिङ सँगसँगै स्रष्टाको स्तर अनुसारको मूल्यांकन गर्दै लग्यो । राष्ट्रव्यापी संगीत प्रतियोगितामार्फत थुप्रै संगीतकर्मीहरू जोडिए र स्थापित भए । अत्यन्तै दुःखद कुरा त्यत्रो उचाइ र गहिराइसँगै फैलिएको रेडियो नेपालको संगीत महाशाखा आज संगीतकर्मीहरूको आत्मीय बन्न सकेको छैन । पछिल्लो समयमा रेडियो नेपालको संगीत महाशाखा फाली खिएर सियोको आकारमा पुगेको अवस्थामा छ । आफैँले उत्पादन गरेका संगीत सिर्जना के कति र कहाँ छन् भन्ने एकिन गर्न नसकेको अवस्थामा पुगेको छ । संगीतकर्मीहरूको लागि यो दुःखद पक्ष हो ।

नेपाल टेलिभिजनको स्थापना सँगसँगै जसरी गीत संगीतले स्थान पाउनुपर्ने हो त्यो पनि पाएको देखिँदैन । न्यून गीतको सामान्य छायांकन गरिनु मात्रै टेलिभिजनको दायित्व पूरा भएको मान्न सकिँदैन । आजको समय संगीत सुन्ने मात्रै नभएर हेर्ने समयमा रूपान्तरण भइसकेको अवस्थामा आफ्नो प्राविधिक स्तर वृद्धि गरेर नेपाली संगीतलाई दृश्यांकनको माध्यमबाट अगाडि बढाउन अति आवश्यक छ ।

राज्यकै तर्फबाट सुरुवात गरिएको रत्न रेकर्डिङ संस्था पनि बन्द भएर इतिहासको पानामा सीमित रहेको छ । यसरी हेर्दा नेपाली गीतसंगीत रेकर्डिङको पद्धतिमा राज्य आँखाबन्द गरेर बसेको अवस्थामा देखिन्छ । संगीतकर्मीहरूले आफ्नै बलबुतामा गीत रेकर्डिङ गर्दा आएका छन् । यहाँनेर एउटा विरोधाभास देखिन्छ संगीतकर्मीले राज्यकोषबाट आशा नगरेको हो कि राज्य निरीह भएकोले संगीतकर्मी निराश भएका हुन् ? चुनावका समयमा अहोरात्र खटिएर गीतका नाममा पार्टीका नारा र व्यक्ति गानलाई भव्य गौरवको संगीत सिर्जना मान्नु एकपक्षीय विचारमा समग्रतालाई छिराउनु कति उचित होला ? राष्ट्रका संगीतकर्मीले गम्भीरतापूर्वक सोच्नुपर्ने प्रश्न हो ।

संस्कृति मन्त्रालयअन्तर्गत संगीतको प्रवद्र्धन र सम्बद्र्धनको उद्देश्यअनुरूप सांस्कृतिक संस्थान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि स्थापना गरिएको छ । पछिल्लो समयमा त विभिन्न पालिका स्तरीय प्रतिष्ठान पनि धमाधम स्थापना भइरहेका छन् । साँच्चिकै यी संस्थाले संगीतकर्मीलाई आत्मीय र सामीप्य महसुस गराउन सकेका छन् ? यी संस्था केवल राजनीतिक नियुक्तिका भागबण्डा मिलाउन तयार गरिएका हुन् वा केही परिणाम पनि देखिनुपर्ने हो ?

आज देशमा राजनीतिक बाटोबाट आमूल परिवर्तन भएको रटान लगाएको छ । गाउँगाउँमा रहेका प्रतिभालाई औपचारिक रूपमा अध्ययन अध्यापन गराउने वातावरण कहिले बनाउने ? उनीहरूले आफ्नो प्रतिभालाई राज्यको तर्फबाट सहज तरिकाले कहिले प्रस्तुत गर्न पाउने ? सधैँ आश्वासनको टेकसोमा कहिलेसम्म अड्याउने ? अन्य विषयझैँ विद्यालय स्तरमै संगीतको अध्ययन गर्न पाउने वातावरणसम्म निर्माण हुन नसक्नु भनेको प्रतिभावान थुप्रै प्रतिभा निराश हुनु र त्यसै हराउनु हो ।

नेपाली संगीतले आफ्नो औपचारिक यात्राको एक शताब्दीको यात्रा पार गरिसक्दा पनि अझैसम्म प्रष्ट बाटो नदेखिनु सुखद पक्ष होइन । अझै अन्धाधुन्ध अवस्थामा रुमलिनु र उज्यालो यात्राको तय नहुनुलाई सामान्य रूपमा लिन सकिँदैन । संगीत आखिर जीवनको साधना हो । साधनाबाटै सफलता प्राप्त हुन्छ ।

अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने परिपार्टीको विकास हुन आवश्यक छ । राज्यले प्रदानगर्ने मान सम्मानमा पनि पक्षपात हुनुहुँदैन भन्ने आवाज गुञ्जिए पनि व्यवहारमा लागू भएको पाइँदैन । संगीतकर्मीहरूबाटै असन्तुष्टिका आवाज सुनिइरहेका हुन्छन् । विभिन्न संगीतकर्मीका थुप्रै सिर्जना सार्वजनिक प्रयोग भएबापत प्राप्त गर्नुपर्ने रोयल्टीको बारेमा पनि राज्यको तर्फबाट खासै चासो देखिँदैन । आखिर राज्यले अलिकति चासो दिएर सहयोगी भूमिकामा उभिने हो भने रोयल्टीबापत प्राप्त हुनुपर्ने रकम सहजै उपलब्ध हुन्छ र संगीतकर्मी दयाका पात्र भएर उभिनु पर्दैन ।

नेपाली संगीतले आफ्नो औपचारिक यात्राको एक शताब्दीको यात्रा पार गरिसक्दा पनि अझैसम्म प्रष्ट बाटो नदेखिनु सुखद पक्ष होइन । अझै अन्धाधुन्ध अवस्थामा रुमलिनु र उज्यालो यात्राको तय नहुनुलाई सामान्य रूपमा लिन सकिँदैन । संगीत आखिर जीवनको साधना हो । साधनाबाटै सफलता प्राप्त हुन्छ । आशामा केन्द्रित हुने हो निराशालाई आत्मसात गर्न सकिँदैन । यी र यस्तै विषयमा उभिएर संगीतकर्मीहरूका हकहितमा काम गर्ने उद्देश्यअनुरूप थुप्रै संघ संस्था पनि खोलिएका छन् ।

सामान्य काम भएको जस्तो देखिए पनि साँच्चिकै नेपाली संगीत जुरुक्क उठाउने क्रियाकलाप देखिएको छैन । संगीत मनोरञ्जनात्मक विषय मात्रै होइन यो समाजको सन्देश मार्गनिर्देश गर्ने विषय पनि हो । बेलाबेला भाषिक विवाद हुनु पनि सकारात्मक पक्ष होइन । पारिवारिक रूपमा सँगै बसेर सुन्न र हेर्न नसकिने संगीत सिर्जनाले स्रष्टाको गति ओरालोतर्फ मोडिन्छ । संगीत एक मात्र विश्वव्यापी भाषा हो । विश्व संगीतको गुणस्तरमा हामी कुन ठाउँमा उभिएका छौँ । हामीले जीवन समर्पण गरेर तयार गरेका गीत संगीतबाट राष्ट्रको सांगीतिक उचाइको लागि के कति योगदान पुर्‍याउन सक्यौँ ?

हामीले पाउनुपर्ने अधिकार खोज्ने क्रममा आफ्नो कर्तव्यबोध कति गर्यौं ? आदि इत्यादि विषयमा एकपटक गम्भीर छलफल हुन आवश्यक छ । छलफलबाट निष्कर्ष निक्लिन्छ र निष्कर्षबाट निकास निस्किन्छ । (श्रेष्ठ विश्वकीर्तिमानी संगीतकार हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?