कांग्रेसले जे बोल्छ त्यो गर्छ ?

Read Time = 16 mins

✍️ चरण प्रसाईं

नेपाली समाजमा राजनीतिलाई सत्ता प्राप्तिमा अपनाइने निर्लज्ज, बेइमानी, कलुषित, टिकडमबाजी एवं नैतिकता हराएको सौदाबाजीको अपवित्र गठजोडको खेल भएको बुझाइ छ । यसलाई राज्यदोहन र भ्रष्टाचारको अखडा मानिएको छ । राज्यशक्ति अख्तियारीको दुरूपयोग गर्ने अधिकारप्राप्त वैधानिक झुण्ड भएको छ । दण्डहीनतालाई प्रोत्साहन र कुशासनको अभ्यासमा लिप्त एक औपचारिक क्षेत्र देखिएको छ । राजनीतिक आडमा ‘जति धेरै अपराध गर्‍यो त्यति ठूलो नेता’ बन्ने पद्धतिको विकास हुँदैछ । अपराधलाई राजनीतीकरण गर्ने नजिर बसेको छ । ‘द्वैध चरित्र’ राजनीतिको पर्याय भएको छ । लोकतन्त्रको सुरक्षित भविष्यमाथि गम्भीर प्रश्न खडा भएको छ ।

यो प्रसंंग हो लोकतन्त्रको पर्याय मानिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गठबन्धन सरकारको मन्त्रिपरिषद्बाट २०७९ मंसिर २५ गते अध्यादेश जारी गर्ने निर्णय । यो अध्यादेश राजनीतिक आडमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने उद्देश्यबाट जारी भएको छ । विशेषगरी एक दूधे बालकसहित प्रहरी अफिसर लक्ष्मण न्यौपानेलगायतका आठ जवानको विभत्स हत्यामा अदालतद्वारा दोषी ठहर भएका रेशम चौधरी र अन्य सबै तहका अदालतमा मुद्दा चलेकालाई राजनीतिक आडमा माफी दिन ल्याइएको हो ।
‘हिंसामा लागेका व्यक्तिलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन जारी गरिएको’ भनेर प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसको औचित्य पुष्टि गर्न खोजेका छन् । जबकि यो अध्यादेश बहुमतको सरकार बनाउन सौदाबाजीमा ल्याइएको देखिए पनि यसका आडमा जुनसुकै गम्भीर अपराधमा पनि छुट दिने उद्देश्य राखेको छ । पीडितको न्यायमाथि खेलबाड हुने भएको छ । यसमा राजनीतिक भ्रष्टाचारको अर्काे पाटो उजागर भएको छ ।

अध्यादेशबाट ‘नेपाली कांग्रेसले जे बोल्छ त्यो गर्छ’ को भनाइ मिथ्या साबित भएको छ । फेरि पनि सत्ता प्राप्तिका लागि देउवा नेतृत्वको कांग्रेसले जस्तोसुकै सम्झौता गर्न पनि तयार भएको सन्देश यस ‘अध्यादेश’ प्रकरणले दिएको छ । कांग्रेसको द्वैध चरित्र यसबाट उदांगिएको छ ।

‘यो निर्णयको भारी नेपाली कांग्रेसले नबोक्ने’ जिकिर कांग्रेसका महामन्त्री गगन थापाले गरेका छन् । तथापि यसो भनेर जवाफदेहिताबाट कांग्रेस उम्कन सक्दैन । लोकतन्त्रप्रति उसको निष्ठामाथि यसबाट थप गम्भीर सवाल उठेको छ । उसको विश्वसनीयताप्रति औंला ठडिएको छ । किनभने निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा संकल्प (घोषणापत्र) जारी भयो । त्यसका प्रमुख संकल्प ‘संविधानको रक्षा, लोकतन्त्रको सुरक्षा एवं सुशासनको प्रत्याभूति’ समेत थिए तर उक्त वाचा दुई महिना नबित्दै संविधानमाथि गहिरो प्रहार यसले गरेको छ । लोकतन्त्रको प्राण मानिएको न्याय तथा मानव अधिकारलाई कुल्चिएको छ । दण्डहीनता र कुशासनको विकृति अझ कसिलो बनाएको छ ।

यही २०७९ साल मंसिर ४ गते निर्वाचनको घोषणा भएसँगै देउवा नेतृत्वको सरकार कामचलाउ भएको हो । निर्वाचन आयोगद्वारा उम्मेदवारहरूको अन्तिम परिणाम घोषणा नहुँदै सरकार बनाउने संख्या पुर्‍याउन कलुषित मनसायबाट अध्यादेश जारी गर्नु कुनै पनि कोणबाट लोकतान्त्रिक पद्धति र सिद्धान्तसँग मेल खाँदैन । यसबाट ‘नेपाली कांग्रेसले जे बोल्छ त्यो गर्छ’ को भनाइ मिथ्या साबित भएको छ । फेरि पनि सत्ता प्राप्तिका लागि देउवा नेतृत्वको कांग्रेसले जस्तोसुकै सम्झौता गर्न पनि तयार भएको सन्देश यस ‘अध्यादेश’ प्रकरणले दिएको छ । लोकतन्त्रभन्दा माथि अनैतिक तथा अपवित्र सत्ता बन्न पुगेको छ । कांग्रेसको द्वैध चरित्र यसबाट उदांगिएको छ ।

यसबाट न्यायालयमाथि प्रत्यक्ष राजनीतिक हस्तक्षेप भएको छ । निहित राजनीतिक स्वार्थमा अदालतको क्षेत्राधिकारमाथिको अतिक्रमण हो यो । अपराधीलाई चोख्याउन ल्याइएको कानुनले न्यायपालिकाको मानमर्दन गरेको छ । अदालतको औचित्यमाथि धावा बोलेको छ । शक्ति पृथकीकरण सिद्धान्तको उपहास गरेको छ । हिंसाको राजनीतिमा विश्वास राख्नेको हौसला बुलन्द पारेको छ । यसबाट राजनीतिमा आपराधिक झुण्डको आकर्षण बढ्नेछ । जंगलीराजको बर्चस्व रहनेछ । दण्डहीनता संस्थागत हुनेछ । न्याय प्रणालीलाई क्षतविच्छेद गर्नेछ ।

किनभने अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा उपदफा (९) थप गरेर यसको पुष्टि गरेको छ । त्यसमा ‘कुनै पनि राजनीतिक दल वा समूहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र कानुनको अधिनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई सरकारसँग सहमति गरेको भए त्यो राजनीतिक दल वा समूह नेता कार्यकर्ताविरुद्ध नेपाल सरकारवादी भई चलाइएका मुद्दा फिर्ता लिन सकिनेछ ।

त्यस्ता मुद्दा फिर्ता लिन जुनसुकै अदालतमा विचाराधीन रहेको भए पनि वाधा पर्ने छैन’ उल्लेख छ । यो रेशम चौधरी र अन्य भनिएका दलहरूप्रति मात्र लक्षित छैन । यसको प्रत्यक्ष प्रभाव संक्रमणकालीन न्यायमाथि पनि पर्नेछ । संक्रमणकालीन न्याय शान्ति प्रक्रियाको एक प्रमुख अंग हो । हिंसात्मक क्रियाकलाप छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा तत्कालीन माओवादी आएका हुन् । यसको सम्बोधन नभई नेपालको शान्ति प्रक्रिया अधुरो रहनेछ । शान्ति सम्झौतामार्फत् यसको थालनी भएको आज १७औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवधिमा यसलाई सम्बोधन गर्न दुई-दुईपटक सत्य तथा बेपत्तासन्बन्धी छानबिन आयोग बने तर तिनले पद र सुविधा लिनेबाहेक केही काम गरेनन् । ऐन संशोधन गर्न अदालतको आदेशलाई लत्याएर राजनीतिक भागबण्डामा गठित यी आयोग यस प्रक्रियालाई लम्ब्याएर अन्ततः पीडितलाई न्याय नदिने प्रमुख राजनीतिक दलका रणनीतिमा सहयोगी बने ।

यसर्थ यस अध्यादेशको भित्री मनसाय सशस्त्र द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई समेत माफी दिने प्रक्रियाको थालनी त होइन ? शंका उत्पन्न भएको छ । यसलाई टेकेर मुलुकका विभिन्न तहका अदालतमा विचाराधीन माओवादीविरुद्धका सरकारवादी मुद्दासमेत सरकारले फिर्ता लिन सक्छ । वर्षौंदेखि न्याय प्राप्तिका लागि लड्दै आएका द्वन्द्वपीडितसमेतका न्यायमाथिको अधिकारबाट संवेदनहीन शासकले वञ्चित गर्न सक्छन् ।

यसर्थ मुलुकभित्र न्यायको ढोका बन्द भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा न्यायको ढोका ढकढक्याउनुपर्ने हुन्छ, जुन राष्ट्रका लागि दुर्भाग्यपूर्ण अवस्था हो । किनभने दशवर्षे सशस्त्र द्वन्द्वका घटनाको दस्तावेज नेपालमा मात्र सीमित छैन । नेपालमा रहेको तत्कालीन राष्ट्रसंघको मानव अधिकार उच्चायुक्त प्रतिनिधिको कार्यालयले द्वन्द्वकालका तीस हजारभन्दा बढी घटनाको दस्तावेज ‘नेपाल कन्फिलिक्ट रिपोर्ट’ मा समेटेको छ । तीमध्ये नौ हजारभन्दा बढी गम्भीर प्रकृतिका अपराध हुन् ।

यस अध्यादेशबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दा काभ्रे जिल्लाका समाजसेवी अर्जुन लामाको हत्याका आरोपित पूर्वसभामुख अग्नि सापकोटा, गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्याका आरोपित छविलाल पौड्याललगायतका मुद्दा सरकारले फिर्ता लिने बाटो खुल्नेछ । स्मरण रहोस्, कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले छोराको न्याय खोज्दाखोज्दै ३३४औँ दिनको आमरण अनसनमा ज्यान गुमाउन पुगे । उनकी आमा गंगामायाले सत्याग्रह जारी राखेकी छन् ।

एम्नेस्टी लमजुङका संयोजकसमेत रहेका शिक्षक मुक्तिनाथ अधिकारी, ओखलढुंगाका गुरु लुईंटेल, कांग्रेसका नेता भएबापत क्रुरतापूर्वक हत्या भएका सिन्धुलीका वशिष्ठ कोइराला जस्ता कैयौं नागरिकको सत्य जान्ने र न्याय प्राप्त गर्ने परिवारको अधिकारबाट वञ्चित हुन सक्नेछन् । यो अध्यादेश लागू भएमा संक्रमणकालीन न्याय गञ्जागोलको स्थितिमा पुग्नेछ र त्यसबाट नयाँ खाले द्वन्द्व बल्झिनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई पूरा गर्ने बारम्बारको वाचालाई गम्भीररूपमा लिएका छैनन् । बरु माफी दिने अध्यादेश ल्याएर शान्ति प्रक्रियालाई तुहाउने चेष्टा गरेका छन् । यसको जवाफदेही कांग्रेससमेत हुनुपर्ने हुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई पूरा गर्ने बारम्बारको वाचालाई गम्भीररूपमा लिएका छैनन् । बरु माफी दिने अध्यादेश ल्याएर शान्ति प्रक्रियालाई तुहाउने चेष्टा गरेका छन् । यसको जवाफदेही कांग्रेससमेत हुनुपर्ने हुन्छ ।

नेपाली समाजले खाँटी लोकतान्त्रिक शक्ति कांग्रेसलाई मान्ने गरेको हो । २०७४ सालको आमनिर्वाचनताकासम्म यसमा केही सत्यता थियो । तर, २०७९ वैशाखको स्थानीय चुनावपछि यो धारणामा परिवर्तन आएको छ । सिद्धान्तहीन गठबन्धन सरकारको स्वेच्छाचारी, भ्रष्टाचारी तथा मानव अधिकारविरोधी गतिविधि नागरिकले भोगेका छन् । कांग्रेसको भाषण र व्यवहारमा फरक देखेका छन् । यसको विकल्प स्वतन्त्र व्यक्ति हुन थालेका छन् । मतदाता जातीय वा क्षेत्रीय संकीर्णताभन्दा माथि उठेको देखाएका छन् । ‘मनुमखु....ख’ भन्ने विगतका राजधानीवासीले बालेन साहलाई जिताउनु यो एक दृष्टान्त हो ।

कांग्रेसलगायतका प्रमुख पार्टीप्रतिका असन्तुष्टिबाट मुलुकभर युवाहरूले स्वतन्त्रको लहर चलाएका हुन् । यसबाट ‘स्वतन्त्र’ नाम जोडेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले जन्मेको चार महिना नपुग्दै नेकपा माओवादीको हाराहारीमा लोकप्रिय मत पायो । राजनीतिप्रति निराश भएर बसेका युवाहरूमा ‘घण्टी बजाएर’ यसका अध्यक्ष रवि लामिछानेले आशाको जागरण ल्याए । पीडितका न्यायका पक्षमा आवाज निरन्तर उठाउने र त्यसलाई आत्मसात गर्ने मिडियाकर्मीलाई मतदाताले रुचाए । राजनीतिवाद र घोषणामा मात्र होइन पीडितको दुःख र पीडामा साथ दिने व्यक्ति र दललाई राजनीतिक मित्र भएको सम्झे । लोकतान्त्रिक वैकल्पिक शक्तिका रूपमा तिनको पहिचान दिए ।

अर्कातिर राप्रपामा राजेन्द्र लिङ्देनको उदयसमेतलाई हल्का ढंगबाट लिन मिल्दैन । उनको वाद तथा एजेण्डाभन्दा पार्टीलाई स्वेच्छाचारी नेतृत्वबाट मुक्त गरेको मतदाताले मन पराएका छन् । ज्ञानेन्द्र शाहीले त्यस पार्टीबाट टिकट पाएर सांसद बन्नु- राज्य दोहन र भ्रष्टाचारविरोधी अभियानप्रति मतदाताको समर्थन रहेको देखाएका छन् । cprasai@gmail.com

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
DirghaRaj Prasai
DirghaRaj Prasai
2022-12-26 4:16 pm

The article by Charan Prasai isanalytical, I thinks Sher Bahadur Dewa is virus of Congress, he never understood the norms of political system. He can support the murders for his selfish interest
Yes, the article exposes the bad I tension of Congress leaders
OK! Thank you Charan Prasai
Dirgha Raj Prassi

रिलेटेड न्युज

छुटाउनुभयो कि ?