अनलाइन पत्रकारिताको फड्को

Read Time = 13 mins

✍️ रामजी दाहाल

चिठी आएन, चिठी आएन
मेरो मायालुको मलाई चिठी आएन
पचासको दशकमा अशोक शर्मा निर्मित चलचित्र ट्रक ड्राइभरमा शम्भुजित बास्कोटाको संगीतमा बलिउड गायिका कविता कृष्णमूर्तिले आफ्नो खास मान्छेको खबर थाहा पाउन महिनौंसम्म हुलाकी बाटो कुर्दै बसेको यो गीतले चिठीको महत्व दर्शाएको छ । चिठी बोकेर हुलाकीले गाउँघरमा आफन्तजनको खबर ल्याउँदाको त्यो खुसी आमनेसामने भएर म्यासेन्जरमा कुरा गर्न अभ्यस्त आजको पुस्ताका लागि एकादेशको कथा भएको छ । त्यसैगरी, समाचार थाहा पाउन पनि पत्रिका पढ्नुपर्छ र भनेर नयाँ पुस्ताले भन्ने दिन धेरै टाढा नहोला । सञ्चारको विकास र विस्तारले विश्व नै एउटा गाउँमा परिणत भएको छ । यसो हुँदा साइकल ब्वाईले कतिबेला घरमा पत्रिका ल्याउला भनेर पर्खनुपर्ने दिन दूर हुँदै गएको छ ।

परम्परागत सञ्चारमाध्यमलाई विस्थापित गर्दै नयाँ सञ्चारमाध्यमका रूपमा अनलाइन पत्रकारिता उदाएको छ । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले एउटा कुनाको कुनै पनि समाचार वा सूचना क्षणभरमा संसारभरबाट पढ्न, देख्न र सुन्न सम्भव भएको छ । यसो हुँदा अनलाइनप्रतिको आकर्षण विश्वभर बढ्दो छ ।

आमसञ्चारका अन्य माध्यमभन्दा अनलाइनको छुट्टै विशेषता छ । टेलिभिजन, रेडियोजस्ता परम्परागत मिडियामा एकपटक प्रसारण भइसकेको सामग्री पुनः हेर्ने वा सुन्ने सुविधा हुदैन । तर, अनलाइन पत्रकारितामा चाहेका बेला त्यस्ता सामग्री सजिलै प्रयोग गर्न सकिन्छ । यतिमात्र होइन, कतिपय अनलाइनले सम्बन्धित सामग्रीको लिंक दिएर थप खुराक दिएका छन् । यस्तो अभ्यास परम्परागत मिडियामा हुन सक्दैन ।

अक्षरको ब्लक जोडेर पत्रकारिता सुरु गरेको पुरानो पुस्ताका लागि अनलाइन पत्रकारिता नौलो अभ्यास भएको छ । जुन पुस्ताले पत्रकारिताले यति छिटो यो ढंगले फड्को मार्ला भनेर अनुमान गर्न पनि सकेको थिएन ।

अक्षरको ब्लक जोडेर पत्रकारिता सुरु गरेको पुरानो पुस्ताका लागि अनलाइन पत्रकारिता नौलो अभ्यास भएको छ । जुन पुस्ताले पत्रकारिताले यति छिटो यो ढंगले फड्को मार्ला भनेर अनुमान गर्न पनि सकेको थिएन । तर, सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण अनलाइन पत्रकारिताले मूलधारको पत्रकारिताको स्थान ओगटिसकेको छ । दैनिक पत्रिका, रेडियो र टेलिभिजनले आफ्नो अनलाइन संस्करण सुरू गर्नु पछाडिको मूल कारण पनि यही हो । मिडिया सञ्चालकहरूले बुझिसकेका छन् कि भोलिको बजार अनलाइन पत्रकारिताकै हो । अनलाइन पत्रकारिताको क्षेत्रमा भएको विकास र विस्तारले छापा पत्रकारिताको बजार साँघुरो बनाएको छ ।

अनलाइन पत्रकारिताको विषयवस्तु परम्परागत मिडियाको जस्तो कुनै भौगोलिक सीमामा बाँधिदैनन् । त्यसैले कतिपयले अनलाइन पत्रकारितालाई सीमारहित पत्रकारिता पनि भन्ने गरेका छन् । अनलाइनका विषयवस्तु विश्वको जुनसुकै ठाउँबाट, जोकोहीले चाहेको बेलामा पढ्न, हेर्न र सुन्न पाउँछन् । अनलाइन पत्रकारिताको विकासका कारण मिडियाका उपभोक्ताले तत्कालै जानकारी पाउन सक्ने भएका छन् । जसले गर्दा कुनै घटनाबारे थाहा पाउन भोलिपल्टको अखबार पर्खिरहनुपर्दैन । परम्परागत मिडियामा रहेको अन्तरक्रियाको अभावलाई अनलाइन पत्रकारिताले पूरा गरिदिएको छ । जहाँ पाठक, श्रोता र दर्शकले तत्कालै प्रतिक्रिया दिन सक्छन् ।

आजको समस्या :
सन् १९७० को दशकतिर विश्वमा इन्टरनेटको विकास भए पनि सन् १९९० पछि मात्रै यसले व्यापकता पाएको हो । यसरी इन्टरनेटले व्यापकता पाएका बेला नेपालमा बल्ल कम्प्युटर प्रयोगको विस्तार भएको थियो । विश्वका सन्दर्भमा कुरा गर्दा सन् १९९२ मा अमेरिकाको सिकागो ट्रिब्युन पहिलोपटक अनलाइन पत्रकारितामा प्रवेश गरेको पाइन्छ । जतिबेला अखबारमा छापिएका सामग्री अनलाइनमा राख्ने गरिन्थ्यो । नेपालमा सन् १९९४ मा इन्टरनेट भित्रिएको एक वर्षपछि अंग्रेजी दैनिक दि काठमाडौं पोष्टका सामग्री पहिलोपटक अमेरिकाको युनिभर्सिटी अफ इलिनोइसमा राखिएको थियो । त्यसपछि सन् १९९७ मा हिमाल साउथ एसियाले आफ्ना प्रकाशनको आर्काइभ गर्ने उद्देश्यले www.himalsouthasia.com प्रकाशन गर्‍यो ।

त्यतिबेलासम्म नेपालमा अनलाइन पत्रकारितालाई सम्बोधन गर्ने छुट्टै कानुन बनेको थिएन । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि मात्र अनलाइन पत्रकारिताले कानुनी मान्यता पाएको हो । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५ को उपधारा (२) ले अनलाइन पत्रकारितालाई पनि पत्रकारिताकै एक विधाका रूपमा पहिलोपटक मान्यता दिएको थियो । त्यसपछि जारी भएको नेपालको संविधान, २०७२ को धारा १९ को सञ्चारको हकअन्तर्गत अनलाइन पत्रकारिताका बारेमा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालको २०७९ पुस मसान्तसम्मको तथ्यांकअनुसार ३ हजार ७२० वटा अनलाइन काउन्सिलमा दर्ता भएका छन् । पछिल्लो समय दैनिक वा साप्ताहिक पत्रिका दर्ता हुने क्रम ठप्प जस्तै छ भने लामो इतिहास भएका कतिपय स्थापित साप्ताहिक पत्रिका बन्द भएका छन् । मिडियाको विकास र विस्तार हुनु नेपालजस्तो प्रजातान्त्रिक शासन व्यवस्था भएको मुलुकका लागि सुखद् पक्ष हो । तर, विस्तार भएका यी माध्यमका लागि आवश्यक जनशक्ति थपिएको छैन । नेपाली पत्रकारिताको आजको सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति अभाव हो । यसो हुँदा भर्खरै सञ्चालनमा आएका नयाँ अनलाइनमा पनि पुरानै जनशक्ति ओहोरदोहोर गरिरहेका छन् ।

अनलाइन पत्रकारिताको आँखाबाट हेर्दा बजारमा अहिले दुई किसिमको जनशक्ति छ । एकखाले जनशक्तिले यसैमा आफ्नो भविष्य देखेको छ । जसले देशदुनियाँ बुझेर त्यसैअनुरूप आफूलाई अपडेट गर्दै अघि बढेको छ । अर्काथरी जसलाई ‘करिअर’ को कुनै सरोकार छैन । भ्याएसम्म बिहान, दिउँसो र बेलुका फरक-फरक मिडियामा ‘कपी पेष्ट’ गर्छन् । त्यसैले कतिपयको बुझाइमा त्यस्ता पत्रकारहरू साँचो अर्थमा पत्रकार नभएर प्राविधिकमात्र हुन् । किनभने नयाँ विषयवस्तुको उठान गर्ने वा खोज समाचार तयार गर्ने उनीहरूमा न क्षमता हुन्छ, न धैर्य गर्न सक्छन् ।

पत्रकारिताको सामान्य सिद्धान्तबारे जानकारीसमेत नभई पत्रकारिता गरिरहेका कतिपय पत्रकारका कारण समग्र अनलाइन पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ । अनलाइन पत्रकारिताको आजको सबैभन्दा ठूलो समस्या यही हो । तिनीहरूकै कारण पछिल्लो समय अनलाइन पत्रकारिता बदनाम हुन पुगेको छ । सूचना साक्षरता कम भएको नेपाली समाजका पाठकहरूमा पाएका सूचनालाई विश्लेषण गर्ने क्षमता छैन । कुन सही र कुन गलत भन्ने छुट्याउन गाह्रो भएको छ । अर्थात् कुन अनलाइन विश्वासिलो हो र कुन होइन भन्ने कुरा ठम्याउन पाठकले सक्दैनन् । अनलाइनका समाचार सामाजिक सञ्जालमा राखेपछि पाठकको आँखाबाट हेर्दा ती सबै अनलाइन समाचार भएका छन् ।

अनलाइन पत्रकारिताको विश्वसनीयता बढाउन प्रेस काउन्सिल नेपाल र सूचना विभागले अगुवाइ गर्नुपर्छ । यसका लागि पहिलो काम भनेको दर्ता नभई सञ्चालित अनलाइनलाई दर्ता प्रक्रियामा ल्याउनुपर्दछ । त्यसपछि न्यूनतम रकम धरौटी राख्ने व्यवस्था गर्नुपर्छ ।

पत्रकारिताको सामाजिक उत्तरदायित्व बिर्सेर अधिकांश अनलाइन पर्चाकारिता भएका छन् । मुख्य गरी नेपालका अनलाइन मिडियामा दुई किसिमका समस्या छन् । पहिलो समस्या लगानीको हो । दोस्रो समस्या विषयवस्तु । केही ठूला घरानाबाट सञ्चालित मिडियाबाहेक अधिकांशमा लगानीको समस्या छ । त्यस्ता अनलाइनले एउटा कोठामा दुई थान कम्प्युटर राखी समाचार कक्षको जिम्मा अपलोड गर्ने एकजना प्राविधिकलाई दिने गरेका छन् । समाचार कक्षको जिम्मा पाएको त्यस्ता व्यक्ति अन्य अनलाइनमा आएका समाचार कपी गरेर पेष्ट गर्नमा मात्र अभ्यस्त छन् ।

त्यसबाहेक समाचारमा थप काम गर्न उनीहरू सक्दैनन् । कतिसम्म भने समाचारको हेडलाइनसमेत हुबहु राखिएको हुन्छ । अर्थात् अनलाइन छन् तर कन्टेन्ट तयार गर्ने जनशक्ति छैन । अर्कातिर ठूला लगानीमा सञ्चालित मिडियाका आफ्नै समस्या छन् । व्यावसायिक भनिने त्यस्ता मिडिया ब्रेकिङ समाचारका पछाडि कुद्ने गरेका छन् । स्तरीय कन्टेन्ट पस्कन सकेका छैनन् । पत्रकारको क्षमता विकासका लागि ती मिडिया हाउसहरू पनि लगानी गर्न कन्जुस्याइँ गरिरहेका छन् ।

अनलाइन पत्रकारिताको विश्वसनीयता बढाउन प्रेस काउन्सिल नेपाल र सूचना विभागले अगुवाइ गर्नुपर्छ । यसका लागि पहिलो काम भनेको दर्ता नभई सञ्चालित अनलाइनलाई दर्ता प्रक्रियामा ल्याउनुपर्दछ । त्यसपछि न्यूनतम रकम धरौटी राख्ने व्यवस्था गर्नुपर्छ । धरौटी रकम तोक्दा वर्गीकरणलाई मुख्य आधार बनाउनुपर्छ ।

अनलाइन पत्रकारितालाई थप मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउनका लागि पत्रकारले लेख्न, भिडियो खिच्न र फोटो खिच्न त जान्नैपर्छ, साथै तयार गरिएका सामग्रीलाई अनलाइनमा कसरी पोस्ट गर्ने भन्ने प्राविधिक ज्ञान पनि हुनुपर्छ । अर्थात् अनलाइन पत्रकारमा नयाँ मिडियाका साधन प्रयोग गरी तथ्यपूर्ण समाचार तुरुन्त लेख्न सक्ने क्षमता हुनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?