बागलुङ । चार वर्ष अगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लिन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पुरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तरनै बदलिएको छ । काठेखोला गाउँपालिका-३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास (होम-स्टे) संचालन गरे ।
घरबास संचालनपछि यहाँका महिला स्वरोजगार बन्नुका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको हो । सुरुमा घरबास संचालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरुमा निकै परिवर्तन आयो । नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरुले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरु आफै गर्छन् । खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत उनीहरुलेनै गर्दै आएका छन् ।
घरबास संचालक माया पुन घर्ती भन्नुहुन्छ-“होम-स्टे संचालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलो चौकोमै सीमित हुने हामीहरु गाउँ समाजमा आफ्ना कुराहरु राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरु-सुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन की भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाक्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ ।”
उहाँले घरबासलाई व्यवसायिक रुपमा विकास गरि रहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताउनुभयो । घरबास आफूहरुको आय स्रोतको माध्यम बन्नुको साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उहाँको भनाई छ । पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै संभावना बोके पनि ओझलेमा परेको हुँदा यसको विकासका लागि पनि आफूहरु जुटिरहेको घर्ती बताउनुहुन्छ ।
“होम-स्टे संचालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय संभावना बोकेको हाम्रो गाउँलाई विकास गर्नु पर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनीहरु एकताबद्ध भएर लागेका छौँ, विस्तारै व्यावसायिक बन्दै पनि छौँ” घर्तीले भन्नुभयो-“होम-स्टेले गाउँलेलाई एकताबद्ध बनाउनुको साथै सामाजिक कार्यमासमेत लाग्न प्रेरित गरेको छ ।”
स्थानीय पुस्पा छन्त्यालले घरबासले महिलाहरुको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँले गाउँ घरबास संचालन गर्नु पूर्व आफूहरुले घाँस दाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गर्नुभयो । घरबास महिलाहरुका लागि आयआर्जनको स्रोतसमेत बनि रहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ-“पहिले हाम्रो दैनिकी घाँस दाउरा र मेलापात गर्दैमा बित्ने गर्थ्याे, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कला संस्कृति देखाउने गरेर बित्ने गरेको छ, यसबाट आम्दानी पनि राम्रो भएको छ ।”
छन्त्यालले घरबास संचालनमा आएको छोटो समयमै धेरै पर्यटकहरु भित्राउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा पनि परिवर्तन भएको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै पाहुना भित्राउने र उनीहरुलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीत संगीत र नाचले मनोरञ्जन दिनका लागि आफूहरु निरन्तर लागि परेको बताउनुभयो । छन्त्यालले आफूहरुले अनुभव बटुल्दै, सिक्दै र व्यवसायिक बन्ने क्रममा रहेको बताउनुहुन्छ ।
“हाम्रा लागि होम-स्टे संचालन गर्नु विल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नु पर्ने र सिक्नु पर्ने कामहरु धेरै छन् तर पनि हामी जाने बुझेको हिसाबले काम गरेका छौँ, केही कमीकमजोरी पाहुनाहरुले पनि औल्याइ दिनुहुन्छ, उहाँहरुको सुझावलाई पनि हामीले सहज रुपमा ग्रहण गरेका छौँ र सुधार गरिरहेका छौँ” छन्त्यालले भन्नुभयो “पाहुनाहरुले हामीबाट केही नयाँ कुराहरु सिक्नु हुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकिरहेका छौँ, यसले गर्दा यहाँका दिदीबहिनी र समुदायको पनि धेरै परिवर्तन हुँदै गएको छ ।”
गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्ष पहिले ‘बेलढुङ्गा सामुदायिक होम-स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताउनुभयो । पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ पनि संभावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको श्रीसले बताउनुभयो । घरबास संचालनपछि यहाँका महिलाहरु व्यवसायिक बनेको र नेतृत्व विकाससमेत गरेको उहाँको भनाई छ ।
“यो होम-स्टे २०७५ सालमा स्थापना गरेका हौँ, हाम्रो खास उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीहरुको नेतृत्व विकास गरि व्यवसायिक बनाउने थियो, सोही अनुसार अहिले लागि रहेका छौँ, यो चार वर्षको अवधीमा दिदीबहिनीहरुमा निकै परिवर्तन आएको छ, होम-स्टे पनि राम्रै चलेको छ,” अध्यक्ष श्रीसले भन्नुभयो “पहिले उहाँहरु राम्रोसँग बोल्न सक्नु हुँदैनथ्यो, नेतृत्व विकास भएको थिएन, अहिले निकै ‘फर्वाड’ हुनु भएको छ ।”
गाउँको १२ वटा घरमा घरबास संचालनमा रहेको उहाँको भनाई छ । हामेस्टे संचालनका लागि हालसम्म १८ लाख अनुदान प्राप्त भएको अध्यक्ष श्रीसले बताउनुभयो । गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरेको बताउनुभयो । उहाँले गाउँसम्म आउने सडक कच्ची भएको हुँदा बर्खाभर घरबास ठप्प भएको गुनासो पोख्नु भयो ।
“पाहुनाहरुको आगमन राम्रो छ, बर्खामा अलिकति समस्या भयो, गाउँ आउने बाटो कच्ची हुँदा बर्खाभरी गाडी चल्दैनन्, त्यसले गर्दा पाहुना भित्राउन सकिएन, यस वर्षको बर्खामा दुई जना विदेशी पर्यटकलाई १० दिन राखियो, अरु बाटोका कारण आउन सक्नु भएन,” उहाँले भन्नुभयो-“बाटो राम्रो भएको भए बाह्रै महिना यहाँ पाहुना आउन सक्नुहुन्थ्यो ।”
उहाँले घरबासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा लोकल कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताउनुहुन्छ । होमस्टे संचालकहरुले पाहुनालाई मनोरञ्जन दिनका लागि मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाई छ । होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उहाँको भनाई छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच