गठबन्धन परिवर्तनलाई सहजतापूर्वक लिँदै नयाँ सरकारलाई मद्दत गर्नु पर्दछ : गृहमन्त्री खाँण

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनु भएको छ ।

सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै काँग्रेस नेता समेत रहनु भएका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताउनु भयो । उहाँले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

मन्त्री खाँणले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरुलाई पनि सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘आम निर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तनहरु पनि भएका छ । गठबन्धनमा परिवर्तन पनि भएको छ । यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ । तर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई मैले हिजो फोन गरेर बधाई तथा शुभकामना पनि दिएको छु । र, नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नु पर्दछ । अव हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ताहरु दलमा आवद्ध रहनु त स्वभाविक हो । तथापि सरकार भनेको सरकारकै निरन्तरता हो । हामीले हिजोको सरकारको निरन्तरतालाई नै अगाडि बढाएको हो । अव आउने नयाँ सरकारले पनि त्यसैलाई निरन्तरता दिएर जान्छ । त्यसकारणले सरकारलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । र, तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु–सबैले सहयोग नै गर्नुहोला । र, खास गरेर गृह मन्त्रालयमा काम गर्दाखेरी सीमित स्रोत, साधनलाई कसरी विस्तार गर्ने ? त्यसलाई कसरी जुटाउने यो सरकारको दायित्व नै हो ।’

गृहमन्त्री खाँणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाउनु भयो । प्र्र्र्र्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दवाव परिरहेका बेला उहाँले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिनु भएको हो । गृहमन्त्री खाँणले सो विभागले आवश्यक परेका सबै सूचनाहरु दिएकाले पनि आफूले जता भएपनि भिन्नता महसुस गर्नु नपरेको उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘यो राष्ट्रिय अनुसन्धान विभाग कहाँ छ ? यसको अफिसमा त मैले देखेको पनि छु । यो गृह मन्त्रालय मातहत छ कि प्रधानमन्त्री कार्यालय मातहत त ? त्यसको भिन्नता चाँही मैले आफ्नो कार्यकालमा भेटिन । मैले आवश्यक परेका सबै सूचनाहरु पनि पाए । कतिपय नीति निर्माण चाँही मागेको सल्लाहहरु पनि पाए । मागेका अरु सहयोगहरु पनि पाएँ । त्यसकारणले म राष्ट्रिय अनुसन्धान विभागमा प्रमुखलाई पनि म धन्यवाद दिन चाहन्छु ।’

गृहमन्त्री खाँणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नु भयो । विपद् व्यवस्थापन, मन्त्रीपरिषदका लागि आवश्यक प्रस्ताव तयार पार्न र शान्ति सुरक्षाको व्यवस्थापन गर्न आफू र मन्त्रालयका पदाधिकारीहरुले मध्यरातमा पनि मन्त्रालयमा बसेर काम गर्नु परेको मन्त्री खाँणको भनाई थियो । उहाँले आफूलाई मन्त्रीको रुपमा सबैले सहयोग गरेको उल्लेख गर्दै मन्त्रालयका सबै कर्मचारीहरुप्रति आभार समेत व्यक्त गर्नु भयो ।

मन्त्री खाँणले भन्नु भयो, ‘राति १० बजे अफिसमा फर्केर आएर पनि काम गरिएको छ । खासगरी प्राकृतिक विपद व्यवस्थापनको सन्दर्भमा, शान्ति सुरक्षाको व्यवस्थापन गर्ने सन्दर्भमा । कहिले काँही त मन्त्रीपरिषद बैठकक बिहान हुने र मन्त्रीपरिषदमा पठाई हाल्नुपर्ने प्रस्ताव विहान तयार नहुने भएकाले मध्यरातमा आएर पनि काम गर्ने अवस्था समेत आएको छ । त्यसमा पनि मन्त्रीले मात्रै एक्लै र सचिवले मात्रै एक्लै कार्य सम्पादन गर्न सकिदैन । त्यसकारण पूरै टिमनै चाहिन्छ । त्यसकारण सबै कर्मचारी राष्ट्रसेवक मित्रहरुले जुन खालको क्रियाशीलता देखाउनु भयो । त्यो चाँही प्रशंशनीय छ । त्यसका लागि म धन्यवाद दिन चाहन्छु । अव काम गर्ने क्रममा अवश्य नै केही कमीकमजोरीहरु त हुन्छन नै ।’

गृहमन्त्री खाँणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गर्नु भएको थियो । त्यसलाई सफलतापूर्वक संचालन गरेको उहाँको दावी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाँणले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?