राहदानी, लाइसेनमा आम सर्वसाधारणले खेप्नु परिरहेको समस्याको समाधान पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताउनुभएको छ ।

नयाँ सरकार गठन भएपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताउनुभएको हो ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रीपरिषद्को पहिलो बैठकपछि उहाँले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले अबको सरकारले सुशासन कायम गर्नेपनि बताउनु भयो ।

उहाँले राहदानी, लाइसेनमा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताउनु भयो ।
उहाँले आज बसेको मन्त्रीपरिषद्को बैठकले चाँडै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतामा आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । हाम्रो देशको अघि थुप्रै जटिलता र चुनौतिहरु छन् । तर यो मन्त्रीपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेको छ, यो मन्त्रीपरिषद्ले । एउटा आशा जगाएको छ । हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतिपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा । सुशासनतिर गम्भीर ढंगले अघि बढ्नेकुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउने बारे । जस्तो राहदानी, लाइसेन सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ । प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ ।’

प्रधानमन्त्री दाहालले मन्त्री परिषद्मा आउनुभएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पार्नुभयो । सोमवार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको थियो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले शपथग्रहण गर्नुभएको थियो । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?