चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन चैतमा सकिने

Read Time = 7 mins

काठमाडौं । त्रिशुली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन र सबस्टेसनको समग्र निर्माण ७० प्रतिशत सकिएको छ । प्रसारण लाइन र सबस्टेसन आगामी चैतभित्र सक्ने गरी धमाधम काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०÷१३२÷३३ केभीको क्रमशः चिलिमे हब र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, रसुवाको चिलिमे–त्रिशुली थ्री बी हब २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

प्राधिकरणका अनुसार दुवै सबस्टेसन सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरण आयोजनास्थल ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको छ । कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ टावरमध्ये ४३ वटाको जग हालिएको छ भने १४ टावरको जग हाल्ने काम भइरहेको छ । २५ टावर खडा गरिएको छ । चिलिमे–त्रिशुली थ्री बी हब प्रसारण लाइनअन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशुली थ्री बी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गरिनेछ ।

२७ मल्टी सर्किट टावरमध्ये १० वटाको जग हालिएको छ । दुईवटा खडा गरिएको र सात ठाउँमा जग हाल्ने काम भइरहेको छ । प्रसारण लाइनअन्तर्गत रसुवाको तिरुडाँडामा रहने एउटा टावरबाट खड्गु डाँडासम्म रहने अर्को टावरसम्म मैलुङ खोलामाथि एक हजार दुई सय ३४ मिटर लामो दूरीमा लाइन तान्नुपर्नेछ ।

कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ को विद्युत् जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशुली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ । भौगोलिकरूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानी मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीय अवरोध, कोरोनालगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । उत्तरगया गाउँपालिकाको तिरुमा पर्ने टावर निर्माणका लागि आयोजनाले त्रिशुली नदीबाट उक्त स्थानसम्म करिब १५ किलोमिटर पहुँच सडक बनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी चैतको समयसीमाभित्रै काम सम्पन्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले एउटा टावरलाई आयोजना बनाएर काम गर्न निर्देशन दिँदै ठेकेदारले बेहोेरिरहेको नगद प्रवाह, सामाजिक समस्या समाधान गर्न आवश्यक सहजीकरण गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यसै प्रसारण लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्, चैतभित्रमा ती आयोजना निर्माण सकिने हुँदा त्यसअघि नै सबस्टेसन तथा प्रसारण लाइन निर्माण गरिसक्नुपर्ने चाप छ, निर्माणमा भइरहेको ढिलाइप्रति आयोजनामा लगानी गरेका दातृ निकायको समेत गम्भीर चासो र चिन्ता छ ।’

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिजले अहिले आयोजनाको निर्माणमा तीव्रता दिएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिनेछ । ती आयोजनाहरू चैतभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?