अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकताः प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डाैं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताउनुभएको छ ।

आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उहाँले बताउनुभयो ।

“महासङ्घ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ”, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासङ्घको भनाइ छ । महासङघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुहुँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्तगर्नुभयो ।

महासङ्घका अध्यक्ष गोल्छाले प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहनुभएकाले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराउनुभयो ।

उहाँले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव राख्नुभयो ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?