एमाले र कांग्रेसबीच सहकार्यको हाम्रा कुराले देउवा दाइलाई छोएन : सूर्य थापा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसद सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीको बालकोटको बार्दलीबाट हात हल्लाएपछि नयाँ ढंगले सहकार्यको सुरुवात भएको टिप्पणी गर्नुभएको छ ।

थापाले राजनीतिमा असम्भव लागेको कुरा पनि सम्भव हुने भन्दै अहिलेको संसद्को गणितले नै सरकार गठनको लागि गठबन्धनको माग गरेको स्पष्ट पार्नुभयो । उहाँले आफू चुनावअघिको गठबन्धनको विरोधी भएको पनि सुनाउनु भयो ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले भन्नुभयो,  ‘हिजो प्रचण्ड कमरेडको नेतृत्वमा सरकार बनेको छ, ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ। सर्वप्रथम म बधाई भन्न चाहन्छु । म नेपाली जनताको स्थिरता, स्थात्यिव र समृद्धिको आकांक्षामा अलिक दिगो रुपमा काम गर्ने अपेक्षा राख्छु । सरकार कसरी बन्यो ? भन्ने सन्दर्भमा मेरो आफ्नो विश्लेषणछ । चुनावअघि गठबन्धन गरेर जाने कुरा अनैतिक र गलत हो । चुनावपछिको गठबन्धन बाध्यात्मक र स्वभाविक हो । म गठबन्धनविरुद्ध लडेको हुँ । राजनीतिमा नै हो सबै कुरा सम्भव हुने । गणितमा २ मा २ जोड्दा ४ हुन्छ । राजनीतिमा जे पनि हुन्छ । असम्भव लागेका कुरा पनि राजनीतिमा सम्भव हुन्छ ।’

थापाले नेपालको संविधानबमोजिम भएको दोस्रो आवधिक निर्वाचनपछिको प्रतिनिधिसभाको संरचनाले नै अहिलेको सरकार बनेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामीले चाहेर यस्तो भएको होईन । यो २०५१ सालको संसद्जस्तै भयो । हंक पार्लियामेन्टजस्तै रिजल्ट आयो । सरकार बनाउनको लागि ७६ (२) मा जानैपर्दथ्यो । सरकारमा सबै दल हुनुहुन्छ । यो सरकार राष्ट्रपतिबाट तोकिएकै समयमा बनेको छ । संवैधानिक र कानूनी प्रक्रियाबाट बनेको छ ।’

उहाँमुलुकका स्थायी राजनीति शक्ति भनेका ठूला दल नेपाली कांग्रेस र एमाले नै भएको चित्रण गर्नुभयो। उहाँले भन्नुभयो,‘यी दुई दल ००७ सालदेखि सँगसँगै छन् । संकट आउँदापनि आस्था बनेर अघि बढेका छन् । को सरकारमा हुन्छ ? को प्रतिपक्षमा हुन्छ ? भनेर होईन, मैले त एमाले र प्रचण्ड मिल्नु हुन्न भनेको थिएँ । देउवा चाहीँ चितवनको गैंडाजस्तो सञ्चो भएर बस्नुभयो । एमाले र कांग्रेसबीच सहकार्यको कुरा पनि भएको थियो । तर, हाम्रा कुराले देउवा दाइलाई केही छोएन । प्रचण्ड र मेरो व्यक्तिगत दुश्मनी छैन । पार्टी एकतादेखि विघटनसम्म पुग्दा म उहाँविरुद्ध लडेको हो । ओलीलाई चार वटा ठाउँबाट निकाल्नुभयो ।’

उहाँले आफूहरु राजनीतिमा आग्रह र पूर्वाग्रहमा नचल्ने पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो,‘मंसिर ४ गतेको निर्वाचनमा म प्युठानबाट जितेर आएँ, प्रचण्डले १२ पटक प्युठानका एक जनालाई फोन गरेर मलाई हराउनुपर्छ भन्नुभयो । बालकोटको बार्दलीमै गएर प्रचण्डले हात हल्लाएपछि कुरा मिल्यो । अब मिलेर देश बनाऔं । बेथितिको पहाड फालौं । उहाँ ६८ वर्ष हुनुभयो, यो त जीवनमा कहिल्यै पनि नपाएको अवसर हो । अब २ वर्ष दत्तचित्त भएर काम गर्नुपर्छ ।’ उनले आफू मन्त्री बन्नेबारे चर्चा चलेकोप्रति टिप्पणी गर्दै भने,‘म पार्टीले जिम्मा दिएको काम पूरा गर्छु । म मन्त्री हुने वा नहुने कुरा प्रधान होईन ।’ उहाँले एमाले र माओवादीबीच अब पार्टी एकता नहुने पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘अब पार्टी एकता हुँदैन । झुक्किएर पनि पार्टी एकता हुन दिन्नौं । विगतमा पार्टी कब्जा गर्ने अभ्यासबाट शिक्षा लिएका छौं । आजको स्थितिमा सम्भव छैन । एकता हुने भयो भनेपनि बहसको माग हुन्छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?