नेपाल टी-२० लिग : काठमाडौं र लुम्बिनीको विजयी सुरुवात

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टार्सले विजयी सुरुवात गरेका छन् । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा सात विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । पोखराका लागि श्रीलंकाली उपल थरंगाले सर्वाधिक ४४ रन जोड्नुभयो । यस्तै, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाउनुभयो । काठमाडौका लागि अभिनास बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेल्नुभयो । ४२ बलमा उहाँले तीन चौका र सात छक्काको प्रहार गर्नुभयो ।
यस्तै, सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन जोड्नुभयो । पोखराका लागि प्रतिस जिसी र जाहिर खानले समान दुई-दुई विकेट लिनुभयो । यस्तै, मौसम ढकालले एक विकेट हात पार्नुभयो ।

दिउँसो भएको अर्को खेलमा लुम्बिनी अल स्टारले फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गर्‍यो । लुम्बिनीले दिएको १५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर दुई बलमा अलआउट हुँदै ८५ रनमात्र बनाउन सक्यो ।

फार वेस्टर्नका लागि कप्तान हस्मतउल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोड्नुभयो । यस्तै, विनोद भण्डारीले १३ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन । फार वेस्टर्नलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले ३ तथा सागर ढकालले दुई विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ तथा गुलसन झाले २५ रन बनाउनुभयो । फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान तीन-तीन विकेट लिनुभयो ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । तेस्रो हुनले १० लाख र चौथोले पाँच लाख पाउने क्यानले जनाएको छ । त्यस्तै, प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउनेछन् । इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउने क्यानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?