अर्थमन्त्रीमा पौडेलको आगमनपछि लगानीकर्ता उत्साहित

सेयर बजारमा पाँच महिनायताकै उच्च कारोबार

लेखनाथ पोखरेल
Read Time = 7 mins

काठमाडौं । सेयर बजारमा अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको आगमन भएपछि सेयर बजारमा हरियाली छाएको छ । केही महिनादेखि ओरालो दिशातिर लम्किँदै गएको सेयर बजारमा पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित बनेका हुन् । पौडेल अर्थमन्त्री बनेसँगै लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन र त्यसमा पनि विशेषगरी कसले अर्थ मन्त्रालय सम्हाल्छ भन्ने विषयको सिधा असर सेयर बजारमा देख्न सकिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नौ महिना अर्थमन्त्री पदमा पौडेल रहँदा लगानीकर्ताको हितका लागि आवश्यक कार्य गरेकाले पनि उहाँको आगमनपछि सेयर बजार आकासिएको हो । जनार्दन शर्मा अर्थमन्त्री हुँदा पुँजी बजार सुधारका लागि काम गर्न नसकेको भन्दै लगानीकर्ता रुष्ट थिए । शर्माले अर्थ मन्त्रालय छाडेको कारणले पनि सेयर बजार सुधारतिर लम्किएको आँकलन गरिएको छ ।

पौडेलेको अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ताहरू बताउँछन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल बजार बढ्नुमा मुख्य कारण राजनीति नै रहेको बताउनुहुन्छ । ‘नयाँ सरकारसँगै बजारमैत्री अर्थमन्त्री आउनु र सरकारको पहिलो बैठकले पुँजी बजारलाई सम्बोधन गर्नु नै बजार बढ्नुका मुख्य कारण हुन्’, उहाँले भन्नुभयो । अर्थमन्त्रीले आन्दोलनरत व्यापारीहरूलाई वार्तामा बोलाउनुले पनि बजारमा सकारात्मक प्रभाव परेको हुन सक्ने लम्सालको भनाइ छ । ‘लगानीकर्ताहरूमा अर्थमन्त्री र गभर्नर बीचको समन्वय मिल्ने आशाका बीच पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ’, उहाँको भनाइ छ । पौडेल हुँदा ३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको छ । पौडेल पुन अर्थ मन्त्रालयमा आएपछि सेयर बजार उचालिएको हो ।

सोमबार ५६ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ५९ दशमलव ८७ अंक बढेर एक हजार ९८३ दशमलव ९५ विन्दुमा पुगेको हो । परिसूचक बढ्दा कारोबार रकमसमेत वृद्धि भएको छ । यस दिन २६१ धितोपत्रको एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटकमा रु तीन अर्ब ८८ करोड बराबरको सेयर खरिदबिक्री भएको छ । यो गत साउन १८ यताकै बढी हो । उक्त दिन चार अर्बको सेयर खरिदबिक्री भएको थियो । पछिल्लो दुई दिनमा नेप्से परिसूचक ११६ अंकले बढेको छ ।

‘सेयर लगानीकर्तालाई हानि हुने काम गर्दिनँ’
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकालमा पहिलेको तुलनामा राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारी सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । भेटघाटपछि संघकी अध्यक्ष राधा पोखरेलले अर्थमन्त्री पौडेलले आगामी दिनमा आफ्नो कार्यशैली अझै फरक रहने विश्वास दिलाएको प्रतिक्रिया दिनुभयो । ‘हामी नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिन गएका थियौँ । उहाँले विगतमा भन्दा अझै सकारात्मक काम गर्ने आश्वासन दिनुभएको छ । देशको अर्थतन्त्र र विशेष गरी सेयर बजारको विषयमा मिहिन ढंगले संवाद भयो । अर्थमन्त्रीज्यूले सेयर लगानीकर्तालाई हानि हुने काम नगर्ने विश्वास दिलाउनुभएको छ ।’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग भएको मंगलबारको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताउनुभयो । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उहाँले बताउनुभयो । उहाँले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, ‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्नुहोस्’, मन्त्री पौडेलले भन्नुभयोे, ‘म तपाईंहरूको प्रतिनिधिका रुपमा समस्या समाधानका लागि काम गर्नेछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?