चौथो राष्ट्रपति र उपराष्ट्रपतिको खोजीमा संसद्, माघ २८ भित्रै निर्वाचन गर्ने अयोगको तयारी

यज्ञराज पाण्डे
Read Time = 12 mins

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकैपटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ ।

राष्ट्रपति हुन योग्यता
नेपालको संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपति चयन हुने प्रक्रिया र उनीहरूको योग्यताबारे उल्लेख छ । संविधानको धारा ६४ मा नेपालको राष्ट्रपति कस्तो व्यक्ति हुनसक्छ भन्ने योग्यता तोकिएको छ । उक्त धाराअनुसार संघीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुनसक्छ । राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ । कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको राष्ट्रपति हुनसक्छ । यद्यपि, योग्यता पुगे पनि नेपालको संविधानअनुसार दुईपटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रोपटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन ।

उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागू हुने संविधानको धारा ६९ मा व्यवस्था छ । संविधानको धारा ७० ले चाहिँ राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्यवस्था गरेको छ । त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । समुदायका हकमा नेपालको जातीय समुदायअनुसार फरकफरक समूहको हुनुपर्छ । त्यस्ता समुदायलाई राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनले समुदायका रूपमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू वा मुस्लिम समुदाय रहेको व्याख्या गरेको छ । नेपालको संविधानको धारा २८९ ले राष्ट्रपति र उपराष्ट्रपतिसहित संघीय र प्रदेशतर्फका उच्च पदहरूमा वंशजका आधारमा नेपालको नागरिकता पाएका व्यक्ति मात्र हुन पाउने व्यवस्था गरेको छ ।

प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुख पदमा पनि निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था उक्त धारामा गरिएको छ ।

राष्ट्रपति हुनका लागि कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र कुनै लाभको पदमा नरहेको हुनुपर्ने व्यवस्था पनि छ । लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदलाई मानिएको छ ।

कसरी हुन्छ राष्ट्रपतिको निर्वाचन ?
राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था संविधानको धारा ६२ मा गरिएको छ । उक्त धारामा गरिएको व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुनअनुसार फरक हुने व्यवस्था संविधानमा छ । संविधानको उक्त धाराको उपधारा २ मा कुनै प्रदेशसभाको निर्वाचन हुन नसकेको अवस्थामा पनि राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि निर्वाचक मण्डल गठनमा बाधा नहुने व्यवस्था गरिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा संघीय संसद्मा रहेका कुल सदस्य संख्याले नेपालको पछिल्लो जनसंख्यालाई भाग गर्दा आउने भागफल संघीय संसद्तर्फको मतभार हुनेछ । त्यस्तै, प्रदेशसभाका कुल सदस्य संख्याले पनि नेपालको पछिल्लो जनसंख्यालाई भाग गरेर आउने भागफल नै प्रदेशसभा तर्फको मतभार हुनेछ । कानुनी व्यवस्थाअनुसार संघीय संसद्का सदस्य भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैलाई जनाउँछ भने प्रदेशसभाका सदस्य भन्नाले सातवटै प्रदेशसभाका सदस्यहरू जनाउँछ ।

संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी कुल ३३४ सदस्य हुन्छन् भने सातवटा प्रदेशसभामा गरी कुल ५५० सदस्य हुन्छन् । मुलुकको विद्यमान जनसंख्याअनुसार यो पदको निर्वाचनका लागि संघीय संसद्का प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ । संविधानअनुसार संघीय र प्रदेशसभा तर्फका तत्काल कायम रहेका कुल सदस्य संख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।

यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्छन् । दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ ।

निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेका व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका क्रममा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था संविधानको धारा ७१ मा उल्लेख छ ।
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र उहाँले संविधान र संघीय कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्नुपर्ने व्यवस्था छ । संविधानले ‘नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु र संविधान पालन तथा संरक्षण गर्नु’लाई राष्ट्रपतिको ‘प्रमुख कर्तव्य’ रहेको उल्लेख गरेको छ ।

चौथोपटक हुँदै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ६ साउन २०६५ मा बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभाले पनि त्यही वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै ३ असोज २०७२ मा नयाँ संविधान जारी गरेको एक महिनापछि ११ कात्तिक २०७२ मा व्यवस्थापिका–संसद्बाट दोस्रो राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारीलाई निर्वाचित ग¥यो । उहाँ संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

२०७४ साल फागुन-चैतमा सम्पन्न गरिएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन संघीय संरचनाअनुसार संसद् गठन भएपछिको पहिलो थियो भने नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको तेस्रो निर्वाचन थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल फागुनमा निर्वाचन गर्ने निर्णय भएको थियो । निर्वाचन आयोगले सरकारको निर्णयअनुसार त्यसै साल फागुन २९ का लागि राष्ट्रपति पदको निर्वाचनको मिति तोकेको थियो । गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिका रूपमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । नन्दबहादुर पुन पनि नेपालको तेस्रो उपराष्ट्रपतिका रूपमा दोस्रोपटक उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित घोषित हुनुभएको थियो ।

निर्वाचन आयोगले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपति तथा उपराष्ट्रपतिको चयन गर्ने निर्वाचनको तयारी गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?