म्याग्दीको तातोपानी कुण्डमा पाँच हजार बढी बिरामी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा पाँच हजारभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि मंसिर मसान्तसम्म पाँच हजार ४३८ जना बिरामीहरूले तातोपानी कुण्डमा एक हप्तादेखि १० दिनसम्म डुबेर उपचार सेवा लिएका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिनुभयो ।

सचिव केसीले दिएको जानकारीअनुसार साउनमा २६४, भदौमा ४११, असोजमा एक हजार ९०२, कात्तिकमा एक हजार ५४८ र मंसिरमा एक हजार ३१३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । त्यसैगरी पुस महिना सुरु भएदेखि तातोपानी स्नान गर्नेको संख्या दैनिक तीन सयजनाको हाराहारीमा रहेको छ । बिरामीहरूको चाप बढेपछि दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुईवटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको समितिका सचिव केसीले बताउनुभयो ।

मंसिर महिनामा मात्र नेपालका विभिन्न ३३ जिल्ला र भारतका गरी एक हजार ३१३ जना बिरामीहरू यहाँ आएका तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्यांकले देखाएको छ । तथ्यांकमा उल्लेख भएअनुसार मंसिर महिनामा म्याग्दीबाट ३९५, बागलुङ ३३५, कास्की १४०, काठमाडौं १०३, रूपन्देही ६९, पर्र्वत ६३, नवलपरासी २९, मुस्ताङ २७, चितवन २५, तनहुँ १९, कपिलवस्तु १४, नुवाकोट १२, मोरङ १०, बारा नौ, डोल्पा सात, रोल्पा ६, स्याङ्जा पाँच, गोरखा पाँच, गुल्मी पाँच, बर्दिया चार, रुकुम चार, उदयपुर तीन, कैलाली तीन, बाँके तीन, झापा तीन, धादिङ तीन, रसुवा दुई, दोलखा दुई, दाङ दुई, पाल्पा एक, प्युठान एक, मकवानपुर एक, अर्घाखाँचीबाट एक र भारतबाट दुईजना गरी जम्मा एक हजार ३१३ जना बिरामीहरूले यहाँबाट उपचार सेवा लिएका छन् ।

मंसिर महिनामा उपचारका लागि आउनेहरूमा महिलाको संख्या ८४५, पुरुष ४६८ जना रहेको समितिको तथ्यांकमा उल्लेख छ । चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीका अतिरिक्त पर्यटकको पनि चाप बढेको समितका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । सहजरूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक-फरक समयतालिका रहेको उहाँले जानकारी दिनुभयो । वीरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्याष्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा ३५० देखि चार सयले स्नान गर्न सक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एकपटकका लागि प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ ।

एक दिनमा दुईपटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच-दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लाष्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति ३५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?