कविता : ……नारा

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ मोतीराज बम

उत्साह,
एकता,
रुपान्तरण,
त्यसपछि नदी उभो बग्यो
र हिमाल छेउ पुग्यो
चिसो पानीले च्वास्स भिजेपछि पैताला
निन्द्रामग्न हिमाल झल्यास्स बिउँझियो
र सोध्यो नदीलाई
यो के अचम्म !
नदीले मुसुक्क हास्दै भन्यो
महाशय !
यो अचम्म होइन समयको माग हो ।
म तिमीलाई बिउँझाउन आएको
यदि तिमी बिउँझेनौ भने बक्तमा
उत्साहको ‘आकुरा’ कसरी पलाउला ?
एकताको ‘माला’ कसले उनिदेला ?
रुपान्तरणको ‘इन्द्रेणी’ कसले भरिदेला ?
नदीको सूक्तिमय वाणिपछि
अट्टहास हाँस्यो हिमाल
हाँसोको कर्तल ध्वनिले
वरिपरिका ससाना टाकुराहरूले पनि
आँखा खोले, कान सतर्क पारे ।
द्रवीभूत हुँदै शान्त मुद्रामा
हिमालले जवाफ दियो
हेर, गङ्गा
तिमी उल्टो हिंड्यौ
यो प्रकृति नियम बिपरित हो
तरपनि तिम्रो माग मनासिब छ
तर म हिमाल होइन यतिखेर
दृष्टिभ्रम छ तिम्रो
म हरिबङ्स राय बच्चनको कविता हु
‘मेरो बिगत पनि पानी
मेरो बर्तमान पनि पानी
मेरो भविष्य पनि पानी’
अनि म के कारण क्रान्ति गरुँ ?
कसको लागि परिबर्तन ल्याउ ?
तिमी आफ्नै नियममा हिँड गङ्गा’
.........नारा पनि
नदीसँगै हेलिएर परिबर्तन भयो
बिलिन भइसकेपछि रुपान्तरण
मान्छेको गडगडाहट ताली बज्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?