गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लामा १६.८९ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
यस जिल्लामा फल्ने र नफल्ने सुन्तलाको क्षेत्रफल करीब ९९७ हेक्टर रहेको छ । गत बर्ष ५३० हेक्टर उत्पादनशील क्षेत्रफलमा ५९३६ मेट्रिक टन उत्पादन भएको थियो । जसको उत्पादकत्व ११.०२ मेट्रिक टनप्रति हेक्टर रहेको भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार यो बर्ष उत्पादनशील ५८८ हेक्टर क्षेत्रफलमा अनुमानित ६ हजार ८३८.४ मेट्रिक टन उत्पादन भएको छ । जसको उत्पादकत्व ११.८० मेट्रिक टन प्रति हेक्टर रहेको छ । यहाँ कुल सुन्तला बगैचाको क्षेत्रफलको करीब ५९ प्रतिशत बोटहरु फलेका छन् । गत आव २०७८/७९ मा कृषकहरुको स्वलगानी, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रमार्फत ५५ हेक्टर जग्गामा सुन्तला रोपिएको हो ।
“गत बर्ष उत्पादन कम भएका कारण यो बर्ष बढेको देखिएको छ ।” उहाँले भन्नुभयो, “उत्पादनशील क्षेत्रफलमा बृद्धि, फल बाक्लो लागेको, बगैचा व्यबस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकुल हुनु, फल्ने बोटको संख्यामा बृद्धि हुनुका साथै विगत दश वर्षदेखि सुन्तला बगैचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासकोे कारणले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।” ५० प्रतिशत भन्दा बढि सुन्तला बोटमै भएता पनि जिल्ला बाहिर २ हजार ५९१ मेट्रिक टन निर्यात हुनेछ । अहिले २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला जिल्लामा उत्पादन भएको छ । यसबाट करीब १३ करोड २१ लाख ४१ हजार आम्दानी हुने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।
“यहाँ सुन्तलाको खेती गर्ने परम्परागत प्रविधि बिद्यमान भएको कारण ९५५ भन्दा बढि सुन्तला बगैचा बिजुबोटकै छन । जसको कारण फेद कुहिने, जरा कुहिने रोग, गमोसिस सबैभन्दा बढि देखिएको छ ।” उहाँले भन्नुभयो, “अधिकांस बगैचामा मलखाद र शुक्ष्मतत्वको अभावका कारण पात पहेलिने, छिर्केमिर्कै हुने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, रसिलो फल नलाग्ने, फल सानो हुने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएका छन ।”
सिंचाई, काँटछाँटमा कम मात्र ध्यान पुगेको छ । सिट्रस ग्रिनिङ भन्ने रोगको समस्या पनि ठाउँ-ठाउँमा देखिएको छ । पतेरो, गवारो, लाही, झ्याउ, ऐजरु, फल कुहाउँने औसा लगायत अन्य रोग तथा कीराको प्रकोप पनि देखिएको उहाँले बताउनुभयो । समस्याहरु समाधान गर्नका निमित्त बिरुवा रोप्ने देखि फल टिफ्ने बेला सम्ममा बगैचा व्यबस्थापन सम्बन्धी बिभिन्न प्रविधिहरु सिफारिश गरिएका छन् तर उक्त प्रविधिहरु थोरै कृषकहरुले मात्र अनुसरण गरेका कारण हाम्रा बगैचा ह्रासभै रहेको उल्लेख गर्नुभयो ।
सुन्तलाजात फलफूलको दिगो रुपमा बृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका अगौटे तथा पछौटे जातहरु पहिचान गरि तिनको व्यबसायीकरण गर्न लागेको छ । “गुणस्तरिय बिरुवा उत्पादनका लागि नर्सरी व्यबस्थापनमा सुधार गर्ने, सुन्तलाजात फलफूल बिरुवाको न्यूनतम गूणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, बिजु बिरुवा रोपण गर्ने कार्य पूर्णमा रुपमा बन्द गर्ने कार्यक्रम छ ।” उहाँले भन्नुभयो, “बगैचा व्यबस्थापनमा सुधार जस्तै मलखाद, सिंचाई, काँटछाँट गरि उत्पादकत्व बृद्धि गर्ने कार्यक्रम गर्ने छ । प्रभावकारीरुपमा रोगकीरा व्यबस्थापन गर्ने, बृहत उत्पादन क्षेत्र निर्माण गर्दै जाने, फल टिपाई, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यबस्थापनमा सुधार गर्ने कार्यक्रम रहेको छ ।”
सुन्तलाको अगौटे जातः ओकित्सु वासे र मियागावा वासे भाद्र देखि कार्तिकसम्म उत्पादन हुन्छ तथा पछौटे जातः किन्नो जुन भारतबाट पुष देखि चैत्रसम्म आयात हुन्छ । उक्त दुई जातहरुको प्रदर्शन गरि व्यवसायिक उत्पादनमा लैजाने, स्थानीय तहका कृषि प्राविधिहरुको क्षमता अभिबृद्धि गर्दै जाने भण्डारीले बताउनुभयो ।
जिल्लाका प्रायजसो सबै पालिकाहरुमा सुन्तला खेती गरेता पनि सुन्तला उत्पादनको लागी पकेट क्षेत्र रुपमा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाको लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट रेसुङ्गा नगरपालिकाको भाडगाउँ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले रहेका छन् । त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाको मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मीदरवार गाउँपालिकाको गौडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाको अर्बेनीको देउराली, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गाउँपालिकाको भनभने रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच