राजस्व चुहावट गरी भ्रष्टाचार गर्ने सात जनाविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा, रुपन्देहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरे, इञ्जिनियर, निर्माण सेवाका प्रोप्राइटरहरूसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ स्थित दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खनन गर्न आर्थिक वर्ष ०७६/०७७ को टेण्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मूल्य घटाई ठेकेदारसँग आर्थिक लाभ लिई राज्यलाई हानिनोक्सानी गरेको उनीहरूलाई आरोप रहेको छ ।

दानव नदीको सिपवा घाट बालुवा उत्खनन, संकलन तथा बिक्री वितरण ठेक्का एआरके निर्माण सेवालाई प्राप्त गराउन नवीन निर्माण सेवा, एआरके निर्माण सेवा र दुबेजी निर्माण सेवाका प्रोप्राइटरहरूले आपसमा मिलेमतो गरेको पाइएको छ । उक्त तीनवटै निर्माण सेवाको बिओक्यु नीरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तवले भरी दर्ता गरे गराएको पाइएको छ । उक्त तीनवटै निर्माण सेवाको बिओक्युमा लेखिएका हस्तलिखित अंक र अक्षर आँखाले हेरी एउटै व्यक्तिले लेखेको छुट्याउन सकिने अवस्थामा पनि बोलपत्र मूल्यांकन उनीहरूले गरेको अख्तियारको भनाइ छ ।

मूल्यांकन समितिका अध्यक्ष तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, इञ्जिनियर मोहम्मद नुरुल हुसेन खाँ, एआरके निर्माण सेवाका प्रोप्राइटर कमलेशप्रसाद बर्मा (कोहार), नवीन निर्माण सेवाका प्रोप्राइटर जय प्रकाश लाल श्रीवास्तव, दुबेजी निर्माण सेवाका प्रोप्राइटर अशोककुमार दुबे, निरज श्रीवास्तव भन्ने जीवन श्रीवास्तव र सन्दीप तिवारी भन्ने सन्दीपकुमार त्रिपाठीको मिलेमतो रहेको आयोगको भनाइ छ । जसमा सबैभन्दा बढी कबोल अंक रहेको निर्माण सेवाको बिओक्यु बोलपत्र खोल्नुभन्दा अगाडिको अवधिमा परिवर्तन उनीहरूले गराएका थिए ।

एकभन्दा बढी व्यक्तिले अंक र अक्षर लेखी लेखाई बोलपत्रदाताको दस्तखत महलमा अर्कै दस्तखत गराई फर्मको छाप महलमा अर्कै छाप लगाई उक्त बिओक्युको कबोल रकमको अंक महलमा केरमेट एवं मुचुल्कामा अंक र अक्षरमा केरमेटसमेत गरी सहीछाप नगरेको कैफियत जनाएको पाइएको आयोगको भनाइ छ । उक्त निर्माण सेवाको बोलपत्रलाई अयोग्य ठहर गरी उक्त ठेक्काको न्यूनतम रकमभन्दा थोरै कबोल अंक रहेको एआरके निर्माण सेवालाई ठेक्का दिई ४३ लाख ७० हजार राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप रहेको छ । उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?