नवराज शिवाकोटी/हिटा
दोलखा । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखा अहिले दुईजना प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले कार्यालय प्रमुख तथा अन्य प्राविधिक कर्मचारी नपठाउँदा दुईजना प्राविधिकको भरमा कार्यालय चलाउनुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको हो ।
कार्यालय प्रमुख सरुवा भएको ६ महिना बितिसक्दा पनि मन्त्रालयले कार्यालय प्रमुख पठाउन सकेको छैन । विभिन्न तहका ६ जना प्राविधिक कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले निमित्त कार्यालय प्रमुख इञ्जिनियर कुश बुढाथोकी तथा एकजना सब–इञ्जिनियर मात्र छन् । ६ जना प्राविधिकको दरबन्दी कार्यालयमा रहेकोमा अहिले आफू र एक सब इञ्जिनियर मात्र रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका निमित्त कार्यालय प्रमुख कुश बुढाथोकीले बताउनुभयो । दुईजना मात्रै प्राविधिक कर्मचारी भए पनि आफूहरूले भ्याएसम्म काम गरिरहेको उहाँको भनाइ छ । तर, दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा कार्यालयको काम अगाडि बढाउन समस्या भएको उहाँको भनाइ छ ।
बागमती प्रदेशको गौरवको आयोजना जिरी कृत्रिम ताल, सिञ्चाइ, ममर्तलगायत साना ठूला १०५ आयोजना कार्यालयमार्फत कार्यन्वयन गर्न बजेट विनियोजन भएको कार्यालयको भनाइ छ । डिभिजन प्रमुख नहुँदा कतिपय फाइलहरू लिएर हेटौँडा धाउनुपर्ने बाध्यता कार्यालयको छ । आर्थिक वर्ष सुरु भएको ६ महिना बित्न लागेको छ । कुुल ४४ करोड बजेटका आयोजनाहरू कार्यालय प्रमुख तथा कर्मचारी अभावका कारण प्रभावित हुने सम्भावना रहेको कार्यालय सम्बद्ध कर्मचारीहरूले बताएका छन् ।
प्रदेश गौरवको आयोजना भनी चालु आवमा १५ करोड बजेट विनियोजन गरिएको जिरी कृत्रिम तालको भने वातावरण परीक्षण मूल्यांकनको तयारी भइरहेको निमित्त कार्यालय प्रमुख बुढाथोकीले बताउनुभयो । कार्यालय प्रमुख तथा आवश्यक दरबन्दीको व्यवस्था कहिले हुन्छ भनी बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिञ्चाइ मन्त्रालयका सूचना अधिकारी विजयकुमार यादवलाई प्रश्न गर्दा लोक सेवा आयोगले बढुवाको नतिजा प्रकाशन नगरेसम्म डिभिजन प्रमुख पठाउन सकिने अवस्था नरहेको जानकारी दिनुभयो । समायोजन भएका पुराना कर्मचारीहरू अवकाश भएकाले डिभिजन प्रमुख पाउन बढुवाको नतिजा कुर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यसैगरी, अन्य प्राविधिक कर्मचारीको पनि अहिले प्रदेशभर नै अभाव भएकाले लोकसेवा आयोगमा लेखी पठाएको उहाँले बताउनुभयो । कार्यालयले दरबन्दीअनुसार कर्मचारी पाउन लोकसेवा आयोगको नतिजानै कुर्नु पर्ने अवस्था रहेको मन्त्रालयको भनाइ छ ।
दोलखाका स्थानीय नागरिकहरू भने जिल्लाका लागि आएका आयोजनाहरूको बजेट कर्मचारी अभावकै कारण फ्रिज भएर जाने होकि भनी चिन्तित रहेका छन् । केन्द्रबाट कार्यालय प्रमुख तथा अन्य प्राविधिक कर्मचारीहरूको काज सरुवा गरेर भए पनि आयोजना शिघ्र कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका