लुम्बिनीमा सरकार गठनको कसरतमा दलहरू

हिमालय टाइम्स
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले तयारी थालेका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी प्रस्तुत गर्दै आएका छन् । यद्यपि, दलहरूबीच हुने भागबण्डाले मात्रै प्रदेश मुख्यमन्त्रीको टुंगो लाग्नेछ ।

एमालेका पोलिटब्युरो सदस्य लीला गिरीको एमालेको नेतृत्व दाबी स्वाभाविक भएको तर्क छ भने माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि माओवादी केन्द्रको मुख्यमन्त्रीमा दाबी रहेको बताउनुहुन्छ । नेकपा एमालेबाट मुख्यमन्त्रीमा लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९ सिट जितेको छ भने माओवादी केन्द्रले नौ सिट जितेको छ । ८७ जना प्रदेशसभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरू राप्रपाको चार, नागरिक उन्मुक्तिको चार, जनमतको तीन र जसपाको तीन सिट रहेको छ ।

यस्तै, माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना (रुकुम पूर्व–१ का सुरुल पुन, रोल्पा–२ का दीपेन्द्रकुमार पुन र नवलपरासी-२(२) का खड्क बस्नेतले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् । नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्र रहेकाले स्वतन्त्र सांसदले समर्थन गरे पनि यहाँ कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?