सभापति देउवाको राजीनामा माग्ने संस्थापनइतर समूहको तयारी

सानो गिरोहको सत्तालिप्साले सबै गुमेको निष्कर्ष

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर डा.शेखर कोइराला र गगन थापा समूहले पार्टी सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ । बुधबार संस्थापनइतर समूहका नेता डा.कोइरालाको सचिवालय विशालनगरमा बसेको इतर समूहको बैठकले पार्टी सभापति सहितको सानो गिरोहको सत्ता लिप्साको कारण गठबन्धन टुटेको र सबै गुमेको निष्कर्ष निकालेको हो । बैठकले कांग्रेसले सबै अवसर गुमाउने घटनाक्रम दुःखद, अपरिपक्व, स्वार्थमा केन्द्रित तथा सत्ता लिप्सामा आधारित देखिएको र यसले पार्टीमा नैराश्यता जन्माएको ठहर गरेको छ ।

पार्टी नेतृत्वमा बृहत् राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नभएको ठहर गर्दै इतर सूमहको बैठकले पार्टीका पदाधिकारी नै पूर्ण रूपमा उपेक्षा गरेर सानो समूह र सीमित घेराबाट निर्णय गर्ने प्रयत्नको कारण पछिल्लो राजनीतिक दुर्घटना निम्तिएको इतर समूहको आरोप छ । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भन्नुभयो, ‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो । संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ । त्यसैको परिणाम हामी यो अवस्था भोग्न पुगेका छौँ । पार्टीका पदाधिकारी नै पूर्ण रूपमा उपेक्षा गरेर सानो समूह र सीमित घेराबाट निर्णय गर्ने प्रयत्न भयो । त्यसले यो दुर्घटना नित्याएको हाम्रो निष्कर्ष रह्यो ।’

पार्टी सभापति देउवा र निकट नेताहरूले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनुपर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाएको छ । इतर समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो । इतर समूहले पुस २२ मा तय गरिएको केन्द्रीय समितिको बैठकअघि नै केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा मागिन्छ : सहमहामन्त्री पाण्डे
संस्थापनइतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको विषयलाई केन्द्रीय कार्य समितिको बैठकमा उठाउने भएको छ । सभापति देउवाका कारण कांग्रेसले सत्ता गुमाएपछि बसेको संस्थापनइतर समूहको बैठकपछि सहमहामन्त्री बद्री पाण्डेले भन्नुभयो, ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो, त्यसमा समीक्षा हुनुपर्छ भन्ने बारेमा खुला ढंगले छलफल गर्नेछौँ । हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा लिएर निर्णयमा पु¥याउनुपर्छ ।’ सहमहामन्त्री पाण्डेले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताउनुभयो ।

पुस १० गतेको घटनालाई सामान्य रूपमा लिनु हुँदैन : परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले यही पुस १० गतेको घटनालाई सामान्य रूपमा लिन नमिल्ने बताउनुभएको छ । बुधबार संस्थापनइतर समूहको छलफलपछि सहमहामन्त्री परियारले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको विषयले पार्टीमा ठूलो तात्विक असर परेको र सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको जिकिर गर्दै भन्नुभयो, ‘पुस १० गतेको घटना सामान्य घटना होइन । नेपाली कांग्रेसको विषयमा कुरा गरेका छौँ । हामीलाई धेरै ठूलो तात्विक असर गर्छ । राजनीतिक रूपमा यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । जनताको भरोसा र विश्वासलाई हाम्रो नेतृत्वले दिन सकेन । केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ ।’

गठबन्धनका उम्मेदवारमाथि असहयोग गर्नेलाई माफी
नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ । पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार निर्देशन दिएको हो । समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो । त्यतिबेला कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा गठबन्धन भत्किएपछि कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई माफी दिने देखिएको छ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेहरूबारे केही उल्लेख गरिएको छैन ।

बागमतीमा लामा र गण्डकीमा पाण्डे विजयी
नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी हुनुभएको छ । लामा नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई पाँच मतले पराजित गर्दै दलको नेतामा विजयी हुनुभएको हो । लामाले २१ र बानियाँले १६ मत पाउनुभयो । संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी चुनावी कार्यक्रम सञ्चालन गरेको थियो । बागमती प्रदेशसभामा कांग्रेसले ३७ सिट जितेको छ । यस्तै, गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुनुहुन्छ । पाण्डेले १८ मत ल्याउँदा प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत ल्याउनुभयो । एक मत बदर भयो । इतर समूहका अर्यालले आफ्नै समूहका भनिएका सांसदको मत पनि पाउनुभएन । अर्यालनिकट सांसदले १३ मत आँकलन गरेका थिए । गण्डकीमा कांग्रेसका २७ सांसद छन् ।

अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म
नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसबमोजिम सो अवधि थप गरिएको पार्टी कार्यालयले बुधबार जनाएको हो । कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?