एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउने ओली-प्रचण्डको प्रयास

भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । सत्तारूढ नेकपा (एमाले र माओवादी केन्द्रले (नेकपा एकीकृत समाजवादी)लाई पनि गठबन्धनमा सामेल गराउने पहल थालेका छन् । एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउन दुवै पार्टीका नेताहरूले सक्रियता देखाएका हुन् । गठबन्धनमा सामेल गराउन दुवै दलका नेताहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाउन लागिपरेका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी र एमालेका दोस्रो तहका नेताहरूले अध्यक्ष नेपालसँग संवाद गरिरहेका छन् । तत्कालीन कांग्रेससँगको गठबन्धन टुटेपछि एमाले सहितका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । प्रचण्डलाई सात दलसँगै तीन स्वतन्त्र सांसदसहित प्रतिनिधिसभाका १६९ सदस्यको समर्थन छ । विश्वासको मत लिन बाँकी दाहाल आफ्नो नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमतको समर्थन जुटाउने रणनीतिमा लाग्नुभएको छ । एकीकृत समाजवादीलाई समेत मिलाउँदा सरकारलाई दुईतिहाइ बहुमत पुग्छ । जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथ रहेको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिनुभएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा अध्यक्ष नेपाल गठबन्धनमा मिलेर जाने कुरामा सकारात्मक देखिनुभएको हो । बुधबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई भेटेर सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । तर, नेता नेपालले भने कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै प्रचण्डसँग गुनासो गर्नुभएको थियो । प्रचण्डको सचिवालय स्रोतका अनुसार विगतमा सहकार्य गरेर अघि बढेको र अहिले पनि मिलेर जान कुनै सैद्धान्तिक विमति नहुने भन्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा नेपालले कुनै असहमति जनाउनुभएन । बुधबारको भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्ड मात्रै होइन अध्यक्ष नेपाललाई मनाउन एमालेका दोस्रो तहका नेताहरू समेत सक्रिय छन् । उपप्रधानमन्त्री विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले समेत गठबन्धनमा सामेल हुन आग्रह गरिसक्नु भएको छ । बुधबार अध्यक्ष नेपालकै निवास पुगेर भेट्नुभएका नेता बस्नेतले सकारात्मक कुराकानी भएको बताउनुभयो । उसो त नेकपा विभाजन भएपछि छु्ट्टै पार्टी बनाएर बस्नुभएका नेता वामदेव गौतमले पनि नेपाललाई भेटेर सत्ता गठबन्धनसँग मिलेर जान आग्रह गर्नुभएको थियो । नेता नेपालले भने यसबारे पार्टीभित्र छलफल गरिरहनु भएको छ ।

ओली-प्रचण्डबीच साढे दुई घण्टा वार्ता
सरकारलाई बलियो बनाउने विषयमा कुराकानी भयो : ओली
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो भेटवार्ता भएको छ । बुधबार प्रचण्ड निवास खुमलटारमा अध्यक्षद्वयबीच साढे दुई घण्टा कुराकानी भएको हो । तत्कालीन नेकपा विभाजनपछि तीक्ततापूर्ण सम्बन्धमा रहेका ओली–प्रचण्डबीच नयाँ सरकार गठनसँगै लामो कुराकानी भएको हो । दाहाललाई भेट्न ओली बुधबार साढे ११ बजे प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । उहाँ पौने दुई बजे खुमलटारबाट बाहिरिनुभएको थियो । खुमलटारबाट बाहिरिने क्रममा संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले सरकारलाई बलियो बनाउने विषयमा कुराकानी भएको बताउनुभयो । त्यस्तै, सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा अध्यक्षद्वयबीच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने र सरकारलाई प्रभावकारी कसरी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहसम्म पु¥याउने विषयमा पनि छलफल भएको हो । यस्तै, पदको भागबण्डा लगायतका विषयमा समेत छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरूको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसअनुसार राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ । यस्तै, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?