सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्तारूढ नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको बैठक आज बस्दैछ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

सातदलीय गठबन्धनको बैठकले उपराष्ट्रपति, उपसभामुख, मन्त्री तथा प्रदेश सरकारलगायत बाँकी पद बाँडफाँडको विषयमा छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन । राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ । यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ ।

चारवटा प्रदेशको नेतृत्व एमालेले लिने र दुईवटा माओवादी केन्द्रले तथा मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने विषयमा छलफल चलिरहेको छ । पुस २५ गते संसद बैठक बस्नुअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जनाएको छ ।

यसैबीच बुधबार दुई नेताबीचको वार्ताले अब चाँडै नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा सामेल हुने संभावना बढेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?