प्रधानमन्त्री प्रचण्डले २९ पुसमा विश्वासको मत लिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थाल्नुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारे सामान्य छलफल भएको थियो ।

आजको बैठकमा गठबन्धन सरकारका नीति तथा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समिति बनाउने सहमति भएको थियो । सत्ता साझेदार दल राप्रपाले नीति तथा कार्यक्रम तयार नभई सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्षस्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ। प्रतिनिधिसभाको दोस्रो बैठक २९ पुसमा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको स्रोतले बतायो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन सांसदले समर्थन गरेका छन् । तर सरकारमा एमाले, माओवादी, रास्वपा र जनमत पार्टीबाट मात्रै मन्त्री बनेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एक सय ६९ सांसदले हस्ताक्षर गरेका छन् ।

सरकार गठन गर्दै तीनजना उपप्रधानमन्त्री नियुक्त गरेपछि प्रचण्ढको आलोचना हुन थालेको छ । यसअघि देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री बनेका थिएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?