सुन्तला भण्डारणका लागि म्याग्दीमा चिस्यान गृह निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ४ नारच्याङमा सुन्तला भण्डारणका लागि चिस्यान गृह संचालनमा ल्याईएको छ । मौसम अनुसार उत्पादन हुने कृषि उपजलाई सस्तो मुल्यमा विक्री वितरण गर्नुपर्ने भएकाले वेमौसममा विक्री गरि प्रयाप्त आम्दानी गर्ने उद्देश्यले सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गरिएको हो ।

न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले जिल्लामै पहिलो चिस्यान केन्द्र संचालनमा ल्याउनु भएको हो ।
उक्त चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ ।

नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको । ‘स्थानीय कृषकबाट खरिद र आफ्नै बगैचाको गरि दश हजार किलो सुन्तला चिस्यान गृहमा राखेको छु’, संचालक गुरुङले भन्नुभयो ‘चैत बैशाखको समयमा मात्र सुन्तला बजार पठाउने योजना छ ।’

अहिले प्रतिकिलो रु ६० देखि रु ७० का दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म राख्दा प्रतिकिलो रु १६० देखि रु २०० सम्म बिक्री हुने गुरुङको विश्वास छ । फागुनसम्म सुन्तला बोटबाट फल नटिप्दा उत्पादकत्व र बगैचा व्यवस्थापनमा समस्या हुने गरेको छ । कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताउनु भयो । धेरै समय बोटमा फल लाग्दा हावा हुरीले क्षति हुने समस्या पनि हटेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा स्थापना भएको दश हजार किलो क्षमताको सो चिस्यान गृहमा यसपाली पहिलो पटक सुन्तला भण्डारण गरिएको हो ।
सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने सञ्चालक गुरुङको योजना छ । चिस्यान गृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ ।

चिस्यान गृह बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बेनी स्थित सुन्तला जोन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु १३ लाख अनुदान उपलब्ध गराएको थियो । कुल रु २१ लाख खर्च भएको चिस्यान गृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालकले रु आठ लाखभन्दा बढी लगानी गरेको बताउनु भयो ।

सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले नारच्याङमा म्याग्दीमै पहिलो पटक आधुनिक चिस्यान गृह निर्माण भएको बताउनु भयो । उहाँका अनुसार परियोजनामार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा फलफुल भण्डारणका लागि सात चिस्यान गृह निर्माण गरिएका छन् । चालु आव २०७९÷८० मा चार चिस्यान गृह निर्माण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?