विराटनगरद्वारा पोखरा पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किंस विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।

पोखराले विराटनगरलाई जितका लागि १३६ रनको चुनौती दिएको थियो । जवाफमा विराटनगरले १८ दशमलब चार ओभरमा दुई विकेट गुमाएर १३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिनुभयो । उहाँले ५७ बलमा तीन छक्का र ६ चौकाको मद्दतमा ७१ रनको योगदान दिनुभएको हो ।

त्यसैगरी गौरान्सु शर्माले ३३ रन थप्नुभयो भने हुसेन तलातले २८ रनको योगदान गर्नुभयो । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक÷एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिनुभयो भने सुमित महर्जनले २६ रन बनाउनुभयो ।

त्यसैगरी कप्तान उपुल थरंगाले २५ रन बनाउँदा प्रतिशत जिसीले अविजित १३ तथा आसिफ शेखले ११ रन जोड्नुभयोे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिनुभयो भने साहब आलम, राज नानन र नन्दन यादवले समान एक÷एक विकेट हात पार्नुभयो ।
यस्तै, अर्को खेलमा फारवेस्ट युनाइटेडलाई पराजित गरी जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फारवेस्टलाई ८ विकेटले पराजित गरेको हो । फारवेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । सन्दीप जोराले ५४ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । फारवेस्टका लागि करण केसीले २ विकेट लिनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको फारवेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो । फारवेस्टका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाउनुभयो । भीम सार्कीले ३० बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनमा आउट हुनुभयो । कप्तान हसमतुल्लाह शाहिदी १९ रनमा रन आउट हुनुभयो भने हरिशंकर शाह १३ रनमा आउट हुनुभयो ।

विनोद भण्डारीले १२ तथा हसिम अन्सारीले ११ रन बनाउनुभयो । जनकपुरका लागि ललितनारायण राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्र मुखियाले समान १-१ विकेट लिनुभयो ।

जनकपुरले चौथो खेलमा तेस्रो जित हात पारेको छ । जनकपुर चार खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेर एक जित हात पारेको फारवेष्ट चार खेलमा दुई अंकका साथ अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?