सिंजा गाउँपालिकामा पनि फोरजी सेवा

Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयवासीदेखि स्थानीय तहलाई राहत पुगेको सिंजाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । इन्टरनेट नहुँदा स्थानीयवासीलार्ई निकै सकस भएको थियो । विभिन्न सूचना नागरिकसम्म पुर्‍याएर सहजता प्रदान गर्न टेलिकमको फोरजी सेवा सञ्चालनमा ल्याएको पालिकाले जनाएको छ ।

अध्यक्ष धितालले भन्नुभयो, ‘फोरजी सेवा विस्तारले श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा सुधार हुने अपेक्षा राखिएको छ । गाउँपालिकाभित्रका नागरिकलाई स्थानीय सूचनाका लागिमात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे पनि जानकारी लिन इन्टरनेट आजको आवश्यकता हो । घरबाट बाहिर गएका आफन्तसँग पनि कुराकानी गर्नका लागि यो सेवा पालिकाले सञ्चालनमा ल्याएको हो ।’

इन्टरनेट सेवा विस्तारपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइन कक्षा लिन यहाँका विद्यार्थीलाई समेत सजिलो भएको अध्यक्ष धितालको भनाइ छ । यसअघि घाम नलाग्दा, पानी पर्दा पनि फोनमा समस्या हुने गरेको थियो । अध्यक्ष धितालको विशेष पहलमा टावरमा सोलार ब्याट्रीसमेत जडान गरिएकाले विद्युत् अभावका कारण सेवा अवरुद्ध नहुने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

सिंजा गाउँपालिकाको साझेदारीमा नेपाल टेलिकमको लगानीमा फोरजी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका इञ्जिनियर चन्द्रभूषण शाहले जानकारी दिनुभयो । इन्टरनेट सेवा सञ्चालनपछि फोन गर्न र इन्टरनेट चलाउन पाउँदा सिंजावासीमा खुसियाली छाएको स्थानीयवासी उमेश बुढाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?