मुगुमा चिसोले गाउँ छोड्दै स्थानीय

हिमालय टाइम्स
Read Time = 4 mins

सुर्खेत । मुगु मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाले गाउँ छोड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई हरेक वर्ष हिउँद आफ्नो जन्मथलो छोडेर बाहिरिने गरेका छन् ।

कठ्याङग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि पुस, माघ र फागुन तीन महिना गाउँ छोडेर महिला पुरुष बालबालिका वृद्धाहरू बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरू सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्तिलगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् ।

गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन जंगलमा जडिबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेंसी झरेका स्थानीय गाउँतिर फर्किने गरेका छन् । चिसोले गर्दा यहाँका स्थानीय हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताउनुभयो । चिसो खप्न नसकेर स्थानीय बाहिरिने गरेपछि मंसिरदेखि फागुन महिनासम्म सो बस्तीहरूमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

स्थानीय बाहिरिएपछि कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरी चौकीमा पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरी चौकी बन्द हुने गरेको छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरने गरेपछि प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जिल्लातिर डाक्ने गरिएको छ ।

मौसमी बसाइ भौगोलिक विकटता गरिबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयहरूमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चार महिना गाउँ बाहिर र आठ महिना गाउँमै बसेर खेतीपाती जडिबुटी, विकास निर्माणका काम गरेर जीवन निरवाह गर्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?