चिसोका कारण बाँके र बर्दियाको जनजीवन कष्टकर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । अचानक बढेको चिसोका कारण बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन कष्टकर बनेको छ । मंगलबारदेखि एक्कासी बढेको चिसोका कारण बजार सुनसान भएको छ भने दैनिक मजदुरी गरी गुजारा चलाउनेहरूका लागि समस्या देखापरेको छ । नेपालगञ्ज एयरपोर्टबाट हुने नियमित उडानसमेत प्रभावित बनेको छ । अन्य समयमा भिडभाड हुने बजारमा समेत सुनसान देखिएको छ ।

व्यापारीहरू आफ्नो पसलअगाडि आगो तापेर बसिरहेका देखिन्छन् भने सरकारी कार्यालयहरूमा सेवा लिन जाने सेवाग्राहीको संख्या पनि हृवात्तै घटेको छ । मंगलबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण चिसो बढ्दा मानिसको चहलपहल कम हुँदा व्यापारमा कमी आएको नेपालगञ्ज धम्बोजीका सन्तोष शाहीले बताउनुभयो । चिसो मौसमका लागि भनेर केही दिनपहिले बाक्लो कपडा राखे पनि सोचेअनुसारको बिक्री नभएको शाहीको भनाइ छ ।

बुुधबार र बिहीबार पनि बिहानैदेखि चिसो हावा चल्नुका साथै बाक्लो हुस्सु लागेका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएको बताइएको छ । यता नेपालगञ्ज एयरपोर्ट नेपालगञ्ज नागरिक उड्डयन कार्यालय इन्चार्ज सुरेश खनालले बिहान र बेलुकाको उडान प्रभावित भएको बताउनुभयो । खनालले हिमालय टाइम्ससँग कुरा गर्दै दिउँसोका उडान तालिका भए पनि समयअनुसार नभएको बताउनुभयो । बाँके, बर्दियामा चिसो छल्न सर्वसाधारण तथा व्यापारीहरू आ-आफ्नो घरपसलअगाडि आगो बालेर न्यानो बन्ने प्रयास गरिरहेका छन् । चिसो बढेसँगै मुख्य चोकहरूमा आगो ताप्ने व्यवस्था मिलाइदिन सर्वसाधारणले माग गरेका छन् ।

यता चिसो मौसममा अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । चिसो मौसममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वासको समस्या र ज्येष्ठ नागरिकहरूमा हाडजोर्नी दुख्ने समस्या देखिएको छ । जाडोले कठ्यांग्रिने र शीतलहरले ज्यानसमेत लिन सक्ने गम्भीर समस्या उत्पन्न हुने हुँदा सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बर्दिया अस्पताल गुलरियाका डा. विश्वनाथकुमार शाह यो मौसममा बालबालिका र ज्येष्ठ नगारिकलाई विशेष ख्याल राख्नुपर्ने बताउनुहुन्छ । उहाँले चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, ज्वरो तथा झाडापखाला हुनसक्ने भन्दै यस्तै खालका बिरामी अस्पतालमा आउने गरेको बताउनुभयो । यसैबीच देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण तराईका भू–भागमा बाक्लो हुस्सु लागेको छ भने पहाडी भागमा आंशिक बदली भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?