सुदूरपश्चिममा निर्णायक भूमिकामा नागरिक उन्मुक्ति पार्टी

मुख्यमन्त्रीमा चौधरीको दाबीपछि भट्ट अप्ठेरोमा

हिमालय टाइम्स
Read Time = 5 mins

यज्ञराज जोशी/हिटा
धनगढी । सत्तारूढ गठबन्धनभित्र प्रदेश सरकार निर्माणको विषयमा छलफल भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने मुख्यमन्त्रीको दाबी गर्नेहरू बढेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीको ११ र एमालेको १० सिट छ । सात सिटसहित निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ । सुदूरपश्चिमको मुख्यमन्त्री पदका लागि गणितीय हिसाबले नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको हो । आफूहरू निर्णायक भएपछि नागरिक उन्मुक्ति स्वयम्ले पनि मुख्यमन्त्रीको दाबी गरेको छ । बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरेको छ ।

कैलाली क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित उहाँले संसदीय दलको नेता भएसँगै सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफूहरूको दाबी रहेको प्रतिक्रिया दिनुभयो । ‘यहाँको सत्ता समीकरण जस्तो पनि बन्न सक्छ । मुख्यमन्त्रीको प्रमुख दाबेदार म पनि रहेको छु,’ चौधरीले भन्नुभयो, ‘हामी यहाँको निर्णायक शक्ति भएकाले अरु दलले पनि हामीलाई साथ दिनुपर्छ ।’

५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ जना चाहिन्छ । केन्द्रको समीकरणका आधारमा यस प्रदेशमा बहुमत भए पनि कांग्रेस तथा माओवादी–एमाले गठबन्धनलाई गाह्रो छ । दुवै गठबन्धनका लागि प्रदेशसभाको चौथो दल नागरिक उन्मुक्ति पार्टी निर्णायक बनेको छ । केन्द्रमा बनेको समीकरणअनुसार एमाले र माओवादी मिल्दा यहाँ २१ जना सांसद मात्रै पुग्छन् । त्यसमा उन्मुक्तिका सात थपिँदा २८ जना पुग्छन् । जुन सरकार बनाउनका लागि बहुमत हो ।

यता, सबैभन्दा ठूलो दल कांग्रेसका १९ सांसद छन् । उसलाई बहुमत पुर्‍याउन आठ सांसद आवश्यक हुन्छन् । सातजना नागरिक उन्मुक्तिसँगै एकीकृत समाजवादीका चार सांसद मिलाउँदा यता बहुमत पुग्ने देखिन्छ । सोही कारण नागरिक उन्मुक्ति पार्टी यहाँ निर्णायक शक्ति बनेको हो ।

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण चौधरीले पनि मुख्यमन्त्री नपाए कसैलाई सहयोग गर्ने बताउनुभएको छ । ‘हामी निर्णायक शक्ति हो । हामीलाई नेतृत्व दिइएन भने हामी कसैलाई पनि सहयोग गर्दैनौँ,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो ।

माओवादी नेता खगराज भट्ट मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, राप्रपा लगायतको नयाँ गठबन्धन केन्द्रमा बनेपछि यसअघि सुदूरपश्चिममा सरकारको नेतृत्व माओवादीले पाउने बलियो सम्भावना देखिएको थियो । तर, मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबीसँगै यहाँको राजनीतिक समीकरण बदलिने देखिएको छ । प्रदेशका एक केन्द्रीय नेताले दिएको जानकारीअनुसार सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय, एमालेले चार मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउने गरी कुरा भइरहेको थियो । सुदूरपश्चिम प्रदेशसभामा दोस्रो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?