✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
आजभोलि सन्त नेता कृष्णप्रसाद भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाबीच भएको विवाहको बारेमा व्यक्त गरेको भनाइ सञ्चारमाध्यममा पढ्न पाइएको छ । किसुनजीको भनाइ थियो- अहिलेसम्म शेरबहादुरजी हाम्रो हुनुहुन्थ्यो अब आरजुको हुनुभयो । ठट्यौली स्वभावका नेता किसुनजीको भनाइलाई तत्कालीन अवस्थामा धेरैले हाँसोको रूपमा नै बुझे होलान् तर आज आएर किसुनजीको त्यस भनाइमा ठूलो दूरदृष्टि रहेको विश्लेषण गर्न सकिन्छ ।
वास्तवमा विवाहअगाडि देउवा पार्टीका र जनताका प्रिय हुनुहुन्थ्यो । २०४६ सालको परिवर्तनपछिको सुदूरपश्चिम क्षेत्रको संसदीय चुनावमा नेपाली कांग्रेसको जुन नतिजा आयो त्यसले देउवा जनताको असली नेता भएको छनक दिएको थियो । यसैको पुरस्कार स्वरूप उहाँलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको थियो । देउवाको तत्कालीन अवस्थाको गृहमन्त्रालयको काम गराइ अहस्तक्षेपकारी र समन्वयकारी भएको भनेर उहाँलाई सफल गृहमन्त्रीको श्रेणीमा गणना गर्नेहरू पनि कम छैनन् । तर, विवाहपश्चात् भने देउवाको सार्वजनिक स्वीकार्यतामा क्षयीकरण हुँदै गयो । हालै नयाँ सत्तासमीकरण बनेपछि त देउवाको निर्णय क्षमतामा गम्भीर प्रश्न चिहृन खडा भएको छ । यो आलेखमा चुनावको समयको सत्तागठबन्धन टुट्नाका कारण, कांग्रेसभित्रको राजनीतिक परिदृश्यलगायत विषयमा चर्चा गरिनेछ ।
आरजु-महत्वाकांक्षा :
देउवा र आरजुको विवाहपश्चात् भने परिदृश्य बदलियो । विवाहपश्चात् ल्याङफ्याँङे स्वभावका देउवाको व्यक्तिगत जीवन व्यवस्थित बन्दैगयो । नेपालीहरूको बुझाइमा घरजम बस्दैगयो तर राज्यसत्तामा अवसर प्राप्त भएता पनि जनताको कमजोर अवस्था सुधार गर्न देखिनुपर्ने शासकीय नतिजा चाहिँ ल्याङ्फ्याँङ हँुदै गयो । यसको कारण पढेलेखेकी तर कांग्रेसी राजनीतिसँग खानदानी रूपमा वितृष्णा भएकी आरजुको महत्वाकांक्षा थियो ।
देउवाको कुनै विषयमा संस्थागत छलफल नगर्ने, लोकप्रिय महामन्त्रीलगायत पार्टी पदाधिकारीलाई वास्ता नगरी सानो कोटरी बनाएर त्यही कोटरीमा सल्लाह गर्ने, त्यस्तो सल्लाह पनि उनले चाहेको जस्तोमात्र हुनुपर्ने लगायतका कारण देउवाको रणनीति दुर्घटनाग्रस्त भयो ।
आरजुको महत्वाकांक्षालाई देउवालाई प्रतिवाद गर्न सक्ने सल्लाहकार भएको अवस्थामा केही लगाम लगाएको अवस्था थियो भने कमजोर सल्लाहकार भएको अवस्थामा उनी हावी भइन् । पछिल्ला सत्तारोहणका क्रममा गतिला सल्लाहकार समूह र बलियो निजी सचिवालय उनलाई लगाम लगाउने पक्ष भएको भन्ने उनको बुझाइ रहृयो । जसको कारण न त निजी सचिवालय कुनै हैसियतको बन्यो न त सल्लाहकार समूह । यसमा सीमित सल्लाहकारलाई अपवादको रूपमा लिन सकिएला । आरजुको अगुवाइमा कांग्रेसको सामन्तीकरण र शाहीकरण हुँदै गयो । असली नेता कार्यकर्ताका लागि देउवा निवास स्वाभिमान समर्पण गर्ने थलोमा परिणत बन्दैगयो ।
उमेरले डाँडो काट्दै गएका र बुढ्यौलीमा बढ्ने तृष्णाले बसमा परेका देउवालाई कब्जामा राखेर आरजुले नायवी शासन नै चलाइन् भन्ने विषय पनि सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालका लागि नौलो विषय रहेन । विगत संघीय निर्वाचनमा पाँचदलीय गठबन्धन गरेर नेपाली कांग्रेसलाई ठूलो दल बनाएको जस लिएका देउवाको कमजोर निर्णय क्षमताका कारण नाटकीय रूपमा चुनावी गठबन्धन टुट्यो र राज्यसत्ताका सबै अवसर गुम्न पुगे । कांग्रेसमा सन्नाटाको वातावरण बन्यो । देशव्यापी रूपमा कार्यकर्तामा निराशा छायो ।
किन टुट्यो सत्ता गठबन्धन :
पाँच दलीय गठबन्धन सैद्धान्तिक रूपमा मेल नखाने पार्टीहरू बीचको गठबन्धन थियो । यो गठबन्धन संविधान, नियम कानुन मिच्दै अघि बढेका एमाले नेता खड्गप्रसाद ओलीलाई लगाम लगाउन गरिएको थियो । तत्कालीन अवस्थामा यो अनिवार्य थियो किनभने संघीयता र यो संविधान मन नपराउने देशीविदेशी तत्वलाई यो संविधान समाप्त पार्न ओली गतिला पात्रका रूपमा देखापरेका थिए । राष्ट्रपति भण्डारीको ओलीका गैरसंवैधानिक कदमलाई अन्धतापूर्वक समर्थन गर्ने कदमले त मुलुक अँधेरो खाडलमा जान लागेको महसुस भएको थियो । यस्तो बाध्यात्मक अवस्थामा देउवा अन्य पार्टीको अनुरोधमा प्रधानमन्त्री बन्नुभएको थियो ।
पाँच दलीय गठबन्धनले निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेका कारण साधारण बहुमत पुर्याउन सकेन । साना शक्तिलाई तानतुन गरेर बहुमत पुग्नसक्ने अवस्था थियो । नवोदित शक्तिहरूलाई विश्वासमा लिएर गठबन्धनभित्रको लेनदेनका विषयमा जनतालाई थाहा नहुने गरी व्यवस्थापन गर्नु त कता हो कता, नगन्य सिट भएका दलहरूका नेताहरूको अपराध चोख्याउन विधेयक ल्याउने, को प्रधानमन्त्री बन्ने भन्ने विषय सार्वजनिक रूपमा छताछुल्ल पार्ने कामले जनताको निराशा चुलिँदै थियो ।
तत्कालीन प्रधानमन्त्री देउवा प्राविधिक रूपमा बहुमतमा थिए तर जनता अनुहारकै भए पनि परिवर्तन चाहन्थे र संसदमा उदाएका नयाँ राजनीतिक शक्ति नयाँ नेतृत्वअन्तर्गत सत्तामा जान आतुर थिए भन्ने कुरा कांग्रेसको संस्थापन पक्षले नबुझेको र बुझेर पनि वास्ता नगरेको कारण कांग्रेसले आफ्नो भागमा आएको सबै कुरा बालुवामा पोख्न पुग्यो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल कुनै पनि मूल्यमा प्रधानमन्त्री बन्न चाहन्थे भन्ने बटम लाइन देउवा–आरजुले नबुझ्नु सम्भवतः देउवाका लागि यो अन्तिम सत्तायात्रा बन्न पुग्यो । देउवाको कुनै विषयमा संस्थागत छलफल नगर्ने, लोकप्रिय महामन्त्रीलगायत पार्टी पदाधिकारीलाई वास्ता नगरी सानो कोटरी बनाएर त्यही कोटरीमा सल्लाह गर्ने, त्यस्तो सल्लाह पनि उनले चाहेको जस्तोमात्र हुनुपर्ने लगायतका कारण देउवाको रणनीति दुर्घटनाग्रस्त भयो । उनले त हैसियत र क्षमताभन्दा बढी राज्यसत्तालाई भोग गरेकै थिए । देशभरिका लाखौं कार्यकर्ताको भविष्य अन्धकार बनाइदिए । नेताले कार्यकर्तामा आशाको सञ्चार गर्नुपर्नेमा निराशा र दिग्दारी व्याप्त गराए ।
माधवको अनपेक्षित व्यवहार :
राष्ट्रिय पार्टीसम्म बन्न नसकेको नेकपा एसका नेता माधवकुमार नेपालको महत्वाकांक्षा र लाज नमान्ने स्वभाव गठबन्धनप्रति निराशा फैलाउन र टुटाउन सहयोगी रहृयो । जम्मा दश सिट जितेको पार्टी आलोपालो प्रधानमन्त्रीमा भाग खोज्न थाल्यो । देउवा र प्रचण्डबीच को पहिला हुने भनेर रस्साकस्सी भएको समयमा दुई पक्षलाई मिलाउनुको साटो आफैँ धोतीपाटा फेर्ने कुरा गर्न थाले । यसले सर्वत्र निराशा जन्मायो । संसद्मा आएका साना दलहरू पनि पुरानो गठबन्धनको निर्लज्ज हर्कत देखेर सर्वसाधारण जनता जस्तै वाक्क बनेका थिए ।
यस्तो परिस्थितिलाई नियालिरहेका एमाले अध्यक्ष ओलीले नाटकीय रूपमा परिस्थितिलाई आफ्नो अनुकूल बनाए । अघिल्लो दिन ओलीले तीनवटा कार्ड फालेका थिए । पहिलो प्रचण्डले प्रधानमन्त्री बन्न धेरै ढिला भइसकेको, समयमा नखाएको फल कुहिएर सडेजस्तै समय सकिसकेको भनाइ, दोस्रो थियो मुलुक मध्यावधधितर्फ गएको भनाइ र तेस्रो देउवालाई समर्थन दिने भनाइ । यी सबै भनाइ रणनीतिक रूपमा प्रतिपक्षीलाई रनभुल्लमा पार्न फालिएका थिए । पहिलो र तेस्रो भनाइ देउवा लक्षित थियो भने अर्को भनाइ भर्खरै निर्वाचित भएर संसद्सम्म नदेखेका सांसद्हरूलाई मध्यावधिको कार्ड फालेर तर्साउनु थियो । सामान्य अराजनीतिक व्यक्तिले सजिलै बुझ्न सक्ने विषय देउवाको बालुवाटारको किचेन क्याबिनेटले बुझ्न सकेन ।
देउवाहरूले बुझ्न नसकेको विषय बुझेर गठबन्धनलाई मार्ग निर्देश गर्नुको साटो पहिलो पटक आफू प्रधानमन्त्री हुनुपर्ने माधवको निर्लज्ज मागले पनि प्रचण्डलाई बेइमानको पगरी गुथ्न बाध्य पारेको हुनसक्दछ । अर्को देउवा-माधवहरूको पुस्तामा दक्षिण छिमेकी भारतलगायतले सत्ताको रोटी सेकाएर पस्किदिन्छ भन्ने सोच रहेको छ । त्यही सोचबाट प्रशिक्षित आरजुले राखी कूटनीति सुरुवात गरेको कारण पनि त्यही हुनुपर्छ । यिनै सतही सूचना राख्ने विदेशी मित्रहरूको कान भर्नु पनि देउवा-माधव- आरजु हिलोमा चिप्लिएर यो अवस्था आएको हुनसक्दछ ।
कांग्रेसमा नयाँ रक्त सञ्चारका लागि देउवाको बहिर्गमन :
देउवाको बहिर्गमन हुनुपर्दछ भन्ने भनाइ अप्रिय लाग्न सक्दछ । शरीरको कुनै भागमा क्यान्सर लाग्यो भने त्यसलाई काटेर फाल्यो भने बिरामी जीवित रहन्छ भनेजस्तै अप्रिय तर जीवनदायिनी सल्लाहको रूपमा बुझियो भने सबैका लागि हितकर हुनेछ । शारीरिक र मानसिक रूपमा देउवा धेरै कमजोर भएको विषय त हालसालै प्रधानमन्त्रीको शपथग्रहण समारोहमा देखिएको उहाँको बेचैनीले पनि स्पष्ट भएको छ । शपथ ग्रहणको संक्षिप्त कार्यक्रममा कि त जानै हुने थिएन गएपछि अन्तिमसम्म बस्नु पर्दथ्यो ।
यस्तो अशक्त अवस्थाका देउवामा पार्टी र राजकीय सत्ता रहनु भनेको पत्नी आरजु र केही स्वार्थी तत्वहरूले उनलाई सामुहिक स्वार्थमा भन्दा व्यक्तिगत स्वार्थमा प्रवृत्त गराउनु हो । चौधौं महाधिवेशनमा देउवालाई साथ दिएका आजको परिस्थिति ल्याउनमा जिम्मेवार छन् भन्दा रिसानी माफ होस् । भर्खरै सम्पन्न संसदीय दलको नेतामा गगनको विकल्पमा देउवालाई विजयी गराउनेहरूको मूल्यांकन इतिहासले निर्ममतापूर्वक गर्ने नै छ । समीकरण मिलाउन सिपालु भनेर देउवाको बखान गर्नेहरूका खुफियाहरूले अनलाइन समाचारहरूले ब्रेक गरेको समाचार जत्तिको सूचनासम्म राख्न नसक्नु हदैसम्मको कमजोरीको रूपमा लिन सकिन्छ ।
यस्तो कमजोर नेतृत्व, नेतृत्वका कमजोर भाइभारदारहरू, भाइभारदारहरूको सूचना प्रणाली, उनीहरूको अध्ययनशीलता, कमजोर विश्लेषण क्षमतालगायत कुनै आधारबाट देउवा पार्टी सभापति र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा पनि उपयुक्त पात्र मान्न सकिँदैन । उहाँको उमेरका कारण पनि आरामको समय हो । उहाँका लागि पुस्तान्तरणको यो उपयुक्त समय हो । उहाँको बहिर्गमनपछि पार्टीले अपवादबाहेक चुनावअगाडि नै गठबन्धन गर्ने गल्ती गर्नेछैन । पार्टी असली रूपमा सामूहिक नेतृत्वमा जानेछ । सक्षम नेतृत्वद्वारा देशव्यापीरूपमा परिचालित चुनावमा कांग्रेसका शुभचिन्तकले आफूलाई मनपरेको चुनाव चिहृनमै मतदान गर्ने परिस्थिति बन्नेछ । समानुपातिक घटेको मत आफ्नो लयमा आउनेछ ।
देउवाको उमेरका कारण आरामको समय हो । उहाँका लागि पुस्तान्तरणको यो उपयुक्त समय हो । उहाँको बहिर्गमनपछि पार्टीले अपवादबाहेक चुनावअगाडि नै गठबन्धन गर्ने गल्ती गर्ने छैन । पार्टी असली रूपमा सामूहिक नेतृत्वमा जानेछ ।
सारांशमा, नेपाली जनतामा उनीहरूको आर्थिक अवस्थामा सुधार होस् भन्ने व्यग्र प्रतीक्षा छ । शिक्षा र स्वास्थ्यले ढाड सेकिरहेको अवस्थामा सरकारले उपयुक्त नीति निर्माण गरेर सहज बनाइदेओस् भन्ने चाहना छ । सरकारी कार्यालयबाट प्रदान गरिने सुविधा समयमा र विनाझन्झट् पाइयोस् भन्नेछ नेतृत्व जनताको भावना बुझ्ने र त्यसलाई सम्बोधन गर्ने होस् भन्नेछ । यस्तो अवस्थामा गठबन्धन गरेर जनताको मतलाई यान्त्रिक ठान्ने नेतृत्व चाहिएको होइन । जनतालाई चाहिएको सेवाप्रवाह हो । यसमा जो अब्बल ठहरिन्छ त्यसले मौका पाउनुपर्दछ । सेवा प्रवाहमा देउवाहरूको नेतृत्व कामयाव हुनसक्दैन भन्ने विगतमा प्रमाणित तथ्य हो ।
यस तथ्यलाई बुझेर जति सक्दो चाँडो देउवाको विकल्प तयार बन्न सक्यो त्यति नै चाँडै मुलुकले सुशासनको अनुभूति पाउन सक्नेछ भने नेपाली कांग्रेस पार्टीले पुनर्जीवन । कांग्रेस नेता र कार्यकर्तालाई देउवाको स्वार्थपूर्ण अडानका कारण बज्रपात भएको छ । तर, मुलुकले देउवाको अकर्मण्यताबाट मुक्ति पाएको छ । नयाँ बनेको सरकारले जनताका अपेक्षा पूरा गर्न सकोस् । सफलताका लागि शुभकामना ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका