नयाँ वर्षको अवसरमा ‘ठमेल सडक महोत्सव’ हुने

Read Time = 3 mins

काठमाण्डौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ ।

परिषद्ले शुक्रवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव आयोजना गरेको बताउनु भयो ।

उहाँले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताउनु भयो । उहाँले सडक महोत्सव नगरीकन आम सर्वसाधारणहरुलाई ठमेल लैजान नसक्ने बताउनु भयो । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक सांगितिक कार्यक्रमदेखि सांस्कृतिक सांगितिक कार्यक्रमहरु प्रश्तुत गरिने पनि बताउनु भयो । उहाँले अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक भित्र्याउने अपेक्षा बताउनु भयो ।

१ लाख दर्शकहरुको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको उहाँले बताउनु भयो । सडक महोत्सवको लागि हरेक रेष्टुराँहरुले आफ्ना प्याकेजहरु सामाजिक सञ्जालबाट जानकारी गराइसकेको उहाँकाे भनाई छ । उहाँले सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने बताउनु भयो । नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने उहाँकाे भनाई छ । उहाँले ठमेललाई पर्यटकीय नगरीको रुपमा सरकारले घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने बताउनु भयो ।

न्यु इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिवार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट शुरु भइ मध्यरातिसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम, ठमेलका व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको प्रदर्शन हुनेछ । परिषद्ले न्यु इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?