नवनिर्मित विद्यालय भवन हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 4 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित पशुपतिकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपैयाँको लागतमा निर्माण भएको भवन एक समारोहकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयको ३७औँ स्थापना दिवस तथा भवन हस्तान्तरण समारोहमा सो भवन विद्यालयलाई हस्तान्तरण भएको पशुपति कन्या माध्यमिक विद्यालयकाका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो । नवनिर्मित भवनको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले उद्घाटन गर्नुभएको थियो ।

नवनिर्मित तीन तल्ले भवनमा नौ कोठाहरू रहेका छन् । भवन, कम्पाउण्ड, शौचालय लगायतको निर्माणको काम सम्पन्न भएकाले भवन हस्तान्तरण गरिएको खानी/समानान्तर जेजीका सब कन्ट्रयाक्टर रोनिसा निर्माण सप्लायर्स प्रालिका प्रोपाइटर रोहित बुढाथोकीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तथा खानी/समानान्तर जेभीबीच २०७७ साल भदौ १ गते सम्झौता भएको थियो । २०७८ चैत्र २९ गते काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि म्यादभित्र काम नसकिएपछि म्याद थप गरिएको थियो ।

नौ कोठे भवनमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, प्रशासकीय कक्ष तथा कक्षा कोठाका लागि आवश्यक पूर्वाधार सहितको व्यवस्था रहेको छ । सोलार बत्ती तथा आवश्यक फर्निचरसमेत सम्झौताबमोजिम विद्यालयलाई उपलब्ध गराइएको प्रोप्राइटर बुढाथोकीले जानकारी दिनुभयो । विद्यालयका केही पुराना भवनहरूको रेक्ट्रो फिटिङ पनि खानी/समानान्तर जेभीले नै गरिरहेको छ । भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएकाले अब रेक्ट्रो फिटिङ कार्य द्रुत गतिमा अगाडि बढ्ने बुढाथोकीको भनाइ छ ।

नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित विपद् उत्थानशील विद्यालय परियोजना (डिआरएसपी)अन्तर्गत भवन निर्माण तथा रेक्ट्रो फिटिङ कार्य भएको हो । आम विनाशकारी भूकम्प २०७२ ले क्षति गरेका विद्यालयहरू पुनर्निर्माण गर्न स्थापित डिआरएसपी परियोजना सञ्चालनका लागि नेपाल सरकारको १७ दशमलव ६ प्रतिशत, वैदेशिक ऋण ७४ दशमलव ९ तथा वैदेशिक सहायता ७ दशमलव ५ प्रतिशत लगानी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?