आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विविध कार्यक्रम गरेर मनाइँदै छ । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरूले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विविध कार्यक्रम गरेर मनाउँदै छन् । कांग्रेसले पार्टीका संस्थापक बिपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएपछि कांग्रेस संस्थापक एवं तत्कालीन प्रधानमन्त्री बिपी कोइराला लगायतलाई जेल हालिएको थियो । २०२५ कात्तिक १४ गते बिपी कोइराला लगायतका नेताहरू जेलमुक्त भएपछि भारतमा निर्वासन जीवन बिताउँदै आउनुभएको थियो । त्यसको आठ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरू आफूहरूमाथि लगाइएको मुद्दाहरूको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनुभएको थियो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उहाँहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किनुभएको थियो । त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?