पुस्तक : जडिबुटी चिनाउने पुस्तक

कृषि भन्नासाथ हामी खाद्यान्न, तरकारी र पशुपन्छी मात्रै सम्झिन्छौँ । कृषिसँग अन्योन्याश्रित रूपमा जोडिएर आउने अर्को वस्तु हो रैथाने जडिबुटी । कृषिको उत्थानको कुरा गर्ने र कृषिबाट आर्थिक समृद्धिको कुरा गर्ने हो भने जडिबुटीलाई उपेक्षा गर्न सकिँदैन । प्रकृतिले विभिन्न थरी अमूल्य जडिबुटीलाई वरदानको रूपमा दिएको छ । अमूल्य जडिबुटीलाई पहिचान गर्न नसक्नु अथवा पहिचान भएरै पनि त्यसलाई उपयोग नगरी उपेक्षा गर्नु हाम्रो आफ्नै कमजोरी हो । जडिबुटीलाई पनि उत्तिकै महत्व दिएर त्यसको विकासका लागि श्रम, समय र आर्थिक लगानी गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान थप उल्लेख्य बढ्नेछ ।

जीवनका लागि खाद्यान्न जत्तिकै आवश्यक वस्तु हो जडिबुटी पनि । विभिन्न रोगव्याधिमा उपयोग हुने र सौन्दर्यसाधनको उत्पादनमा समेत उपयोग हुने जडिबुटीको उत्पादन, प्रशोधन र त्यसको उपयोगमा राज्यले उचित ध्यान दिनसकेको भए महँगो मूल्यमा कृषिवस्तु तथा औषधीजन्य वस्तुको उच्च आयात हुने थिएन ।

नेपाली रैथाने जडिबुटीको पहिचान र उपयोग हुन नसक्दा विदेशबाट ठूलो परिमाणमा औषधि तथा औषधीजन्य वस्तु आयात भइरहेको अवस्थामा तिनै उपेक्षामा परेका रैथाने जडिबुटीको मूल्य र महत्व दर्शाउने पुस्तक प्रकाशित भएको छ ‘नेपाली रैथाने जडिबुटी’ । लामो समयदेखि खाद्य प्रविधि तथा औषधिविज्ञका रूपमा क्यानाडामा कार्यरत नारायण घिमिरेद्वारा लिखित यो पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

वैज्ञानिक र औषधीय दृष्टिमा नेपाली रैथाने जडिबुटीको सामाजिक र आर्थिक पक्ष, त्यसले समाजको हरेक सदस्यको शारीरिक, मनोवैज्ञानिक, धार्मिक र आध्यात्मिक पक्षलाई नै छुन सक्ने गरी पुर्‍याएको सुधारका पाटोहरू प्रस्ट पार्न उपलब्ध ज्ञानको भण्डार र प्रकाशनहरू चुकेकाले हाम्रा हिरारूपी जडिबुटी जङ्गलमा कुहिने, खोलामा फालिने र हामीले आयातीत पत्रु औषधि र वैकल्पिक खाद्य खाएर जीवनयापन गर्नुपर्ने अहिलेको यथार्थलाई ‘नेपाली रैथाने जडिबुटी’ ले उजागर गरेको छ ।

अहिले ती रैथाने जडिबुटीका बारेमा हामी अनभिज्ञ बन्दै गएको र त्यस्ता जडिबुटीहरू समेत लोपको सङ्घारमा पुगेका छन् । यसरी लोपको सङ्घारमा पुगेका बहुउपयोगी रैथाने जडिबुटीहरूको संरक्षण र तिनको थप उत्पादनमा सघाउ पुगोस् भन्ने हेतुले यो पुस्तकको प्रकाशन हुनु निकै सराहनीय छ ।

हाम्रा आफ्नै परम्परागत रैथाने जडिबुटी र तिनीहरूको वैज्ञानिक पक्ष हाम्रा आफ्नै सन्ततिको अगाडि बिरानो बनिरहेको तथ्यलाई हामीले भुलेसरह छ । त्यसैले हाम्रै वरिपरि उपलब्ध वैज्ञानिक र औषधीय दृष्टिले महत्वपूर्ण एवम् बहुमूल्य मानिएका कतिपय रैथाने जडिबुटीहरू उपेक्षित छन् र लोपको सङ्घारमा छन् । यो निकै चिन्ताको विषय हो तर राज्यले पनि नीतिगतरूपमै यस्ता अमूल्य जडिबुटीहरूको संरक्षणका साथै त्यसको उत्पादन र उपयोगमा ध्यान नदिँदा स्वास्थ्य तथा आर्थिक लाभको अवसरसमेत गुमिरहेको छ ।

भूमिसम्बन्धी तथ्यांकअनुसार नेपालको कूल क्षेत्रफलमध्ये करिब १६ प्रतिशत जमिन खेतीयोग्य छ । तर, खेतीयोग्य जमिनमध्ये आधामा मात्रै सिँचाइ सुविधा उपलब्ध भएकाले कूल ८ प्रतिशत जमिनमा मात्रै नियमित खेती हुँदै आएको छ । यही ८ प्रतिशत जमिनबाट उत्पादन हुने कृषिवस्तु अपर्याप्त हुनाका कारण ठूलो परिमाणमा कृषिवस्तु आयात भइरहेको छ । यो अवस्थामा जङ्गलको परिभाषाभित्र परेको २४ प्रतिशत र अन्य भनिएको ४४.०८ प्रतिशत गरी कूल ६८.०८ प्रतिशत जमिनमा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, औषधीजन्य, वासनादार वनस्पतिको पहिचान, प्रशोधन र व्यावसायिक खेती गर्नसके जडिबुटीक्रान्ति हुने र जडिबुटी क्रान्तिबाटै कृषिक्रान्ति हुने पुस्तकका लेखकको दाबी छ । नेपालले जडिबुटीजन्य वस्तु निर्यात गरेर मनग्गे आम्दानी गर्न सकिने सम्भावनालाई नकार्न सकिँदैन ।

संसारमा १५ हजार प्रजातिका वनस्पतिमध्ये ३ हजार ७ सय वासनादार (एरोम्याटिक) र औषधीजन्य मूल्यको वनस्पति रहेको अनुमान छ । यसमध्ये नेपालमा पाइने ७ हजार वनस्पतिमा १ हजार ५ सय प्रजातिका वासनादार र औषधीजन्य मूल्यको वनस्पति पाइन्छ । जसमध्ये हाल ५२ वटा यस्ता वनस्पतिको औद्योगिक र व्यावसायिक कारोबार भइरहेको लेखकले पुस्तकमा उल्लेख गरेका छन् । जडिबुटी क्रान्तिमार्फत कृषिक्रान्ति गरी अर्थतन्त्रमा कृषिको योगदान वृद्धि गर्न रैथाने जडिबुटी उत्पादन, प्रशोधन र त्यसको संरक्षणमा ध्यान दिनुपर्ने लेखकको सुझाव छ ।

सहज उपलब्धता, छिटो परिणाम दिने र सरल उपयोगविधिले गर्दा अचेल मानिसहरू एलोपेथिक उपचार पद्धतिमा आकर्षित छन् । जडिबुटीजन्य औषधोपचारबाट साइड इफेक्टबिना स्वास्थ्य समस्याको दिगो समाधान हुने हुँदा यस्तो औषधिको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने लेखकको सुझाव छ । यसका लागि लेखकले पुस्तकमा हाम्रो दैनिक जीवनमा प्रयोग हुँदैआएका र प्रयोग गर्न सकिने धेरैथरी रैथाने जडिबुटीहरूको उपयोगिताका बारेमा पुस्तकमा सविस्तार व्याख्या गरेका छन् । हाम्रा अघिल्ला पुस्ताहरूले यिनै रैथाने जडिबुटीको प्रयोग गरी विभिन्न किसिमका स्वास्थ्य समस्याहरूको समाधान खोज्थे ।

तर, अहिले ती रैथाने जडिबुटीका बारेमा हामी अनभिज्ञ बन्दै गएको र त्यस्ता जडिबुटीहरू समेत लोपको सङ्घारमा पुगेका छन् । यसरी लोपको सङ्घारमा पुगेका बहुउपयोगी रैथाने जडिबुटीहरूको संरक्षण र तिनको थप उत्पादनमा सघाउ पुगोस् भन्ने हेतुले यो पुस्तकको प्रकाशन हुनु निकै सराहनीय छ ।

पुस्तकमा सिटामोल, प्यारासिटामोल, एस्प्रिनजस्ता पीडा निवारक सेन्थेटिक औषधिहरूको सट्टामा प्रयोग गर्न सकिने, हाम्रो आफ्नै घरछेउको पाखा–पखेरामा जताततै पाइने रैथाने जडिबुटी बैंस भनिने सेतो बिलोदेखि आँखाको समस्यामा प्रयोग गरिने धुर्सेली, मधुमेहका लागि उत्तम मानिएको कमलको फूललगायत घरघरमा दैनिक प्रयोग हुने बेसार, रिठ्ठा, हलेदो, अदुवा अनि गाँजा, धतुरो, काउसो, भलायो, खयर, खिर्रो, टिम्मुर, गुग्गुलु, कण्टकारी, जिरा, कुश, दुबो, अश्वगन्धा, मोरिङ्गा अर्थात् सहजन, सिमल, तीतेपाती, चरीअमिलो, केरा आदिका बहुउपयोगिताका बारेमा विस्तृत चर्चा गरिएको छ ।

पुस्तकमा जडिबुटी क्रान्तिमार्फत कृषिक्रान्ति गर्न सकिने र कृषिबाटै आर्थिक समृद्धि हासिल गर्न कृषिमा नवप्रवर्तनको आवश्यकता रहेको औंल्याइएको छ । आफ्नै घर वरपर उपलब्ध हुने, व्यावसायिक खेती गर्न सकिने र मनग्गे आम्दानी गर्न सकिने तर त्यसको पहिचान र महत्वबोधमा सबैबाट बेवास्ता गरिएकाले ठूलो आर्थिक अवसरसमेत गुमिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै रैथाने जडिबुटीको खेती, यसको संरक्षण र सम्वद्र्धनमा व्यक्ति, स्थानीय निकाय र राज्यको सकारात्मक दृष्टिकोणको खाँचो यो पुस्तकमा औंल्याइएको छ ।

यो पुस्तक आमसर्वसाधारण पाठक र बहुमूल्य र बहुउपयोगी रैथाने जडिबुटीसम्बन्धी जानकारी, त्यसको संरक्षण, सम्वद्र्धन र उत्पादनका लागि आवश्यक नीतिनिर्माण गर्ने तहमा बसेका राज्यका जिम्मेवार पदाधिकारीहरूका लागि पनि उत्तिकै उपयोगी हुनेमा विश्वस्त हुन सकिन्छ । कौडीको मूल्यमा विदेशिइरहेका अमूल्य रैथाने जडिबुटीलाई स्थानीयस्तरमै व्यावसायिक उत्पादन र प्रशोधन गरी औषधिकै रूपमा उत्पादन र बिक्री-वितरण गर्नसके स्वास्थ्य र आर्थिक दृष्टिकोणले पनि देश लाभान्वित हुने थियो ।

यति धेरै बहुमूल्य र बहुउपयोगी रैथाने जडिबुटीका बारेमा जानकारी प्रस्तुत गरिएको पुस्तकमा ती जडिबुटीहरूको प्रयोगविधिका बारेमा पनि सरल तरिकाले व्याख्या गरिएको भए अझ राम्रो हुने थियो । साथै यति धेरै जडिबुटीका बारेमा जानकारी दिइए पनि जडिबुटीका एउटै पनि तस्वीर समावेश नहुनु यस पुस्कतकको कमजोरी नै हो । रैथाने जडिबुटीको जानकारीसँगसँगै तिनको तस्वीर पनि दिइएको भए आमपाठकलाई जडिबुटी चिन्न सजिलो हुने थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?