जनकपुर र पोखराको जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्स र पोखरा रोयल्सले जित हात पारेको छ । जनकपुरले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै जित हात पारको हो । टियु क्रिकेट मैदानमा भएको खेलमा १९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर १४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले ४२ रन बनाउँनुभयो । यस्तै प्रदीपसिंह ऐरीले अविजित ३६ रन र गौराशुं शर्मा ३३ रन थप्नुभयो ।

जनकपुरका लागि शमिउल्लाह शिनवारीले तीन तथा ललित नारायण राजवंशीले दुई विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८९ रन बनाएको थियो ।

जनकपुरको लागि समिउल्लाह शिनवारीले आक्रामक ७८ रनको इनिङ खेल्नुभयो । उहाँले ४० बलमा ६ चौका र ६ छक्का प्रहार गर्नुभयो । यस्तै चाल्डिक वाल्टनले २९, सन्दीप जोराले २० तथा ट्राभिन ग्रेफिथले १९ रन थप्नुभयो ।

यता विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान दुई-दुई विकेट लिनुभयो । नन्दन यादवले एक विकेट लिनुभयो ।
जितसँगै पाँच खेल खेलेर चार जित हात पारेको जनकपुर आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर दुई अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । पोखराले लुम्बिनी अल स्टारलाई नौ विकेटले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा एक विकेट गुमाएर पुरा ग¥यो ।
दाजुभाईद्वय आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि पोखराले जित हात पारेको हो । आसिफ ६२ बलमा ७७ तथा आरिफले अविजित २६ रन बनाउनुभयो । त्यसबाहेक सुमित मर्हजन १३ रन बनाउँनुभयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाउनुभयो । सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले १३ तथा ह्यारी टेक्टर र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १०-१० रन बनाउँनुभयो ।

पोखराका लागि विपिन खत्री र जाहिर खानले समान तीन-तीन तथा आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले समान एक-एक विकेट लिनुभयो ।

पाँच खेलमा अपराजित रहेको लुम्बिनी छैठौं खेलमा आएर पराजित भएको छ । हारका बाबजुत पनि लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सात खेल खेलेर दोस्रो जित हात पारेर चार अंकसहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?