आज अंग्रेजी नयाँ वर्ष तथा टोपी दिवस

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ । सन् २०२२ लाई बिदा गर्दै आजबाट नयाँ वर्ष २०२३ लाई स्वागत गरिएको छ । नेपालीसहित विश्वभरका मानिसहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइष्ट (प्रभु यशु) को सम्झनामा उहाँको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत सन् २०२२ को बिदाइ र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

विगत केही वर्षदेखि जनवरी १ मा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै आएको छ । स्वतःस्फुर्त रूपमा नेपाली युवाहरूले विगत नौ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन् । नेपाली टोपी नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यले यो अभियानको थालनी भएको बताइन्छ ।

सामाजिक सञ्जालबाट सुरु उक्त अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन जागरूक युवाहरू लागिपरेका छन् । नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले आ-आफ्नो धर्म, जाति र संस्कृतिअनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ । आज नेपाली टोपी पहिरिएर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्न अपिल गरिएको छ ।

यस वर्षको १०औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपी, नेपाली पहिचान’ रहेको छ । सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ । ढाकाटोपी र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न सरकारसँग जागरूक युवा अभियान नेपालले माग गरेको छ । ‘नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरू पनि छन् । त्यसैले ती टोपीहरूको संरक्षण र प्रवद्र्धनका ध्यान दिन पनि सरकारसँग माग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?