पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै, अन्तर्राष्ट्रिय उडान तत्काल नहुने

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । पोखरामा निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने तय भएको छ । विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । महानगरले शनिबार एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघसंस्था बन्द हुने जनाएको छ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ ।

उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पोखरा महानगरले लिएको छ । पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभुषा सहितको ¥यालीको आयोजना गर्नेछ । त्यसैगरी, विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एअरले एक महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पुर्‍याएर केही महिनाभित्र उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीसँग वैशाख सम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा गत मंसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो ।

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । तथ्यांकअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?