पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुँदै (कार्यक्रमसहित)

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री बिहान ११:०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउनुहुने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नुहुनेछ ।

यस्ता छन् कार्यक्रम

विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट यात्रुसहित उडेको पहिलो विमान ७:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उहाँले जानकारी दिनुभयो । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०:०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंहचोकबाट विमानस्थलसम्म र्याली आयोजना गरिएको छ ।

र्यालीका सहभागी अमरसिंहचोकबाट विमानस्थलसम्म पुगेर ११:०० बजे हुने उद्घाटन समारोमा सहभागी बन्नेछन् । उद्घाटन समारोहमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

उद्घाटनपश्चात दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने ४:०० बजेदेखि ५:५ं० बजेसम्म ‘फेसन शो’ को कार्यक्रम तय गरिएको छ । साँझ ६:०० बजे कार्यक्रमको समापन हुने महासचिव सिग्देलले जानकारी दिनुभयो ।

विमानस्थल शुभारम्भकै अवसरमा पोखराको हल्लनचोकमा साँझ ६:०० बजे भैरव नाच प्रदर्शन गर्ने तयारी गरिएको छ । उद्घाटन भव्य बनाउन पोखरा महानगरपालिकाले महानगरअन्तर्गतका महाशाखा, ३३ वडा कार्यालय, मातहतका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द हुने जनाएको छ ।

तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एअरले एक महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पुर्‍याएर केही महिनाभित्र उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीसँग वैशाख सम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा गत मंसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो ।

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । तथ्यांकअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?