प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की निश्चित

फाईल तस्बिर

Read Time = 3 mins

विराटनगर । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै  सरकार गठनको बाटो खुल्ला भएको हो ।

आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गर्नुभएको छ। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गर्नुभएको हो ।

संविधानको धारा १७८ को उपधारा (१) अनुसार कुनै पनि राजनैतिक दलको बहुमत नभएकाले उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ । आइतबार जारी विज्ञप्तिमा ‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युबाट आह्वान भएको छ,’ पत्रमा उल्लेख छ ।

प्रदेश १ मा सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बन्ने प्रस्ट भएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सिट छ । प्रदेशमा जम्मा ९३ सांसद छन् । सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ ।

नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा रहेका सत्तारुढ दलहरू बाँकी मन्त्रालय र सभामुख उपसभामुखको भागबन्डाको तयारीमा छन् ।

एमालेको तर्फबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने हुनु भएको छ ।

यस अघि आइतबार बसेको एमाले दलको बैठकले कार्कीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । झापा ५ (१) बाट निर्वाचित कार्की  पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुनु हो । कार्कीले कानुनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

उहाँ पार्टीको तर्फबाट प्रदेश नम्बर १ को सहइञ्चार्जको भूमिकामा सक्रिय हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?