अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ सुरु, कोदोलगायत रैथाने बाली प्रवद्र्धनमा जोड

Read Time = 7 mins

काठमाडौं । खाद्य पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणको कोदोजन्य बाली भन्ने नाराका साथ नेपालमा पनि ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’ को शुभारम्भ भएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेसँगै नेपालले पनि जनवरी १ अर्थात् आइतबार एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय कोदो वर्षको शुभारम्भ गरेको हो । कृषि विभागद्वारा ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्दै गाउँ र शहरबीच जोड्ने कोदो र अन्य रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गरी उपभोक्तासम्म पु¥याउनु आजको मुख्य जिम्मेवारी र आवश्यकता भएको बताउनुभयो । कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र विज्ञ श्रीमत श्रेष्ठले मुलुकमा खाद्यान्न उत्पादन घट्न गई आयात बढिरहेको अवस्थामा कोदोजन्य र अन्य रैथाने बालीको संरक्षण र विस्तारमा सबैले जोड दिनुपर्ने बताउनुभयो । मन्त्रालयका अनुसार आव २०७४÷०७५ मा मुलुकमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिकटन कोदो उत्पादन भएको थियो । यो देशको कुल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत रहेको छ । समुन्द्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसंघले यस वर्षलाई कोदोजन्य वर्षका रूपमा मनाउने निर्णय गरेको हो ।

कोदोजन्य बालीको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने मूल उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन लागिएको हो । साथै कोदो वर्षका अवसरमा कोदोजन्य बालीको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवं मूल्य अभिवृद्धि, बजार एवं व्यापार विस्तार, स्थानीय एवं रैथाने जातको संरक्षण र त्यस्ता बालीहरूको प्रवद्र्धनका लागि नीतिगत सुधारलगायतका विषयमा संगठित र व्यक्तिगत पहलकदमीसमेत हुने अपेक्षा गरिएको छ ।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छन् । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्नबालीका रूपमा कोदोलाई लिइँदै आएको छ । मुलुकका ७७ जिल्लामा कोदो खेती गरिने भए पनि खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुंगा र गोरखाका धेरै क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपालको स्थान १३औँ रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालले करिब चार करोड बराबरको कोदो आयात गरेको थियो ।

कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू-भागमा लगाइने महत्वपूर्ण बाली हो । परम्परागतरूपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो शहरबाहिर ग्रामीण भेगमा श्रमजीवीको पहिलो रोजाइको खाना हो । पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ । सरकारले कोदोजन्य उत्पादन प्रवद्र्धन गर्न मुलुकका एक सय ३३ भन्दा बढी पालिकालाई लक्षित गरी वार्षिक २२ करोड रकम विनियोजन गर्दै आएको छ । मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो राम्रो खाना मानिन्छ । पौष्टिक खाद्यतत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ ।

कोदोजन्य खाद्यबालीको विकासमा क्रियाशील चन्द्रकान्त चौधरी, शुभबहादुर घलान, तिलक ढकाल र सुमन दाहाललगायतले कोदोका परिकारलाई विविधीकरण गर्दै राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । नेपालमा अरुण, भदौरे, चरिकोटे, चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दूधे, झुप्पे, कलोबुङे, कात्तिकेलगायत ५० भन्दा बढी जातका स्थानीय तथा उन्नत जातका ओख्ले, डल्ले, काभ्रे, सैलुङ कोदो लगाउने गरिएको छ । अन्य खाद्यबालीका तुलनामा कोदोमा कम रोग लाग्ने भए पनि मुसा, बाँदर र मृगलगायत जंगली जनावरको जोखिम भने बढी रहेको कृषकको गुनासो छ । नेपालमा कोदोको औसत उत्पादन प्रतिहेक्टर १.१ मेट्रिकटन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?