बागलुङ बजारमा ट्राफिक व्यवस्थापनमा चुनौती

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । साँघुरा सडक, बढ्दो सवारी चाप, पैदल यात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजारभित्र छोटो दूरीमा पनि लामो समय लाग्ने गरेको सवारी चालकको गुनासो छ । सवारी चालकमात्र होइन, सदरमुकामको बढ्दो ट्राफिक समस्याले स्थानीय बासिन्दा र पैदल यात्रु पनि समस्यामा परेको गुनासो गर्छन् । दैनिकजसो हुने सानाठूला दुर्घटनालाई रोक्न, बढ्दो ट्राफिक जामलाई व्यवस्थान गर्न ट्राफिक प्रहरीले नयाँ-नयाँ तरिका अपनाइरहेको छ ।

सडकको एकतर्फ मात्र आलोपालो पार्किङ गर्ने नियम बनाएको ट्राफिक प्रहरी यतिबेला जेब्रा क्रसिङ तथा लाइन मार्किङको काममा व्यस्त छ । बागलुङ बजारमा बागलुङ नगरपालिकाको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा जेब्रा क्रसिङ तथा लाइन मार्किङको कार्य चलिरहेको छ । २०७४ सालमा बागलुङका सक्रिय युवाहरूको ग्रुप युथ अफ बागलुङ नामक टोलीले बजारका विभिन्न भिडभाड बढ्ने विभिन्न टोल तथा स्थानमा मार्क लगाएका थिए । त्यसयता जेब्रा क्रसिङ तथा लाइन मार्किङका कार्यमा सरोकारवाला निकायले चासो दिएनन् । बढ्दो ट्राफिक जाम, सवारी दुर्घटनालाई रोक्न पछिल्लो समय व्यस्त चोक तथा टोलहरूमा लाइन मार्किङको काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

केसीले जिल्लामा जाम तथा पार्किङको समस्या आएपछि बजारमा बाटो साँघुरो हुने, पैदलयात्रीलाई असहज हुने र व्यापारीहरूलाई व्यापारमा समस्या रोक्नका लागि मार्किङ र जेब्रा क्रसिङमा जोड दिएको बताउनुभयो । सडक सुरक्षा व्यवस्थामा सहजताका लागि लगाइएका लाइन मार्कलाई प्रयोगमा ल्याउन विभिन्न टोल, शैक्षिक संस्थालगायतका स्थानमा पार्किङ व्यवस्थापनसम्बन्धी, दुर्घटनाको न्यूनीकरणका विषयमा ट्राफिक शिक्षा कार्यक्रम चलाइएको उहाँको भनाइ छ । ‘बजार साँघुरो भएका कारण ट्राफिक व्यवस्थापनमा केही चुनौतिहरू छन्, हामीहरू नगरपालिका, जिल्ला प्रशासनसँग सहकार्य गरेर बागलुङ बजारको सडकमा हिँड्ने यात्रुलाई सहज हुने वातावरण निर्माण गर्दै छौँ,’ केसीले भन्नुभयो, ‘सानाठूला सवारीसाधनहरू एकै पटक बजारमा गुड्दा बढी समस्या छ, यो समस्या छिट्टै समाधान गर्नेतर्फ हामीहरू गम्भीर भएर लागेका छौँ ।’

बागलुङ नगरपालिकाको आर्थिक, प्राविधिक र सडक डिभिजन कार्यालय बागलुङको समन्वयमा थालिएको जेब्रा क्रसिङ तथा पार्किङ लाइन मार्क सदरमुकामका विभिन्न १४ वटा टोल तथा चोकका चाक्लो बाटोमा गरिने बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । नगरपालिकाले दशरथ कन्सट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौतामा कार्य सुरु गरिएको इन्जिनियर गिरीको भनाइ छ । बागलुङ बजारको समीक्षालय चोक, बाघको शालिक, धौलागिरि चोक, जिप पार्क, शिवधाराचोक, आवारोड, महेन्द्रपथ, हल्लनचोकलगायतका १४ स्थानमा बाटोको लम्बाइ हेरेर जेब्रा क्रसिङ तथा एकतर्फी र दुईतर्फी पार्किङ लाइन मार्किङको काम सकिएको छ ।

नगरपालिकाले सडकमा लाइन मार्कका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले थप विभिन्न स्थानमा लाइन मार्क गर्ने योजना बनाएको र प्रत्येक महिना कम्तीमा एक पटक लगाइएका लाइन मार्कलाई सफा गरिने सापकोटाको भनाइ छ । सामाजिक सुव्यवस्था, सडक सुरक्षा र दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले पछिल्लो समय बजार क्षेत्रमा लाइन मार्कका कार्य भए पनि प्रयोगमा नआउनु दुखद् भएको सवारी चालक कमल गन्धर्वले बताउनुभयो । उहाँले ट्राफिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?