अझै आरोप-प्रत्यारोपको राजनीति

पुरोनो गठबन्धन टुटेको केही दिन बितिसकेको छ । नयाँ सरकार बनेको पनि केही दिन भयो । राजनीतिमा सम्भावनाहरू अनकौं हुँदा रहेछन् भनेर वर्तमान राजनीतिक परिदृश्यले देखाएको छ । एकातिरको गठबन्धन टुट्नासाथ अर्कातिर गठबन्धनमा जुट्न पुगेको छ । राजनीतिमा दोहोरो चरित्र स्वाभाविक मानिने रहेछ । केही दिन पहिले होइन त्यही दिनको एक दुई घण्टा पहिले बोलेको कुरा दुई-तीन घण्टापछि अमान्य बन्दा रहेछन् । यो राजनीतिको चरित्रै हो भन्ने हाम्रा नेताहरूको बानी, व्यवहार, प्रवृत्ति र अस्थिर चरित्रबाट पुष्टि हुँदै आएको छ । केही घण्टाअघिका घनिष्ट मित्रहरू केही घण्टापछि नै शत्रु बन्दा रहेछन् । तत्कालीन सत्ता गठबन्धनमा रहेको दलहरूका बीचमा शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा समीकरण अर्कै प्रकारले विकसित हुन पुगेको छ ।

नयाँ शक्ति समीकरणमा अझैसम्म संलग्न नबन्नु भएको नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुरानो गठबन्धन भत्काउनमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवार ठहराउनु भएको छ । हुन त यो कुरा उहाँले भनिरहनुपर्ने होइन सबैले पहिलेदेखि नै चर्चा गर्दै आएको विषय हो । हालको अवस्थानमा नेपाली जनता पनि यस्तो राजनीतिक परिस्थितिको विश्लेषण गर्नसक्ने भइसकेका छन् र आफैँले पनि विश्लेषण गरेर निष्कर्ष निकाल्ने काम गरिरहेकै थिए । त्यसमाथि नेकपा एसका अध्यक्ष नेपालले जनताले निकालेकै निष्कर्ष अनुसारकै प्रतिक्रिया दिनु भएका कारण जनताले आफ्नो विश्लेषण सही रहेछ भन्ने मौका पाएका छन् ।

सधैँ शक्तिमै रहिरहनुपर्ने, शक्तिका वरिपरि आफ्ना मानिसहरूलाई घुमाइरहनुपर्ने र शक्तिबाहिर रहँदा छट्पटी हुने प्रवत्तिका केही नेताहरू हुनुहुन्छ । उहाँहरूकै कारण तत्कालीन गठबन्धन भत्किन पुग्यो र नयाँ गठबन्धन बन्यो । यसले गर्दा वर्तमान राजनीतिले एकाएक एउटा यस्तो फड्को मार्न पुग्यो कि त्यसले अधिकारमा रहेकालाई अधिकारविहीन बनायो र अधिकारविहीनलाई अधिकारमा वा सत्तामा पु¥यायो । यो राम्रो भयो वा नराम्रो भयो भन्ने प्रश्न होइन, कसैका लागि यो कदम निश्चय राम्रो भएको छ भने कसैका लागि नराम्रो भएको छ । अधिकारमा आएकाहरूलाई राम्रो भएको छ भने अधिकारबाट वञ्चित हुनु परेकाहरूका लागि निश्चय नराम्रो भएकै छ ।

कुरा नयाँ कदमबाट कुन पार्टी र कुन-कुन व्यक्तिलाई फाइदा पुगेको छ भन्ने होइन राष्ट्रलाई फाइदा पुग्छ कि पुग्दैन भन्ने हो । वर्तमान सरकार र पहिलेको सरकारमध्ये कुन सरकारले देशका लागि धेरै काम गर्नसक्छ भन्ने हो । जुन सरकारले पनि म अरूभन्दा राम्रो काम गर्न आएको हुँ, म राम्रा काम गर्दैछु भन्छन् तर, त्यसको मूल्यांकन जनताले गर्ने हो र गर्नुपर्दछ । हाल नेकपा एसका अध्यक्ष नेपालले भन्नुभएको कुरामा धेरै सत्यता होला तर यति हुँदाहुँदै उहाँ आफैँ पनि सरकारमा जाने चाहना गरिरहनु भएको छ । यसबाट उहाँको द्वेद चरित्र पनि देखिन आएको छ । नेपालका चार-पाँचजना नेताहरू जहिल्यै पनि अधिकारकै सेरोफेरोमा घुम्न चाहिरहनुहुन्छ ।

उहाँहरू आफूले पाउँदा प्रजातान्त्रिक बाटोमा देश हिँडेको देख्नुहुन्छ भने आफू सत्ताबाहिर हुनासाथ प्रतिगमन भएको ठान्नुहुन्छ । त्यस्तो दृष्टिकोणबाट नेताहरू अलग्गै बस्न सक्ने हो भनेमात्र उहाँहरूको पनि सामाजिक प्रतिष्ठा चुलिन सक्छ अनि देशको विकासमा टेवा पुग्न जान्छ । केवल पार्टीको वा व्यक्तिको स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर राजनीति गर्नेहरूका लागि जनताका समस्याले महत्व पाउँदैनन् । राजनीति गर्ने भनेकै वास्तवमा जनताका समस्या समाधान गर्न हो तर यस कुरालाई नबुझेर वा बुझेर, बुझ पचाएर राजनीति गर्नाले जनताको अवस्था जहाँको त्यहीँ रहन्छ, नेताहरूको जीवनस्तर भने फेरिँदै जान्छ । यस्तो नहोस् भन्न नेतामा सकारात्मक सोच र जनतामा नेतालाई खबरदारी गर्न सक्ने सामथ्र्य आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?