✍️ मणि शर्मा
संसदीय दलको नेता चुन्ने अध्याय पनि सकियो । अरू दलहरूमा निर्विवाद यो सम्पन्न भयो तर कांग्रेसलार्ई प्रजातान्त्रिक शक्ति देखाउन एउटा पात्र उभ्याइयो । जसलार्ई देउवाको पछिको प्रधानमन्त्रीको रूपमा शक्तिकेन्द्रले अहिले प्रारम्भिक अभ्यास गरेको हो । उसलाई नेपालमा एउटा जेलेन्सकी चाहिएको छ, त्यो गगनको रूपमा होस् वा रविको रूपमा । राजनीतिक दलहरूका लागि राष्ट्र, राष्ट्रियता तथा सार्वभौमसत्ता एकादेशको कथा भइसकेको छ । यिनीहरूबाट यसको आश नगर्दा नै बेस हुनेछ ।
निर्वाचनको नाटक, संसदीय दलको नेता चयनको नाटक, प्रधानमन्त्री र राष्ट्रपति चयनको नाटक यो व्यवस्थाको एउटा प्रक्रिया हो । प्रधानमन्त्री को हुने, राष्ट्रपति को हुने र खास मन्त्रालयका मन्त्री को हुने यो नेपालीको हातमा छैन । राष्ट्रपतिका लागि तीनजना विवादस्पद व्यक्तिहरूको पासा फालिएको छ । यो पनि कतै नाटक देखाएर तीभन्दा झन् बफादारलाई राष्ट्रपति त बनाउने होइनन् ? राष्ट्र, राष्ट्रियता तथा देशको सार्वभौमसत्तालाई बलिदान दिनेहरू नै यो व्यवस्थामा देशका शासक बन्ने हुन् ।
वेद, यसको उद्गम स्थल नेपालमात्र होइन अपितु विश्वकै ज्ञानको भण्डार हो । वेद विद् धातुबाट बनेको छ, जसको अर्थ हुन्छ ज्ञान प्राप्त गर्नु । वेदवाक्य राष्ट्रप्रेम, देश सेवा र उत्सर्गको प्रेरक हो । राष्ट्रको रक्षामा र उसको महत्तामा वेदका ऋचाहरू प्रेरणास्रोत हुन् । उप सर्प मातरं भूमिम् । ऋग्वेद अर्थात् मातृभूमिको सेवा गर । नमो मात्रे पृथिव्यै नमो मात्रे पृथीव्या । यजुर्वेद । मातृभूमिलाई नमस्कार छ । मातृभूमिलाई नमस्कार छ । यहाँ पृथिव्याको अर्थ मातृभूमि हो ।
देश तथा देशवासीको रक्षा गर्ने जिम्मा राज्यको हुन्छ भन्ने प्रेरणा हामी वेदबाट प्राप्त गर्छौं । आज छिमेकीबाट हाम्रो भूमि अतिक्रमण भइरहेको छ । हाम्रो भूमिको रक्षा गर्ने वीर नागरिकहरू मारिइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले वेदबाट शिक्षा लिनु अपरिहार्य हो ।
वेदमा राष्ट्रियताको उदात्त भावना भरिएको छ । सं गच्छध्वं सं वदध्वं सं वो मनांंंसि जानताम् । देवा भागं यथा पूर्वे संजानाना उपासने । ( ऋग्वेद) । हे ईश्वर हजुर हामीलाई यस्तो बुद्धि दिनुहोस् कि हामी सबै परस्पर मिलीजुली सँगसँगै हिँडौँ, एकैनासको मीठो बोली बोलौँ र एक समान हृदय भएर स्वराष्ट्रमा उत्पन्न धनधान्य र सम्पत्ति परस्पर समान रूपले बाँडेर खाऔँ । हाम्रो प्रत्येक प्रवृत्ति राग द्वेषरहित परस्पर प्रीति बढाउने खालको होस् । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग भवेत् । यसभन्दा उत्कृष्ट समाजवादको रूप के हुन्छ र ? स्वायुधं स्ववसं सुनीथं चतुःसमुन्द्रं धरुण रयीनाम् । चर्कत्यं शंस्यं भूरिवारमस्मभ्यं चित्रं वृषणं रयिं दाः ।। (ऋग्वेद) ।
देश तथा देशवासीको रक्षा गर्ने जिम्मा राज्यको हुन्छ भन्ने प्रेरणा हामी वेदबाट प्राप्त गर्छौं । आज छिमेकीबाट हाम्रो भूमि अतिक्रमण भइरहेको छ । हाम्रो भूमिको रक्षा गर्ने वीर नागरिकहरू प्रायसः छिमेकीबाट मारिइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले वेदबाट शिक्षा लिनु अपरिहार्य हो । सहृदयं सामनस्यमविद्वेषं कृणोमि वः । अन्यो अन्यमभि हर्यत वत्सं जातमिवाध्न्या ।। (अथर्ववेद) परस्पर हृदय खोलेर एकमना भई कर्मशील बनी रहू ।
राजा वा शासकवर्ग कत्तिको त्यागी हुनुपर्छ चाहे जनताका लागि होस् वा पशुपक्षीका लागि एउटा पौराणिक कथा पुरुवंशमा जन्मेका उशीनरदेशको राजा शिवी बडो परोपकारी तथा धर्मात्मा थिए । जो कोही याचक उनको द्वारमा जान्थे कहिल्यै पनि रित्तो हात फर्किदैनथे । प्राणी मात्रका लागि राजा शिवीमा बडो स्नेह थियो । अतः उनको राज्यमा सधैंं सुख, शान्ति तथा स्नेहको वातावरण बनिरहन्थ्यो । राजा शिवी सधैं ईश्वर भक्तिमा लीन रहन्थे । राजा शिवीको परोपकारशीलता त्यागवृत्तिको चर्चा स्वर्गलोकसम्म प्रसिद्ध थियो ।
देवताहरूको मुखबाट राजा शिवीको यो प्रसिद्धि सुनेर इन्द्र र अग्निलाई विश्वास भइरहेको थिएन । इन्द्रले बाजको र अग्निले परेवाको रूप धारण गरी राजाको परीक्षा लिन निस्के । परेवा अगिअगि र बाज उसलाई लखेट्दै पछिपछि उड्दै राजा शिवीको राज्यमा प्रवेश गरे । राजा शिवी यज्ञ गरिरहेका थिए । परेवा आएर उनको काखमा लुक्यो । परेवाको पछिपछि बाज पनि आयो । उसले राजालाई भन्यो राजन निसन्देह तपार्इं धर्मपरायण र परोपकारी राजा हुनुहुन्छ । हजुर कृतघ्नलाई धनले मिथ्यालाई सत्यले, निर्दयीलाई क्षमाले तथा क्रुरलाई साधुताले जित्ने गर्नुहुन्छ ।
त्यसैले हजुरका कुनै शत्रु छैनन् । त्यसैले तपाईं अजातशत्रु नामले प्रसिद्ध हुनुहुन्छ । हजुरले अपकार गर्नेलाई पनि उपकार गर्नुहुन्छ । हजुर दोष खोज्नेहरू माथि पनि गुण खोज्नुहुन्छ । यति महान् भएर हजुरले यो के गरेको ? म क्षुधाले व्याकुल भएर भोजनको सन्धानमा भांैतारिइरहेको थिएँ । तब संयोगले मैले यो पक्षी भेटेँ तर हजुरले यसलाई शरण दिइरहनु भएको छ । यो हजुरले अधर्म गरिरहनु भएको छ । कृपा गरेर यो परेवा मलाई दिनु होस् । यो मेरो भोजन हो ।
यति सुनेपछि परेवाले भन्यो शरणार्थीको प्राण रक्षा गर्नु राजाको धर्म हो । त्यसैले हजुरले यो बाजको कुरा कदापि नमान्नु होस् । यसले मेरो प्राण हरण गर्नेछ । दुवैको कुरा सुनेपछि राजा शिवीले बाजलाई भने, हे बाज, यो परेवा तिमीबाट भयभीत भएर मेरो शरणमा आएको छ । अतः यो मेरो शरणार्थी हो । म मेरो शरणमा आएको शरणार्थीलाई त्याग कसरी गर्न सक्छु ? जुन मनुष्य भय, लोभ, इष्र्या, लज्जा वा द्वेषले शरणागतको रक्षा गर्दैनन् वा त्यसलाई त्यागिदिन्छ सज्जन मानिसले उसको निन्दा गर्छ र उसलाई ब्रहृमहत्या समान पाप लाग्दछ ।
जसरी हामीलाई हाम्रो प्राण प्यारो छ ठीक त्यसरी नै प्रत्येक जीवलाई आफ्नो प्राण प्यारो हुन्छ । समर्थ र बुद्धिमान मानिसले असमर्थ तथा मृत्युभयले भयभीत जीवहरूको रक्षा गर्नु पर्दछ । हे बाज, मृत्युभयले भयभीत यो परेवा म तिमीलाई दिन सक्दिन । यसको सट्टा तिमीले जे खानेकुरा मागे पनि म दिनेछु । तिमीलाई म त्यो अभीष्ट वस्तु दिन तयार छु ।
बाज राजाको कुरा सुनेपछि भन्छ, हे राजन, म क्षुधाले पीडित छु, हजुरलाई थाहा नै छ कि भोजनले जीव उत्पन्न हुन्छ र हुर्किन्छ । यदि म क्षुधाले मरिहाले मेरो बच्चाहरू पनि मर्नेछन् । हजुरको एउटा परेवालाई बचाउने प्रयासमा कैयौँ जीवहरूको प्राण जाने सम्भावना छ । हे राजन, हजुर यसरी कसरी धर्मको अनुसरण गर्नुहुन्छ ? बुद्धिमान मनुष्य त्यही धर्मको पालन गर्छन् जसले अर्काको धर्मको हनन गर्दैन । हजुर आफ्नो विवेकको तराजुले जोख्नुहोस् र जुन धर्म हजुरलाई अभीष्ट हुन्छ हजुर मलाई भन्नुहोस् ।
राजा शिवीले भने, हे बाज, भयले ब्याकुल शरणार्थीको रक्षा गर्नुभन्दा ठूलो कुनै धर्म हुँदैन । जुन मनुष्य करुणा र दयाले द्रवित भएर जीवहरूलाई अभयदान दिन्छन् ऊ देहमुक्त भएपछि सबै प्रकारका भयले मुक्त हुन्छ । धन, वस्त्र, गौ र ठूला ठूला यज्ञहरूको फल यथासमय नष्ट भएर जान्छ किन्तु भयाकुल प्राणीलाई दिएको अभयदान कहिल्यै पनि नष्ट हुँदैन । अतः म यो देह र सम्पूर्ण राज्यको त्याग गर्न सक्छु परन्तु यो भयाकुल पक्षीलाई छोड्न सक्दिन । हे बाज, तिमीलाई आहारा नै अभीष्ट छ भने जुन मन लाग्छ त्यही आहारा माग अतएव तिमीलाई यो परेवाबाहेक अरू जे चाहिन्छ म दिन तयार छु ।
अनि बाजले भन्यो, ठीक छ राजन, हजुरलाई यो परेवामाथि यति नै बढी माया छ भने ठीक यस बराबर जोखेर हजुरले आफ्नो देहको मासु दिनु होस् जसबाट म आफ्नो क्षुधा शान्त पार्न सकूँ । मलाई यस अतिरिक्त केही चाहिँदैन । राजा प्रसन्न हुँदै भने, हे बाज, तिमीलाई जति चाहिन्छ त्यति मांस म दिन तयार छु । यदि यो क्षणभंगुर देह धर्मको काममा आउन नसके यो हुनु व्यर्थ छ । यति भनेर राजाले तराजु मगाए र एकातिर आफू र अर्कोतिर परेवालाई राखे र आफू भएतिरबाट उनले आफ्नो देहबाट मांस काटेर राख्न थाले ।
जुन मनुष्य भय, लोभ, इष्र्या, लज्जा वा द्वेषले शरणागतको रक्षा गर्दैनन् वा त्यसलाई त्यागिदिन्छ सज्जन मानिसले उसको निन्दा गर्छ र उसलाई ब्रहृमहत्या समान पाप लाग्दछ । जसरी हामीलाई हाम्रो प्राण प्यारो छ ठीक त्यसरी नै प्रत्येक जीवलाई आफ्नो प्राण प्यारो हुन्छ ।
किन्तु परेवाको पल्ला जस्ताको त्यस्तै हुन्छ । देहबाट मासु जति निकाले पनि पल्ला बराबर हुन्छ । अन्त्यमा राजा परेवाकै पल्लामा बसेर र भने ल म तिम्रो आहारा हुन तयार छु, मलाई खाऊ । यत्तिकैमा आकाशबाट पुष्पवर्षा हुन लाग्यो । मृदंग बज्न लाग्यो । स्वयं भगवान आफ्नो भक्तको यो त्याग देखेर प्रसन्न हुनुभयो । यो देखेर राजा शिवी विष्मित भएर सोच्न लागे, यो के भइरहेको छ ? यत्तिकैमा दुवै पक्षी अन्तध्र्यान भए र आफ्नो स्वरूपमा प्रकट भए ।
इन्द्रले भने, हे राजन, हजुर जस्तो धर्म परायण तथा त्यागी मैले कहिल्यै पनि देखेको थिइन । म इन्द्र हूँ जो बाज बनेको थिएँ, यी अग्नि हुन जो परेवा बनेका थिए । हामी दुवै तिम्रो त्यागको परीक्षा लिन आएका थियौँ । हे राजन, यस्ता प्राणी बिरलै हुन्छन् जो अरूको उपकारका लागि आफ्नो प्राणको पनि मोह गर्दैनन् । यस्तो मनुष्य त्यस्तो लोकमा जान्छन् जहाँबाट फर्किनै पर्दैन । आफ्नो पेट पाल्न त पशुहरू पनि ज्यूँछन्, अरूका हितका लागि बाँच्नु नै अभिनन्दनीय हो । यति भनेर इन्द्र र अग्नि स्वर्गलोकमा गए । राजा शिवीले आफ्ना यज्ञ पूरा गर्दै कैयौं वर्षसम्म पृथिवीको भोग गरी परमधाममा गए ।
हाम्रा वेद र पुराणहरूबाट हाम्रा शासकवर्ग तथा नेताहरूले शिक्षा लिनु पर्ने हो । सांसदहरूको तालिमको लागि भनेर विदेशीले दिएको पचास लाख विदेशीको स्तुति गर्न र उनीहरूको अनुचर बन्न होइन कि वैदिक ज्ञान प्राप्त गर्न वेद र पुराणका ज्ञाताहरूबाट सांसदहरूलाई तालिम दिए उक्त सहयोग रकमको सदुपयोग हुने थियो । आगे सांसदज्यूहरूको मर्जी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच