विराटनगरको एलिट क्लब र बीपी कोइराला

Read Time = 15 mins

✍️ स्वयम्भुनाथ कार्की

पढ्न लेख्न जान्ने मान्छेहरू अति नै कम भएको अवस्थामा विराटनगरमा केही स्नातक युवाहरूले एलिट क्लबको सूत्रपात गरे । स्नातक हुनुभनेको त्यस बेला धेरै ठूलो कुरा हुने गर्दथ्यो, नेपालमा मात्र होइन ज्ञानगंगाको धारा बग्दै गरेको भनेर भनिने भारत संघमा पनि । अझ भनौँ विश्वमै स्नातक हुनुमात्र पनि अन्यभन्दा फरक भएको मानिने युग थियो त्यो । अहिले विद्यावारिधि गरेकाले गर्वले नामको सामुन्ने डा.लगाउने गरेको जस्तो बिए, एमए, शास्त्री, आचार्य जस्ता उपाधि लगाउने युगमा विराटनगरका पढेलेखेकाहरूका क्लब नभन्दै एलिटहरूकै क्लब थियो र सही नाम थियो । त्यसैले एलिट क्लबमा व्याख्यान दिनु त्यो कालमा सबैको निमित्त सपना नै थियो ।

स्थानीय भएर पनि आफ्नो जीवनको धेरै कम समय विराटनगरमा बिताएका बीपी कोइरालाले पहिलो पल्ट एलिट क्लबमा गरेको सम्बोधनको घटना त्यति सम्झेको पाइँदैन । बरू सुन्दरीजलबाट मुक्त भएर भारत स्वनिर्वासनमा जानुभन्दा पहिले एलिट क्लबमा गरेको सम्बोधनको प्रसंग बारम्बार निकालेका छन् । तेस्रो पल्ट जनमत संग्रहको प्रचारक्रममा पनि एलिट क्लबको कार्यक्रममा उनले लामो व्याख्यान दिएका थिए तर त्यो व्याख्यानलाई उनले धेरै स्थानमा विराटनगरमा दिएको व्याख्यान भनेका छन् । अर्थात् बीपीको निमित्त २०२५ साल माघ २३ गतेको भाषणमा एलिट क्लबको महत्व रहृयो ।

स्वभाविक रूपले बीपीको तेस्रो उपस्थिति केवल उनको थिएन । जनमत संग्रह घोषणा भएको अवस्थामा विभिन्न विचार भनाइ आदिलाई प्रष्फुटन हुन दिनु एलिट क्लबको नैतिक दायित्व थियो । यही दायित्व निर्वाहको क्रममा आयोजित गोष्ठी थियो त्यो ।

यो अत्यन्त स्वाभाविक नै हो, पहिलो भाषण २०१५ सालतिर गर्दा सम्भवत आमनिर्वाचन भइसकेको थियो । सम्भवतः उनी नेपालको जननिर्वाचित प्रधानमन्त्री भइसकेका थिए । त्यो नभए पनि प्रधानमन्त्री हुने निश्चित भइसकेको थियो । विराटनगर उनको गृहनगर र निर्वाचन मतदान क्षेत्र पनि थियो । त्यसैले विराटनगरले उनलाई आफ्नो मान्छ । यस्तोमा त्यस बेलाका एलिट क्लबका जिम्मेवारहरूले पनि उनलाई आफ्नो मानेका थिए । हुन त एलिटका संस्थापकहरूमा वामपन्थीहरू पनि थिए तैपनि त्यसबेलासम्म एलिटले आपूmभित्र आस्थाको भिन्नता पस्न दिएको थिएन । त्यसैले क्लबको निमित्त त्यो गौरवको विषय भए पनि बीपीको निमित्त दैनिकी जस्तै घटना थियो उल्लेख गर्नै पर्ने महत्व नभएको ।

स्वर्ण महोत्सवको बेलामा निकालिएको एलिट स्मारिका २०६७ मा संस्थापक सदस्य श्री राधाप्रसाद घिमिरले टड्कारो रूपले बीपीले ‘मलाई यस्ता एगहेडहरूको क्लब मनपर्छ’ भनेको सम्झनु भएको छ । त्यो पहिलो भाषणका अन्य कुराहरू के थिए विषय वस्तु के थियो त्यसबेला सुन्नेहरूको स्मरणमा छैन । यसको अर्थ जसरी त्यो घटना बीपीको निमित्त औपचारिकता थियो त्यसै गरेर बीपीको भाषण पनि औपचारिक नै थियो । निमन्त्रण स्वीकार थियो अनि एलिट क्लबको निमित्त पनि प्रथम जननिर्वाचित प्रधानमन्त्रीको भाषण गौरव बन्यो । पहिलो अतिविशिष्ट पाहुना भएकोले एलिट क्लब त्यही सम्बोधनको घटनालाई ज्यादा महत्व दिन्छ । दोस्रो र तेस्रो उनको उपस्थिति त्यसपछिका महत्वपूर्ण घटना हुन् ।

स्वभाविक रूपले बीपीको तेस्रो उपस्थिति केवल उनको थिएन । जनमत संग्रह घोषणा भएको अवस्थामा विभिन्न विचार भनाइ आदिलाई प्रष्फुटन हुन दिनु एलिट क्लबको नैतिक दायित्व थियो । यही दायित्व निर्वाहको क्रममा आयोजित गोष्ठी थियो त्यो, एलिटको प्रांगणमा नअट्ने भएर बाहिर गरिएको थियो गोष्ठी । अर्थात पहिलो पल्ट बीपी निर्वाध बोल्न पाउँथे अनि तेस्रो पल्ट उनले निर्वाध आफ्नो कुरा राख्नै पर्ने थियो जनमत संग्रहमा बहुदलपक्षको हितमा । तर, दोस्रो पल्टको बेलामा बीपीलाई अपदस्त गरेर राखिएको नजरबन्दबाट भर्खर मुक्त भएको बेला थियो । अनिश्चय यति धेरै थियो कि नेपाल बसाइ उनले आफ्नो निमित्त खतरा देखेका थिए अनि स्वनिर्वासनमा जाने अठोट गरिसकेका थिए ।

एलिट क्लब आफूसँग सम्बोेधनको कुनै टिपोट नभए पनि निकै परिश्रम गरेर पछिल्ला दुई सम्बोधन प्राप्त गर्न सफल भएको छ । यो दुवै सम्बोधन ‘एलिट जर्नल-२०७४’ मा समेटन सफल भएको छ । दोस्रो सम्बोधन २०२५ माघ २५ गतेको नेपाल टाइम्समा आउन भ्याएको रहेछ । तेस्रो त जनमत संग्रहको सन्दर्भ भएकाले गिरिराज आचार्यले ‘जनमतसंग्रह दर्पण’ समेट्न भ्याएका छन् । गरिएको रेकर्डमा राम्रो नसुनिएर हो वा अन्य कारणले अन्तिमतिर केही शब्दको स्थानमा खाली ठाउँ छोडिएको भएता पनि त्यो अनुमान गर्न कठिन हुँदैन ।

एलिट जर्नल २०७४ को पेज ६३ मा बीपीको त्यो भाषण छ जो शायद त्यसबेला त्यो कार्यक्रममा भएकाले मात्र सुने अनि सीमित पत्रकारहरूले टिप्न भ्याए । यी कुरा गरेमा दण्डित हुन सकिन्छ भन्ने डर मनमा भएको बेला बीपीलाई आफ्नो कुरा राख्ने अवसर एलिट क्लबले दियो । त्यसैले उनले यो कुराको प्रसस्त उल्लेख गरेका छन् । यो भाषामा बीपीको द्विविधा प्रष्ट महसुस गर्न सकिन्छ । साथै प्रघानमन्त्री बीपीको सबै काम जनताको प्रतिनिधि भएकोले मेरोमात्र हो भन्ने कुरा पनि बदलिएको पाइन्छ । उनले भनेका छन ‘कतिपय व्यक्तिहरू राजा र प्रजालाई सँगसँगै उभ्याउन चाहँदैनन् । साँचो प्रजातान्त्रिक आदर्श हासिल गर्नका लागि राजा र प्रजासँगै बसेर राष्ट्रिय समस्या र तिनीहरूको राष्ट्रिय समाधानका उपाय खोज्नुपर्दछ’ ।

करिब सात वर्षपहिले ‘राजा’ले मिलेर काम गरौँभन्दा त्यो राजाको काम होइन भनेको कुरा बीपीले धेरै पटक भनेका छन् । आत्मवृत्तान्तमा गण्डक सम्झौता राजालाई जानकारी नगराई क्याबिनेटबाट पास गरेको र राजाले आफूलाई गोदावरी लगेर त्यसमा खोचे थापेको मान्ने बीपी यो भाषणमा राजासँग सहकार्य गर्ने बाटो खोज्दै गरेका थिए भन्ने देखिन्छ । भन्छन्, ‘सरकारमा हुँदा हामीले श्री ५ लाई सहयोग गरेकै थियौँ, त्यो तपाईंहरूलाई थाहा नै छ’ । स्वनिर्वासनमा जान ठिक्क परेका बीपीको अन्यौल यसरी देखिन्छ, ‘यो संविधानमा श्री ५ को कस्तो भावना छ, त्यसबारे मैले बुझ्न बाँकी छ । मेरो र श्री ५ को लक्ष एउटै रहेछ भने मलाई अर्को कुनै संविधान चाहिएको छैन’ ।

तर, त्यसपछि बीपी र महेन्द्रबीच कुनै प्रत्यक्ष संवाद भएन, बीपी पनि नेपाल बसेनन् । त्यसबीचमा के के भए, त्यसबापत नेपालले के के भोग्नु प¥यो । अनि के के भोग्दैछ त्यो यो आलेखको विषय होइन तर बीपी र महेन्द्रको अनौठो सम्बन्धमा यस्ता कतिपय अवसरहरू आएका थिए जहाँबाट लिएको मोडले तीस वर्ष तिक्ततामा होइन साथमा बित्ने थियो तर त्यो हुन सकेन । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण स्थानमा पुर्‍याउँदै देशलाई उन्नति र प्रगतिको बाटोमा डोर्‍याउँदै आएको छ । जब जब यस्तो सामान्य संवादले हुनसक्ने मेलमिलापका अवसरहरू देखा पर्दछन् नेपाली मन कटक्क दुख्छ र विषयान्तर भए पनि उल्लेख गर्ने लोभ संवरण हुँदैन ।

महेन्द्र र बीपीको क्षमता अलिअलि पनि बुझ्नेले एलिट क्लबमा बीपीले गरेको भाषण सुन्दरीजलमै स्कोप्स पठाएर बीपीसँग गर्न खोजेको सहकार्य जस्तै बीपीले पनि सहकार्य गर्न खोजेको अर्थ लगाइन्छ । एलिट क्लबको कार्यक्रमा २०३६ साल साउन १० गते गरेको भाषण भने आफ्नो पक्ष र आफूले बोलेका कुराहरू पुष्टि गर्ने तर्कहरूको सँगालोको रूपमा छ । राजाको र मेरो गर्धन एउटै ठाउँमा छ भनेको अर्थ सम्झाएका छन् । उनी भन्छन् ‘म जब राजा र म भन्छु, म भनेको बीपी कोइरालामात्र होइन’ ।

पहिलो दुई पल्टभन्दा तेस्रो पटकको एलिटको गोष्ठीबाट बीपी धेरै उत्साहित थिए । यो कुरा तात्कालीन क्लबका महासचिव एमालेका नेता भरतमोहन अधिकारीले भन्ने गरेका थिए । एलिट क्लब जस्ता चार पाँच अरू संस्था भएको भए आफ्नो लक्ष पूरा गर्न खास कठिनाइ हुँदैनथ्यो ।

उनी अगाडि भन्छन्, ‘यत्रो ठूलो आन्दोलन जसमा नेपाली कांग्रेस मात्र होइन अरू जुनसुकै पार्टीका भए पनि यति धेरै मानिस लागे, जसले व्यवस्थाविरुद्ध लडे, मरेर सहिद भए, अझसम्म तीन सयजना जेलमा छन्, डेढ सय जति देशबाहिर छन् । मलाई आत्मसम्मानमा गर्व छ र तिनीहरूका तर्फबाट बोल्ने मसँग अधिकार छ, तिनीहरू नयाँ व्यवस्थाका प्रतिनिधि हुन्, उनीहरूका तर्फबाट मैले म भनेको हुँ’ । उनले प्रजातन्त्रको परिभाषा गरेका छन् ‘प्रजातन्त्र ... बित्तिकै चार पाँचवटा कुरा आउँछन् । व्यक्तिको स्वतन्त्रता, कानुनको...., सरकार जनताको नियन्त्रणमा र सरकार पनि प्रतिनिधि बनाउने, ... प्रणाली, संसद्, प्रजातान्त्रिक अधिकार, नागरिक स्वतन्त्रता आदि निश्चित ... संस्थागत हुनु पर्दछ’ ।

उनी थप भन्छन्, ‘त्यो राजतन्त्रात्मक पनि हुन सक्छ वा ... जस्तो राष्ट्रपतीय संसदीय व्यवस्था पनि हुन सक्छ । त्यो प्रजातन्त्र ... । किनभने मैले तपाइँहरूलाई विवरण दिएँ, त्यसबाहेक अर्को विकल्प छैन’ । गर्धनको कुरा यसरी व्यक्त गरेका छन्, ‘राष्ट्र निर्माणको आधा काममात्र भएको छ । त्यसो हुँदा त्यो महत्वपूर्ण संस्थालाई हामीले नाश गर्‍यौँ भने हाम्रो राष्ट्र पनि रहँदैन । तसर्थ राजतन्त्र हाम्रो लागि अत्यन्त आवश्यक संस्था हो । मैले भनेँ, राजाको गर्धन गयो भने मेरो गर्धन जान्छ’ ।

पहिलो दुई पल्टभन्दा यस तेस्रो पटकको एलिटको गोष्ठीबाट बीपी धेरै उत्साहित थिए । यो कुरा तात्कालीन क्लबका महासचिव एमालेका नेता भरतमोहन अधिकारीले भन्ने गरेका थिए । एलिट क्लब जस्तो चार पाँच अरू संस्था नेपालमा भएको भए आफ्नो लक्ष पूरा हुन कुनै खास कठिनाइ नहुने भनेर बीपीले भनेको भन्ने भरतमोहन अधिकारीको स्मरण धेरै पटक सुनिने गरिएको थियो । जे होस् आफ्नो गाउँले शिक्षित युवाहरूले खोलेको यो क्लबलाई बीपीले निरन्तर सम्झेका थिए, दयामायाले होइन, आफ्नो गाउँठाउँको भनेर पनि होइन यो सम्बन्ध क्लबले ल्याकतले गरेको कमाइ हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?