सतौं-पोखरा सम्पर्क समाज र लायन्सद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका अन्तर्गत वडा नं १४ स्यानीचौरमा रहेको चण्डीकालिका स्वास्थ्य चौकीलाई सतौ-पोखरा समाज र लायन्स क्लब अफ पोखरा राइजिङ स्टारको संयुक्त पहलमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

सतौ-पोखरा समाज र लायन्स क्लब अफ पोखरा राइजिङ स्टारले यस क्षेत्रका विभिन्न सहयोगीहरूसँग तथा देश विदेशमा रहेका चन्दादाताहरूसँग अनुरोध गरी करिब १७ महिना अगाडिदेखि आर्थिक सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको थियो । खरिद गरिएको एम्बुलेन्स पौष १५ गते एक कार्यक्रमका बिचमा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीको प्रमुख आतिथ्यमा समाजद्वारा उक्त स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले समाजले गरेको परोपकारी कार्यको प्रशंसा गर्नुभयो । उहाँले भोलिका दिनमा यस्ता परोपकारी र अत्यावश्यक कार्यहरूमा नगरपालिकाको साधन र स्रोतले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष केशवराज ढकालले सतौं क्षेत्रमा ठुलो जनसङ्ख्या भएर पनि एम्बुलेन्स स्याङ्जा-पोखराबाट मगाउनुपर्ने अवस्थाका कारण विगतमा थुप्रै बिरामीहरूको ज्यान जोगाउन नसकिएको पीडादायी अनुभूतिले आफूलाई यस कार्यमा प्रेरित गरेको बताउँदै यस कार्यमा हातेमालो गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

१९ लाख ८८ लाख हजारमा उक्त एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स सञ्चालनमा ल्याउनका लागि पुतलीबजार नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको समाजका अध्यक्ष ढकालले बताउनुभएको छ ।

कार्यक्रममा सहभागीहरूले समाजले एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेकोमा समाज, लायन्स क्लब र सहयोगी चन्दादाताहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यसको सञ्चालनमा पनि सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।

लायन्स क्लब अफ पोखरा राइजिङ स्टार र सतौं पोखरा सम्पर्क समाजले एम्बुलेन्स हस्तान्तरण कार्यक्रमको आयोजना गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?