विश्वकै होचो किशोर डोरबहादुर खपाङगी सिन्धुलीमा सम्मानित (तस्वीरसहित)

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । विश्वकै होचो किशोर डोरबहादुर खपाङगी मगर सोमबार सिन्धुलीमा सम्मानित हुनुभएको छ ।

सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा भएको छैठौँ सिन्धुली महोत्सवमा उहाँ सम्मानित हुनुभएको हो ।
संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले नगद पाँच हजारसहित मायाको चिनो प्रदान गरेर उहाँलाई सम्मान गर्नुभएको थियो ।

यहाँको गोलञ्जोर गाउँपालिका–४ तल्लो ढुङग्रेका डोरबहादुर ७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्लो हुनुहुन्छ । उहाँले संसारकै होचो किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइ सक्नुभएको छ ।

विश्वमै होचो व्यक्तिको रुपमा किर्तिमान बनाउनु भएको डोरबहादुर माईला दाई नरबहादुर र भिनाजु ओमबहादुर पूर्वछानेको साथमा महोत्सव स्थल आउनु भएको थियो । उहाँलाई महोत्सवको एक आर्कषणका रुपमा राखिएको थियो ।

८ पुषमा सुरु भएको महोत्सवको आज अन्तिम दिन पहिलो पटक आफ्नो जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको डोरबहादुरले बताउनुभयो ।

२०६१ साल कार्तिक २९ मा बाबु टक्करबहादुर खपाङगी मगर र आमा रणमाया खपाङगी मगरका कान्छा छोरा डोरबहादुर सामान्य बोलचाल र सामान्य हिड्डुल गर्नु हुनुहुन्छ । गाउँकै नेपाल आधारभूत विद्यालयमा पाँच बर्षदेखि कक्षा १ मा अध्ययनरत समेत रहनुभएको उहाँका दाजु नरबहादुरले बताउनुभयो ।

डोरबहादुरका तीन दाजुहरु र तीन दिदीहरु छन् । उहाँ अहिले बुबाआमा र दाजुहरुको संरक्षणमा हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले पोषिलो खानेकुरा समय समयमा खुवाउन नसकिएको दाजु नरबहादुरले गुनासो समेत सुनाउनुभयो ।

‘बनिबुतो गरेर जेनतेन छ महिना घरमा खान पुग्छ । बाँकी छ महिना हामी कमाउन काम खोज्दै सहर पस्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘भाईको लालनपालन र शिक्षाको लागि सहयोग पाए राम्रो हुने थियो ।’

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?