संकटा आहा राराको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । संकटा फुटबल क्लबले २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै संकटाले अन्तिम चारको यात्रा तय गरेको हो ।

संकटाको जितमा मेसुके र सुरजज्यु ठकुरीले एक/एक गोल गर्नुभयो । आर्मीका नवयुग श्रेष्ठले एक गोल गर्नुभयो । संकटाले एक गोलको अग्रता उल्ट्याएर आर्मीलाई हराएको हो ।

प्रतियोगितामा साबिक विजेता एपिएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट डिफेन्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताउनुभयो ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकले आवासीयरूपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?